युवाहरुलाई आह्वान : जाग, उठ, मुलुकको नेतृत्व गर

युवाहरुलाई आह्वान : जाग, उठ, मुलुकको नेतृत्व गर

भ्रष्ट्राचार र कमिसन मौलायो । आर्थिक, सामाजिक विभेद बढ्यो । सत्ता वा प्रतिपक्ष घुमीफिरी ३० ४० जना नेताहरुकै राज चलेको ३० वर्ष भयो । मुलुकको विकासको लागि यो छोटो समय होइन । दक्षिण कोरिया, थाइल्याण्ड, मलेशिया हेरौं, ३० वर्षमा उनीहरुले के गरे हामी कहाँ छौं

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • युवाहरुलाई आह्वान :  जाग, उठ, मुलुकको नेतृत्व गर

    The youth of today are the leaders tomorrow

    images
    images

    - Nelson Mandela

    Young people aren't the leaders of tomorrow. They are the leaders of today and tomorrow.

    - Kathy Calvin

    १. मानिसको उमेर समूह र आवश्यकता

    मानिसको उमेर अनुसार उनीहरुको उमेर समूह निर्धारण गरिन्छ । विभिन्न उमेर समूहका आवश्यकताहरु पनि फरक फरक हुन्छन ।

    तालिका १चित्र १ मा सन् २०१८ को प्रक्षेपित उमेर,  उमेर समूह र उनीहरुको प्रमुख आवश्यकता दिइएको छ । चौध वर्ष भन्दा कम उमेरकालाई बालबालिका उमेर समूहमा राख्ने गरिएकोछ ।

    नेपालमा कुल जनसंख्याको २९.५ प्रतिशत जनसंख्या यस समूहको रहेको देखिन्छ। वैज्ञानिक तथा व्यवाहारिक शिक्षा तथा शीप आर्जनबाट मात्र उनीहरु भविष्यका कर्णधार बन्न सक्ने हुनाले उनीहरुको प्राथमिक आवश्यकता गुणस्तरीय शिक्षा हो ।

    ६५ वर्षभन्दा बढी उमेरका मनिसहरु बुढेसकालीय उमेर समूहमा पर्दछन् । यस्तो जनसंख्या नेपालमा ५.३ प्रतिशत रहेको छ ।

    young dream.JPG

    आम रुपमा यस उमेर समूका मानिसहरुमा शाररिक कष्ट बढी हुने हुनाले पारिवारिक रेखदेख उनीहरुको प्रमुख जरुरत हो ।

    यी दुइ उमेर समूहका बीचका (१५ देखि ६४ वर्षका)  मानिसहरुलाई कर्मशील उमेर समूहमा राखिएको छ । यसर्थ यो समूहको प्रथम आवश्यकता सम्मानजनक रोजगारी हो ।

    यस उमेर समूहलाई पनि ३ उप-समूहहरुमा विभाजित गरेको पाइन्छ । २५ वर्ष भन्दा कम उमेरकालाई सिकारु कर्मशील उमेर समूह,  ५५ वर्ष माथिकालाई प्रौढ कर्मशील उमेर समूह र यस बीचका अर्थात २५ देखि ५५ वर्षभन्दा कम उमेरकालाई मूल कर्मशील उमेर समूहमा राख्ने चलन छ । 

    विशेष गरेर ५५ वर्ष भन्दा कम उमेरका मानिसहरु शारीरिक रुपमा बलवान त हुन्छन नै यसको साथै केही गरौं भन्ने महत्वाकांक्षा सहित जोश र जागरले ओतप्रोत पनि हुन्छन् । उनीहरु भविष्यप्रति आशावादी हुन्छन्, नवीनतम सोचविचार उनीहरुमा आइरहेको हुन्छ ।

    आधुनिक विचारलाई कार्यान्वयनमा ल्याएर आफ्नो जीनवकाल कसरी समृद्धमय बनाउन सकिन्छ भन्ने सोच उनीहरुमा सदैव जागृत भइरहेको हुन्छ ।

    यो समूहका मानिसहरु गतिशील हुने भएकाले बढी उमेरका मानिसहरुले यो समूहलाई अधैर्य जस्तो देखे पनि उमेर पाकेका मानिसहरुमा भन्दा यिनीहरुमा वास्तविक धैर्यता बढी हुन्छ । केही गरेर देखाउने भावना प्रवल हुने हुनाले यो समूहका मानिसहरुमा सबैलाई समेटन भाव (समावेशीताको भाव)  प्रकटित वा सुसुप्त अवस्थामा रहिरहेको हुन्छ ।

    गतिशीलता भित्रको धैर्यताबाट नै खास खास उपलब्धिहरु प्राप्त हुन्छन् । यसैले जुन मुलुकमा यस समूहका मानिसहरु बढी हुन्छन्, उनीहरुको सही परिचालन हुन सकेमा त्यस मुलुकको आर्थिक-सामाजिक रुपान्तरणको संभावना बढी रहेको हुन्छ भनेर भनिएको हो ।

    तालिका १ : उमेर समूह अनुसार नेपालको जनसंख्या र उनीहरुको प्रमुख आवश्यकता

    Age Group

    Primary Need Percentage
    Children (0-14) Quality Education 29.5 29.5
    Early Working Age (15-24) Respectful Employment 21.5 58.7
    Prime Working Age (25-54) 37.2
    Mature Working Age (55-64) 6.4 6.4
    Elderly (> 65) Proper Care 5.3 5.3

    Source: https://www.indexmundi.com/nepal/age_structure.html

    chitra.JPG

    २. नेपालको वर्तमान अवस्था

    शिक्षा मन्त्रालयबाट ३ वर्ष पहिले प्रकाशित "तथ्याङ्कमा शिक्षा २०१७ : एक दर्पण" (Education in Figures 2017: At A Glance) अनुसार एस.एल.सी. (हालको एस ई ई) पास गर्ने नेपालीहरु १० प्रतिशत भन्दा कम र स्नातक तह पास गर्नेको संख्या ३ प्रतिशत भन्दा पनि कम रहेको देखिन्छ । साक्षरता प्रतिशत नै ६६% छ ।

    माथिका निराशाजनक तथ्याङ्कहरुले पंचायती व्यवस्थाले वि. स. २०२८ सालबाट शुरु गरेको नयाँ शिक्षा प्रणालीले मात्र नभएर,  पंचायतले गर्दा नेपाल आर्थिक-समाजिक रुपमा पछाडि पर्‍यो, बहुदल आएपछि सबैले पढन लेख्न, खान लाउन सहजै पाउने छन् भनेर भनिएको बहुदलीय व्यवस्थाको ३० वर्ष र मुलुकमा शिक्षा लगायत सबै क्षेत्रको आमूल परिवर्तनको नारा बोकेर आएको लोकतान्त्रिक व्यवस्थाको १५ वर्ष वित्दा पनि शिक्षा क्षेत्रमा खास प्रगति हुन नसकेको देखाउँदछ। 

    सरकारले नेपालमा रोजगारीका अवसरहरु सृजना गर्न नसकेका कारणले जिविकोपार्जनका लागि भारत बाहेक विदेशमा कामगर्न गएका नेपालीहरुको संख्या ५० लाख भन्दा धेरै रहेको तथ्य सरकारी निकायहरुले नै सार्वजनिक गर्ने गरेको कुरा हामी सबैलाई विदितै छ ।

    खास गरेर पढेलेखेका नेपालीहरु अष्ट्रेलिया, अमेरिका र यूरोपेली मुलुकहरुमा छन् भने अन्य अर्धदक्ष र अदक्ष नेपालीहरु मलेशिया, अरब र कोरियातिर रोजगारीका लागि गएका देखिन्छन् ।

    road- sadak- mugling.JPG

    यसबाट मुलुकको आर्थिक रुपले क्रियाशील जनसंख्याको एक तिहाइ जनसंख्या अरुहरुको देशको समृद्धिको लागि रातोदिन खटिरहेका छन् भन्ने बुझाउँदछ ।

    मुलुकभित्र रहेकाहरुमा पूर्ण रोजगारीमा रहेको जनसंख्या एकदम न्यून र आंशिक वा पूर्ण बेरोजगारको संख्या ठूलो रहेको छ ।

     विगतको ६० बर्षको अबधि (१९६०-२०१९) मा चीन, भारत, कोरिया, मलेशिया, तथा थाइल्याण्डले प्रतिव्यक्ति आयमा क्रमशः ५९, ६, १५, ९ र ११ गुणा बढाएका छन् जबकि नेपालको यो बृद्धि करीब ३ गुणामात्र हुन सकेकोछ ।

    ६० बर्ष पहिले नेपालीको भन्दा आधा आय भएका चीनियाँहरुको आय अहिले नेपालको भन्दा १० गुणा बढी पुगेको छ; करिब ४ गुणा बढी रहेको कोरियाको ३३ गुणा बढी र २ गुणा जति बढी रहेको थाइल्याण्डको ८ गुणा बढी पुगेको छ।

    जल, जमिन, जंगल, जडीबुटी, जैविक विविधता तथा जलवायु जस्ता प्राकृतिक संसाधनमा धनी र यी प्राकृतिक स्रोतहरुलाई संवृद्धुिका साधनमा बदल्ने यथेष्ट जनशक्ति हुदाहुदै पनि हामी भने ओराली लागेको हरिणको ताल भो जसरी आर्थिक सामाजिक रुपमा दयनीय अवस्थाबाट गुज्रिरहेका छौं ।

    माथिका तथ्यहरुले हिजोदेखि आजसम्मका सबै सरकार र सबै पार्टीका नेतृत्वहरु आफ्ना नागरिकहरुलाई गुणस्तरीय शिक्षा दिने र सम्मानजनक रोजगारी सृजना गर्ने हकमा मात्र नभएर मुलुकको समग्र आर्थिक सामाजिक विकासका दृष्टिमा समेत पूर्ण रुपले असफल भए भन्दा अन्यथा हुदैन भन्ने मलाई लाग्दछ ।

     ३. नेपालको वर्तमान दयनीय आर्थिक सामाजिक अवस्थाको कारण र समाधान

    बुद्धले २५/२६ सय वर्ष पहिले मानिसको जीवनमा दुःख छ, दुःखको कारण छ र त्यसको समाधान पनि छ भने झै नेपालको वर्तमान दयनीय अवस्थाको पनि कारण छ । त्यो हो कुशासन । कुशासनको अनन्तर्यमा ( भित्र पट्टी) अलोकतान्त्रिक राजनैतिक नेतृत्व लुकेको हुन्छ ।

    यस प्रकारको नेतृत्वको चरित्रमा विधिको शासन भन्ने बस्तु हुदैन, अहंकार हुन्छ, इर्श्या हुन्छ, प्रतिशोध हुन्छ । पद, पैसा, प्रतिष्ठाको लोभ लालच हुन्छ ।

    हाम्रो मुलुकको अलोकतान्त्रिक चरित्र बोकेका राजनैतिक नेतृत्व नै आजको जर्जर आर्थिक सामाजिक अवस्थाको कारण हो ।

    मुलुकको वर्तमान कारुणिक अवस्थाको समाधान मुलुकको आर्थिक-सामाजिक रुपान्तरणबाट मात्र संभव छ । यसका लागि दूरदृष्टि भएको (visionary)  इमान्दार र साहासी राजनैतिक नेतृत्व र पूर्ण लोकतान्त्रिक राजनैतिक पार्टी चाहिन्छ ।

    पारदर्शी, जनताप्रतिको उत्तरदायी एवं जवाफदेही सरकारबाट मात्र मुलुकमा सुशासन कायम हुनसक्छ । यस मानेमा अहिले हामी सबै नेपालीले र विशेष गरेर युवाहरुले यस सम्बन्धमा एकपटक गहिरिएर सोच्ने र समिक्षा गर्ने बेला भएको हो, आएको हो भन्ने मलाई लाग्दछ ।    

    ४. नेपाली युवा बर्गसंग मेरो प्रश्न

    जाहनिया राणाशासन र पंचायती व्यवस्था अहिलेको व्यवस्था भन्दा कदापी राम्रा होइन, थिएनन् र भविष्यमा पनि हुनसक्दैनन् ।

    उनीहरुबाट मुलुकको विकासको अपेक्षा गर्नु मरुभूमिमा रोपेको सुन्तलाको बोट हुर्कन र फल दिन सकेन भनेर चिन्ता लिए जस्तै हो । हलेदो भनेर जानेपछि कोट्याईरहन पर्दैन भनेझै त्यस बेलाका कुरा गर्न मैले आवश्यक ठानिंन ।

    ती व्यवस्थाका खरावीका कारण, सुन्दर, शान्त र समृद्ध नेपाल बन्नेछ, हाम्रा नेताहरुले बनाउनेछन् भन्ने विश्वासमा नेपाली जनताले नेताहरुको बचनलाई ब्रम्ह बाक्य मानी उहाँहरुको अगुवाइमा भएका प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक विभिन्न नामका आन्दोलनहरुमा आफ्नो गच्छे अनुसार सहयोग गरे,  सहभागी भए  । परन्तु आज के भइरहेको छ हामी सबैको सामु छर्लङ्ग छ ।

    belun - girls.JPG

    जताततै भष्ट्राचार र कमीसन, हिजोका सर्वहारा नेता आज अकूत सम्पत्तिवाल। स्वास्थ्य, शिक्षा, वित्त क्षेत्रमा भ्रष्ट्राचार; पूर्वाधार, औद्योगिक, पर्यटन विकासका क्षेत्रमा भ्रष्ट्राचार; सरकारी, गैर सरकारी, नीजि क्षेत्रमा भ्रष्ट्राचार; नीतिगत भ्रष्ट्राचार; खरिदविक्रीमा, बन्दव्यापारमा भ्रष्ट्राचार, सरकारी सेवा लिन कमिसन,  जागिर खान कमिसन,  नियुक्तिमा कमिसन, जनधनको रक्षक क्षेत्र सबैसबै भक्षक ।

    सबैको नाम लिने हो भने यसले नै  चार पेज भरिन्छ । राजाको ठाउँमा राष्ट्रपति आए; श्री ५ को सरकार नेपाल सरकार भयो, राजमार्गको नाम लोकमार्ग भयो । नेपालीले आफ्नो दैनिकीमा कही कतै राहत पाएनन्, सास्ती मात्र पाए ।

    देशले के पायो, केही पाएन । माथि भनिएझै मुलुकमा बरु भ्रष्ट्राचार र कमिसन मौलायो । आर्थिक, सामाजिक विभेद बढ्यो । मुलुकमाथि विदेशीको ऋण बढ्यो, हैकम बढ्यो । के सोचे मैले के भयो अहिले भनेजस्तो भयो ।

    सत्ता वा प्रतिपक्ष जताका भने पनि सत्ताको वरिपरि घुमीफिरी ३०-४० जना नेताहरुले नेपालमा राज गर्न थालेको ३० वर्ष भयो । मुलुकको विकासको लागि यो छोटो समय होइन ।

    दक्षिण कोरिया, थाइल्याण्ड, मलेशिया हेरौं, ३० वर्षमा उनीहरुले गरेको विकास हेरौं । यसबाट राजनैतिक नतृत्व गतिलो भयो भने देश कहाँबाट कहाँ पुग्न सक्दो रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

    हाम्रोमा व्यवस्था लोकतान्त्रिक भनिन्छ तर यो ३० वर्षे कालखण्डमा सत्तामा पुगेका ३ जनाको लहडमा देश चलिरहेछ, उनीहरुका मातहतका ३० जनाले नेपाली जनतामाथि हुकुम चलाइरहेका छन् ।

    यिनीहरुको चाकडी गर्ने ३ सय जनाले त्यसको मिठोफल प्राप्त गरिरहेका छन्, आसेपासेका ३ हजार जतिले देशको साधनस्रोतमाथि आधिपत्य जमाइरहेका छन्, अरु ३० हजारजति रहलपहलमा रमाइ रहेका छन् ।

    बाँकी तीन करोड नेपाली जनताको त कुरै छौडौं यो ३० वर्षमा ३ लाख जनताको जीवनमा पनि खासै परिवर्तन आउन सकेको छैन । सोच्नुहोस् युवा साथीहरु । के अब पनि यसरी नै देश चल्न दिइरहने हो ?

    ५. नेपाली युवाहरुका तीन विकल्प

    नेपाली युवाहरुका सामु निम्नलिखित तीन विकल्पहरु मात्र छन् ।

    (क) विदेशमा दोस्रो वा तेस्रो दर्जाको नागरिक भएर बस्ने ।

    व्यक्तिगत रुपमा तपाई जतिसुकै सक्षम भएपनि अर्कोको देशमा श्रम गर्न होस् वा नागरिक बनेरै बस्दा पनि तपाईले दोस्रो दर्जाको नागरिक भएर नै वस्नुपर्ने हुन्छ ।

    देश अनुसार कही बढि कही कम हुने मात्र हो । यो दर्जा कति ठाउँमा आर्थिक अवसर प्राप्त गर्ने हकमा लागु भइरहेको हुन्छ भने अन्य ठाउँमा सामाजिक प्रतिष्ठाका सम्बन्धमा र कतिपयमा सांस्कृतिक संलग्नताका विषयमा वा माथिका सबैमा ।

    revelocation.JPG

    कुनैकुनै ठाउँमा त उही काम गर्न श्रमिकका रुपमा हामी भन्दा धनी देशबाट आएकाहरुले समेत हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हेपिरहेका हुन्छन् ।

    उनीहरुले त्यहाँ आफ्नो जीवन तेस्रो दर्जाको नागरिक सरह विताउनु परिरहेको छ । विदेशमा गएर सम्मानित नागरिक भएर वस्न पाईन्छ भनेर तपाई युवाहरुले सोच्नुभएको छ भने घाममा बसेर पसिना सुकाउन खोजे जस्तै हो ।

    (ख) नेपालमा नै नवदास भएर बाँच्ने ।

    मालिकले अह्राएपह्राएको काम गर्ने, जे भन्छ त्यही मान्ने मानिसलाई दास भनिन्छ । मालिकको हैकम चल्छ, त्यहाँ ठीक बेठीक भन्ने हुदैन । उसले भनेको नमानेमा सजाय भोग्नु पर्ने हुन्छ । अहिले नेपालमा भएका सबै राजनैतिक पार्टीहरुमा यही तौरतरिका विद्यमानछ ।

    २-४ जनाको पार्टीमा हुकुमी शासन चल्ने, सक्षम र राम्रालाई होइन नातागोता र चाकडी चाप्लुसी गर्नेलाई राजनैतिक होस वा आर्थिक रुपले राम्रो र लाभदायी स्थानमा अवसर दिने, उनीहरुले लगाएको भागवण्डा अरुले स्वीकार गर्नुपर्ने, यसमा प्रश्न उठाउनेलाई पाखा लगाइरहने परिपाटी सबै पार्टीहरुमा हावी रहेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

    नेपाल र नेपालीको त कुरै छोडौं, पार्टीका कार्यकर्ताको हितको होइन कि ६०-७० कटीसकेका ठूलाठालु भनाउँदा ८-१० जनाको पदीय व्यवस्थापनको लागि पार्टीमा लुछाचुडी हुन्छ, देशलाई बन्दक बनाइन्छ ।

    उनीहरुको बीचमा कुरा मिल्यो भने सबै ठीक भएजस्तो नभए दिनदिनैको रडाको हामी नेपाली सबैले देखिराखेका छौं, मुलुकले त्यसको पीडा भोगिराखेको छ ।

    यस्ता नेताहरुबाट पनि केही हुन्छ, यिनीहरुले मुलुकलाई समृद्ध बनाउँदछन् भनेर हामीले सोच्नु भनेको मोही मोथेर घिउ निकाल्न खोज्नु जस्तै हो ।  २१औं शताब्दीको नवदासको रुपमा आफू जीउन खोज्नु हो ।  

    (ग) सम्मानित नागरिक भएर नेपालमा नै जिवनयापन गर्ने ।

    सबै मानिसहरु आफ्नै जीवनकालमा भौतिक सुख र मानसिक शान्ति प्राप्त होस् भन्ने कामना गर्दछन्, सम्मानित नागरिक भएर जिन्दगी विताउन चाहन्छन् । मुलुक आर्थिक सामाजिक रुपले समृद्ध भएमात्र यो कुरा संभव छ ।

    यसको लागि सुशासन पहिलो सर्त हो । सुशासनको लागि लोकतान्त्रिक राजनीतिक पद्धति आवश्यक हुन्छ, मुलुकको समृद्धिको सपना देख्न सक्ने र कार्यान्वयनमा ल्याउन सक्ने कुशल नेतृत्व टीम चाहिन्छ ।

    mugling - pul-.JPG

    क्याथी क्यालविन (Kathy Calvin) ले भने जस्तै युवाहरु नै यसको लागि उपयुक्त पात्रहरु हुन् । विना प्रयत्न यो प्राप्त हुदैन । मोही माग्ने ढुङ्ग्रो लुकाउने गरेर यो आउदैन । सम्मानित नागरिक भएर जिउनको लागि युवाहरुले यो प्रयत्न गर्नै पर्दछ ।

    राजनीतिक पहलकदमी लिनै पर्दछ । अन्यथा तपाईहरुको पनि हाम्रो जस्तै माथिका दुइमध्ये एक किसिमको अपमानित जीवन जिउनुको विकल्प बाहेक अन्य रहने छैन ।

    तालिका २ मा वर्तमानका केही युवा राजनेताहरु उल्लेख गरेको छु र ती देशहरुको आर्थिक समृद्धिक सूचकको रुपमा प्रति व्यक्ति आय पनि । उनीहरुले सफलता पूर्वक उनीहरुको मुलक हाक्न सक्ने तपाईहरुले नसक्ने हुदैन ।

    अन्य क्षेत्रहरुमा पनि युवाहरुलाई अगाडि ल्याउनुहोस् । तालिका ३ हेर्नुहोस्, सबै क्षेत्रमा युवाहरुको योगदान । हामी पनि त्यही गरौं, सम्मानित होऔं ।

    त्यसैले हे युवा जाग, शान्तिपूर्ण क्रान्ति गर्न जुरुक्क उठ, मसक्क आँट । सम्मानित नागरिक भएर बाँच ।

        तालिका २: विश्वका ९ युवा राजनेताहरु

    क्र.सं. नाम पद  जन्म मिति हालको उमेर (वर्ष) पद समाल्दाको उमेर (वर्ष)

    आय

    (Per capita GDP, $)

    1 Sebastian Kurz Chancellor of Austria 27 August 1986 34 34 50,277
    2 Sanna Marin Prime Minister of Finland 16 November 1985 34 33 48,686
    3 Kim Jong-un Supreme Leader of North Korea 8 January 1983 37 28 1,700
    4 Nayib Bukele President of El Salvador 24 July 1981 39 38 4,187
    5 Jacinda Ardern Prime Minister of New Zealand 26 July 1980 40 37 42,084
    6

    Tamim bin Hamad Al Thani

    Emir of Qatar 3 June 1980 40 33 64,782
    7

    Irfaan Ali

    President of Guyana 25 April 1980 40 40 5,468
    8

    Jigme Khesar Namgyel Wangchuck

    King of Bhutan 21 February 1980 40 26 3,243
    9

    Carlos Alvarado Quesada

    President of Costa Rica 14 January 1980 40 38 12,238
    10

    नेपाल

          ?       ?       ?     ? 1,071

     

    Sources of GDP Per Capita: https://data.worldbank.org/indicator/NY.GDP.PCAP.CD

    Sources of GDP Per Capita (North Korea): https://www.investopedia.com/articles/investing/013015/how-north-korea-economy-works.asp#:~:text=In%20terms%20of%20GDP%20per,per%20capita%20GDP%20of %20%241%2C700.

    Source of other data/information: https://en.wikipedia.org/wiki/Lists_of_state_leaders_by_age and https://www.rte.ie/news/world/2019/1209/1098042-young-leaders/

    तालिका ३ : अन्य क्षेत्रका विश्वका चर्चित ८ युवाहरु

    क्र.सं.

    नाम काम देश उमेर
    1. Basima Abdulrahman Sustainable Architect Iraq 32
    2. Emmanuel Jal Musician and Actor South Sudan 39
    3 Rizky Ashar Murdiono Youth Activist Indonesia 26
    4 Amelia Telford Climate Campaigner Australia 24
    5 Gwendolyn Myers Peace Advocate Liberia 28
    6 Harry Myo Lin Human Rights Activist Myanmar 28
    7 Beatrice Fihn Disarmament Activist Sweden 36
    8

    Mark Elliot Zuckerberg

    (Founder and CEO of Facebook, Inc, Net Worth:100 billion US$)

    Internet Entrepreneur‎ America America

    Source: Eight Young Leaders on How They Want to Shape the Decade Ahead, https://time.com/collection/davos-2019/5502593/making-change-young-leaders/

    ६. मेरो अपिल

    उमेर सबैथोक होइन तर धेरै थोक हो । उमेर पुगेकाहरु अनुभवी हुन्छन् । उनीहरुका अनुभवहरु युवाहरुलाई गल्तीहरु नदोर्‍याउनका लागि उपयोगी हुन्छन् । युवाहरुमा अनुभव कम हुने हुनाले बुढापाकाहरुबाट के गर्न हुदोरहेनछ सिक्नुपर्दछ । उनीहरुमा केके कमजोरी रहे ती कमजोरी नदोरियोस् भनेर सचेत हुनुपर्दछ ।

    राम्रो काम गर्ने र गर्न कोशिस गर्ने अग्रजहरुमा आभार व्यक्त पनि गर्नुपर्दछ । परन्तु देशको बागडोर युवाहरुले समाल्नुपर्दछ । यस सन्दर्भमा म नेपाली युवासाथीहरुलाई निम्नानुसारको कार्यहरु अगाडि बढाउन अपिल गर्दछु ।

    १. राजनीति सङ्लो भएमात्र मुलुकमा सुशासन कायम हुन सक्छ र मुलुक समृद्ध बन्न सक्छ । यसबाटमात्र मुलुकको र तपाईहरु लगायत आगामी पुस्ताहरुको भविष्य सुनिश्चित हुनसक्छ । युवासाथीहरु, तपाईहरु गतिशील हुनुहुन्छ ।

    समृद्धिको संवाहक विज्ञान तथा प्रविधिलाई सहजै ग्रहण गर्ने र लागु गर्ने क्षमता राख्नुहुन्छ । राजनीतिक पकटबाट मात्र यो संभव छ ।  त्यसैले राजनैतिक नेतृत्व लिने दिशामा इमान्दार, सक्षम, धैर्यवान युवासाथीहरु एकजुट हुनुहोस् ।

    २. देशवासीहरु अहिलेका नेताहरुको कामगराइबाट वाक्क दिक्क भएका छन् । म आगामी चुनावमा नै तपाई युवाहरु नेपाली जनताको रोजाइमा पर्ने संभावना देख्दछु । त्यसैले आगामी स्थानीय तह, प्रदेश सभा तथा संघीय प्रतिनिधिसभा चुनावमा भाग लिने तयारीमा लाग्नुहोस् ।

    mugling- road- sadak.JPG

    ३. इमान्दार र सक्षम साथीहरुलाई मात्र उम्मेदवार बनाउनुहोस् । आगामी तिनै तहको चुनावमा उम्मेदवार उठाउने साथीहरुको लिष्ट सार्वजनिक गर्नुहोस् । जनताले असल चरित्रका व्यक्तिहरुलाई मात्र रोज्ने हुनाले चुनावमा उठने व्यक्तिहरुलाई जनताबाट अनुमोदित गराउनुहोस् ।

    ४. आर्थिक, चारित्रिक रुपमा अनैतिक कार्यमा संलग्न छ भन्ने जानकारी हुनासाथ उसलाई तपाईहरुको टिमबाट निस्कासन गरिहाल्नुहोस् ।    

    ५. चुनाव पछि तपाईहरु कसरी जनताप्रति उत्तरदायी बन्नुहुनेछ, पारदर्शी तवरले काम गर्नुहुनेछ र जनजीवनमा कसरि परिवर्तन ल्याउनुहुनेछ भन्ने विषयहरु रहेको एक संक्षिप्त डकुमेन्ट तयार गरी जनतासामु पुर्‍याउनुहोस् । मुलुकको समृद्धिका लागि युवा भन्ने नाराका साथ अगाडि बढ्नुहोस ।

    यस सन्दर्भमा चुनावमा उठ्ने उम्मेदवारहरुको उमेरको हद र यहाँहरुले गर्ने नियुक्ति/चयनका सम्बन्धमा लागु गरिने उमेरको हदबन्दी तालिका ४ मा दिएबमोजिम गर्नुहोस् । यसले जनमानसमा नयाँ सन्देश जानेछ । जनमानसमा आशा पलाउनेछ । यसले चुनावको परिणाम सकारात्मक बनाउन मद्दत गर्नेछ ।

    नोटः तोकिएको उमेरभन्दा बढिका व्यक्तिको सहयोग आवश्यक भएमा सल्लाहकारका रुपमा मात्र चयन गर्न सकिने व्यवस्था गर्नुहोस् ।

    तालिका ४ : चुनावमा उठ्ने उम्मेदवारहरुको र विभिन्न पदमा चयन /नियुक्ति हुनेहरुको उमेरहद

    क्र.सं. जिम्मेवारीका पदहरु

    उमेर हद

    1 गाउँ र नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरु ४५ वर्ष भन्दा कम
    2 गाउँपालिका/नगरपालिका प्रमुख, उपप्रमुख ५० वर्ष भन्दा कम
    3 प्रदेश र प्रतिनिधि सभा, राष्ट्रिय सभाका सदस्यहरु ५५ वर्ष भन्दा कम
    4 राष्ट्रपति, उपराष्ट्रपति ६० वर्ष भन्दा कम
    5 संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरु, विश्वविद्यालयहरुका उपाध्यक्ष, शिक्षाध्यक्ष, रजिष्ट्रार, प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष एवं सचिव, योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरु, संस्थान तथा वोर्डका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत एवं सदस्यहरु आदि ५५ वर्ष भन्दा कम
    6 राजदूतहरु ५५ वर्ष भन्दा कम

    युवा साथीहरुलाई अग्रिम शुभकामना !

    ७. अन्तमाः मेरो आह्वान

    राम्रो गर्नेलाई धन्यवाद देउ ।

    गलत गर्नेलाई क्षमा देउ ।।

    अपराध गर्नेलाई दण्ड देउ ।

    युवा तिमी जाग, उठ, नेतृत्व लेउ ।।

    हिजोको पुस्ताले कोशिस गरे ।

    मेरो पुस्ता सुत्यो, मुलुकको चिरहरण भयो ।।

    म जस्तै लास नबन, भोलिको आश बन ।

    युवा तिमी जाग, उठ, दियो बन, प्रकाश छर ।।

    शान्तिपूर्ण क्रान्ति गर्न जुरुक्क उठ, मसक्क आँट ।

    मुलुकको मुहार फेर्नलाई नेतृत्व लेउ ।।

    सच्चा नेपाली बन, सम्मानित नागरिक बन ।

    मुलुकको मुहार फेर्ने नेतृत्व बन ।।

    young - hand -group.JPG

     

    [आलेख लेखक डा. लक्ष्मी देवकोटा निजि विचार हुन् । विकास र समृद्धिसंग सम्बन्धित कलम चलाउने देवकोटाका आलेख www.arthadabali.com (अर्थ-डबली )मा नियमित पढ्न पाइनेछ ।

    उनको आलेख हरेक अङ्ग्रेजी महिनाको एक तरिखमा प्रकाशित हुनेछ ।  E-mail: [email protected] मा सम्पर्क गर्न सकिने छ ।

    लेखक देवकोटाको अन्य आलेखहरु 

    डा. लक्ष्मी देवकोटाको आलेख : विज्ञान, प्रविधि र समृद्धि

    जलस्रोतमा नेपाल कति धनी, कति गरिब ?

    मुलुकको आर्थिक समृद्धिका लागि पानी बेचौं, विजुली प्रयोग गरौं

    साताको लोकप्रीय