बजारमा उछाल : नेप्से १७०७ बिन्दुमा, यी हुन् १० करोड बढी कारोबार गर्ने १० कम्पनी

बजारमा उछाल : नेप्से १७०७ बिन्दुमा, यी हुन् १० करोड बढी कारोबार गर्ने १० कम्पनी

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • बजारमा उछाल :  नेप्से १७०७ बिन्दुमा, यी हुन् १० करोड बढी कारोबार गर्ने १० कम्पनी

    काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उछाल आएको छ । बजार खुल्दा एक हजार ६८१.८३ बिन्दुबाट शुरु भएको कारोबारमा निरन्तर बृद्धि भएपछि आज नेप्से परिसूचक २८.८९ अंकले बढेर एक हजार ७०७.६८ बिन्दुमा उक्लिएको हो । 

    images
    images

    त्यस्तै, ठूला कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५.२३ अंकले बढेर ३३५.६२ बिन्दुमा उक्लिएको छ । 
    बजारमा कारोबारमा आएका १९५ ओटा कम्पनीले ३६ हजार ८९३ पटक व्यापार गर्दा आज एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

    बुधबार कारोबार रकम ४ अर्ब नाघेको छ । नेप्सेमा उछाल आएसँगै आज कारोबार रकममा समेत उछाल आएको हो । अनलाइन कारोबार प्रणालीको व्यापक पहुँचका कारण पछिल्लो समय शेयर बजारमा सकारात्मक सङ्केत देखिएको छ । 

    विश्व बजारको गतिसँग अक्सर ‘म्याच’ नहुने नेपाली शेयर बजारको ट्रेन्ड यसपालि उल्टिएको छ । विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक प्रभावकारी भएसँगै शेयरबजार तातेको छ । 

    आइतबारमात्रै अमेरिका र जर्मनीको विज्ञको समूहले परीक्षण गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको थियो ।

    त्यस्तै, पहिलो त्रैमासको वित्तीय विवरण सकारात्मक रहेको कारण पनि बजारमा उछाल आएको हुनसक्ने विश्लेषकहरुको अनुमान रहेको छ । 

    यो दिन कारोबारमा आएका वित्त समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको हो । वित्त समूहको परिसूचकमा ०.३३ प्रतिशतको गिरावट आउदा व्यापार समूहको परिसूचक सर्वाधिक ९९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक समेत ६.२१ प्रतिशतको उछाल आएको छ । 

    त्यसैगरी म्युचुअल फण्ड समूहको परिसूचक ४.९८ प्रतिशत, अन्य समूहको परिसूचक ४.१२ प्रतिशत, निर्जीबन बीमा समुहको ४.०२ प्रतिशत, होटल समूहको २.५३ , बैंकिङ समूहको १.१५ प्रतिशतले परिसूचकमा उछाल आएको छ । 

    यसैगरी जलविद्युत समूहको ०.३० प्रतिशत, लघुवित्त समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत र जीवन बीमा समूहको ०.०७ प्रतिशतले परिसूचक उकालो लागेको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    बुधबारको कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक हिस्सा रह्यो । उक्त कम्पनीको आजको कूल कारोबार रकम २५ करोड ९० लाख २८ हजार रुपैयाँभन्दा बढी रहेको छ ।

    त्यस्तै, हिमालयन डिस्टीलरीको कारोबार रकम १८ करोड ८६ लाख ४० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १५ करोड ६५ लाख ९० हजार रुपैयाँ, नागरिक लगानी कोषको १५ करोड ४५ लाख १४ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड १५ लाख ७४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

    यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १५ करोड १० लाख ७१ हजार रुपैयाँ, शिवम् सिमेन्टको १४ करोड ८० लाख ८९ हजार रुपैयाँ, अपि पावर कम्पनी लिमिटेडको १२ करोड १५ लाख ३४ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सको ११ करोड ५८ लाख ३१ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ९ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ । 

    शेयरमूल्य बढेको कम्पनीहरु 
    शेयरबजारमा आज ६ ओटा कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ४९५ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ५ हजार ४४५ रुपैयाँ कायम भएको हो ।

    लक्ष्मी इक्वीटी फण्डको शेयरमूल्य पनि आज ९.९९ प्रतिशतले बृद्धि भएर अन्तिममूल्य प्रतिइकाई १०.२४ रुपैयाँ कायम भएको छ ।

    नागरिक लगानीकोषका शेयरधनीहरुले पनि आज ९.९८ प्रतिशतका दरले कमाएका छन् । कोषको शेयरमूल्य यसदिन ४१० रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ४ हजार ५१९ रुपैयाँ कायम भएको हो । 

    विशाल बजार कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत अर्थात २२७ रुपैयाँले बढेर अन्तिम मूल्य २ हजार ५०२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ग्रोथ फण्डको मूल्य पनि ९.९० प्रतिशतले बृद्धि भएको छ । उक्त फण्डको मूल्य अब प्रतिइकाई ११.१० रुपैयाँ पर्नेछ ।

    यसैगरी सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि आज ९.८२ प्रतिशत अर्थात ४९ रुपैयाँले बढेर अन्तिम मूल्य ५४८ रुपैयाँ कायम भएको छ भने हिमालयन डिस्टीलरीको शेयरधनीले ८.८२ प्रतिशत र शिवम् सिमेन्टको लगानीकर्ताहरुले ७.९४ प्रतिशतले कमाएका छन् । 

    शेयरमूल्य घटेका कम्पनीहरु 
    बढेको बजारमा आज वित्त कम्पनीको शेयर सर्वाधिक घटेको छ । नेप्सेका अनुसार आइसिएफसि फाइनान्सको शेयरमूल्य आज सवैभन्दा बढी ४.७० प्रतिशत अर्थात १५ रुपैयाँले घटेर अन्तिम मूल्य प्रतिकित्ता २९९ रुपैयाँ कायम भएको छ ।

    सेन्ट्रल फाइनान्सको शेयरमूल्य समेत आज २.८९ प्रतिशतले घटेर अन्तिम मूल्य १६८ रुपैयाँ कायम भएको छ । निर्धन लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन पावर, कामना सेवा विकास बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले पनि आज २ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

     

    साताको लोकप्रीय