तिहार लागेपनि बजारमा खासै छैन व्यापार, राम्रो व्यापार भएका दिन सम्झेर बस्छन् व्यापारीहरु 

तिहार लागेपनि बजारमा खासै छैन व्यापार, राम्रो व्यापार भएका दिन सम्झेर बस्छन् व्यापारीहरु 

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • तिहार लागेपनि बजारमा खासै छैन व्यापार, राम्रो व्यापार भएका दिन सम्झेर बस्छन् व्यापारीहरु 

    ललितपुर / ललितपुरको मङ्गलबजारमा ३५ वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठलाई आजभोलि दिनभरी पसल खोलेर बस्नु मात्रै हुन थालेको छ ।

    images
    images
    images

    तिहारको मुखमा पनि खासै व्यापार नहुँदा श्रेष्ठलाई गत वर्षका पर्वहरुमा भएका राम्रो व्यापारको सम्झनाले मन खिन्न बनाउँछ । 

    मङ्गलबजारका व्यापारी राजेश श्रेष्ठको ढाका पसलमा पनि यसपटक खासै व्यापार भएको देखिदैन । 

    “तिहारमा हरेक दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि शीरमा लगाउने ढाका टोपी किन्न आउनेहरु पनि यस पटक कोरोना महामारीको त्रासमा परेको जस्तो लाग्यो ।  कुनै कुनै दिन त पसलमा टेक्ने मान्छे समेत हुँदैनन् ।” 

    अघिल्ला वर्षमा दशैं र तिहार आउनु अघि देखि नै दिनको रु २५ देखि ३० हजारको टोपी बिक्री गर्ने राजेशले यसपटक दिनको रु पाँचदेखि १० हजारको टोपी पनि व्यापार गर्न गाह्रो भइरहेको बताए । 

    लगनखेल क्षेत्रमा १४ वर्ष अघिदेखि सप्तरङ्गीको व्यापार गर्दै आएका गुडु गुप्ताले पनि बजारमा ग्राहकको चहलपहल खासै नभएको सुनाए । 

    “अघिल्ला वर्षका तिहारमा दैनिक रु १० देखि १५ हजारको रङ्ग व्यापार गर्थेँ । हाल दिनको रु एकजार २०० देखि जम्मा दुई हजार सम्म पनि कमाउन मुस्किल भइरहेको छ”, गुडुले भने। 

    लगनखेलचोक पेटीमा लामो समयदेखि तिहारका लागि आवश्यक फूललगायतका विभिन्न सामग्री व्यापार गर्दै आएकी वृद्धा साइली शिवगोत्रले यसपटक खरिद गर्ने मानिस नआएको सुनाए। विगतका दीपावलीमा ढलान गरेका घर र मोठ पोत्न कयौँ सहरवासी रातो माटो खरिद गर्न आउँथे । 

    “नगर प्रहरी नआएको मौका छोपेर सडक पेटीमा बसेर व्यापार गर्नु परिरहेको छ । रातो माटो, माटाका पाला, अमला, बयर, जौ आदि जस्ता खुद्रे सामग्री व्यापार गर्दा पनि कसरी भाउ घटाउनु । 

    यो पटक हामीले व्यापारका लागि खरिद गरेको सामग्रीको साउँ पनि उठाउन गाहो हुन थालेको छ”, शिवगोत्रले भने । 

    लगखनेलमा विगत ३० वर्ष पहिलेदेखि ‘तामा पितल भाडा पसल’ सञ्चालन गर्दै आएका शैलेन्द्र हलुवाइको पसल पनि तिहार नजिकिए पनि सुनसान देखिन्छ । “मानिसँग पैसा नभएर या सबै मानिस गाउँगाउँ छिरेर हो ।

    ”लक्ष्मीपूजाका लागि गत वर्षमा खरिद गरेका भाँडाकुडाका तुलनामा यो वर्ष व्यापार नभएको शैलेन्द्र बताउछन् ।  

    लगनखेलमा लामो समयदेखि खोलिएको श्रृङ्गार पसलमा विगत केही वर्षदेखि कार्यरत रेवीका खनालले पनि आठ महीना अघि देखि नै व्यापार ठप्प भइरहेको बताए । 

    गत वर्षमा दैनिक रु २० देखि २५ हजारको सामग्री व्यापार गरिन्थ्यो ।  हाल दैनिक आउने पसल खोल्ने र बल्लबल्ल रु पाँच देखि सात हजारको व्यापार गर्न नसकेको रेवीकाको मत छ । 

    लगनखेल क्षेत्रमा विगत पाँचवर्ष अघिदेखि तिहारमसला र दैनिक घरायसी प्रयोजनमा प्रयोग गरिने मसला व्यापार गर्दै आएका ‘दास किराना पसल’ का मालिकले पनि दैनिक रु.५० हजारको सामग्री व्यापार गर्ने गरेको विगत सम्झदै हालका दिनमा रु १० देखि १५ हजार मूल्य बराबराको सामग्री समेत व्यापार गर्न नसकिरहेको सुनाए ।  

    तिहारमाम लक्ष्मीपूजाका लागि फलफूल, सयपत्री, गोदावरी, मखमलीलगायतका फूल, माटाका पाला, ढाका टोपी, भाइमसला, पान, सप्तरङ्गी, तामाका भाँडा  चाहिन्छ । 

    तिहार दीप, महिन र झिलमिलि बत्ती प्रयोग हुने उज्यालोको पर्व रुपमा परिचित छ । यसपटकको तिहारमा झिलिमिलि बत्ती किन्ने मानिसको खासै भीड भने बजारमा देखिदैँन । 

    हरेक तिहारका लागि अत्यावश्यक मानिने बिमिरो, भोगटे, हलुवाबेद, मखमली, लक्ष्मीका तस्विर लगायत कृत्रिम माला भने बजारमा केही मात्रामा देखिए तापनि भाउ भने छोइनसक्नु रहेको गोदावरीकी रुपा ढङ्गेलले बताए । 

    बजारमा तिहारको रौनक छाएसँगै जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन पनि शुरु गरेको छ । प्रशासनले लगनखेलका बजार अनुगमन गरेर दर्ता नभएको एक पसललाई सात दिनभित्र दर्ता गर्न अनुरोध गरेको थियो । 

    जिल्लाका सहायक प्रमुख जिल्ला अधिकरी ललितकुमार बस्नेतले यो वर्ष नजिकै आइरहेको दीपावली र छठ पर्वमा भुइँचम्पा, पटका पड्काउने र अताशबाजी जस्ता कार्य नगर्न समस्त जिल्लावासीलाई आग्रह गरिएको बताए।

    स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च 
    महालक्ष्मी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च प्रदान गरेको छ ।

    महालक्ष्मीले स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर वर्षको एक पटक  चाडपर्वमा दिने भनिएको रकम बैंक खाता मार्फत प्रदान गरेको हो । 

    महालक्ष्मीले प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना स्वास्थ्य स्वयंसेवीकालाई कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बैंक खाता मार्फत उक्त रकम निकासा गरिसकेको नगप्रमुख रामेश्वर श्रेष्ठले बताए। 

    नगरप्रमुख श्रेष्ठले आज एक सूचना जारी गर्दै नजिकै आइरहेको दीपावलीमा देउसी भैलो खेल्न र समूहमा जम्मा नहुन र आ–आफ्नो घरमा सङ्क्रमणबाट पूर्णरुपमा सुरक्षित भएर चाडपर्व मनाउन समेत नगरवासीलाई आग्रह पनि गरेका छन् । 

    सात हजार घर फिर्ता, १०७ को मृत्यु
    ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात हजार बढी नाघेको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या सात हजार ८२१ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय सात पुगेको छ । 

    जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या दस हजार ३९१ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६३ पुगेको कार्यालय ललितपुरक प्रमुख डा. खगेश्वर गेलालले बताए। 

    साताको लोकप्रीय