के हो विकासलाई हेर्ने दृष्टिकोण ?

के हो विकासलाई हेर्ने दृष्टिकोण ?

अल्पबिकसित देश र अमेरिका जस्ता बिकसित देशले बिकासलाई हेर्ने दृष्टिकोण एकदम पृथक हुन्छ । हामीले भुई मान्छेको न्यूनतम आबश्यकता परिपूर्ति गर्न सकेका छैनौं भने उनीहरु अन्तरिक्षको यात्रालाई कसरी सहज पहुँच पुर्याउने भन्ने बिषयमा लागि परेका हुन्छन् ।

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • के हो विकासलाई हेर्ने दृष्टिकोण ?

    विकासलाई परिभाषित गर्ने सन्दर्भमा बिभिन्न दृष्टिकोण रहेको पाईन्छ । यो यस्तो शब्द हो जसलाई सबैले आ–आफ्ना किसिम बाट परिभाषित गर्न सक्दछन् । 
    यसको अकाट्य परिभाषा भएको पाईदैन । जस्तो कुनै एउटा टोप तपाईंको टाउकोमा पनि मिल्न सक्दछ त्यहि टोप मेरो टाउकोमा पनि मिल्न सक्दछ । हो, त्यस्तै हो बिकासको परिभाषा ।

    images
    images

    यसलाई अझ बढि प्रष्ट्याउन हाम्रै देशको पूर्ब अबस्थालाई अध्ययन गरौं । कौटिल्यको अर्थशास्त्र अनुसार साना साना घरेलु उद्योगको उन्नतिलाई बिकास भनिएको छ । त्यस समयमा राडीपाखी, उनका बस्त्र र अन्य कपडा बुनी बाह्य मुलुकमा पठाउने गरिन्थ्यो र यो नै ठूलो काम मानिन्थ्यो । अन्य कुराको निर्माण भै नसकेको हुँदा यसैलाई बिकास भनिने गरिन्थ्यो । यसरी बिकासलाई सिमित क्षेत्र भित्र पारिएको हुन्थ्यो ।

    लिच्छबिकालमा पनि केही बस्तु बाहिर पठाईन्थ्यो । खासगरी तिब्बतमा निर्यात गरेको पाईन्छ । देशलाई सम्बृद्ध बनाउन स्वदेशमा बस्तु उत्पादन गरी उत्पादन गरिएको बस्तुलाई अन्य मुलुकमा पठाउन सकियो भने देशको बिकास हुन्छ भन्ने उद्देश्यबाटै स्वदेशी सामान बिदेश निर्यात गरेको देखिन्छ । यस कालखण्डमा पनि बिकास भनेको आफ्नो देशको सामान अरु मुलुकमा पठाउने कार्यलाई लिएको पाईन्छ । निर्यातबाट आर्जित आय नै बिकासको प्रतिक मानिन्थ्यो ।

    त्यसैगरी मल्लकालमा भने अलि पृथक किसिमले हेरेको देखिन्छ । त्यस समयमा कला कौशल, प्राबिधिक ज्ञान र सिपको बिकास भएको पाईन्छ । यो समयलाई प्राबिधिक ज्ञानको हिसाबले एक स्वर्ण युग भन्न पनि सकिन्छ । मल्लकालमा कला कौसलको बिकासलाई नै बिकास मानिएको थियो । यसरी बिकासलाई हेर्ने दृष्टिकोण बिभिन्न कालखण्डमा एउटै नभई फरक फरक फरक भएको पाईन्छ ।

    अहिलेको २१ औं शताब्दीमा पनि बिकासलाई हेर्ने दृष्टिकोण र परिभाषा एउटै भएको पाईदैन । अल्पबिकसित, बिकासोन्मुख र बिकसित देशहरुले बिकासलाई हेर्ने र परिभाषित गर्ने कुरामा फरक फरक मत भएको देखिन्छ । अल्पबिकसित देशहरुको लागि गास, बास र कपासको समस्या रहेको हुन्छ । 
    यिनीहरुको सहज किसिमबाट उपलब्धत गराउन सकियो भने त्यहाँका जनतालाई यो भन्दा ठूलो केही हुन सक्दैन । त्यसैले उनीहरुको लागि बिकास भन्नु नै गाँस, बास र कपासको सुलभता नै हो । नेपालको सन्दर्भमा पनि यही तीन कुराको बिकासलाई लिन सकिन्छ ।

    बिकासोन्मुख देशहरुको सन्दर्भमा भन्ने हो भने अल्पबिकसित देशको भन्दा अलि फरक किसिमको अर्थात केही सम्पन्नता भएको बुझ्नु पर्दछ । यी देशरुमा जनताका आबश्यकता गांस, बास, कपास भन्दा माथिल्लो श्रेणीका हुन्छन् । न्यूनतम आधारभुत आबश्यकता संगसंगै अन्य आबश्यकता परिपूर्तिको पर्खाईमा हुन्छन् र प्राप्त गर्ने दिशा तर्फ प्रयासरत भएका हुन्छन् । यसबाट यो बुझ्न सकिन्छ की बिकासोन्मुख देशहरुको सन्दर्भमा बिकास भन्नाले अल्पबिकसित देश र बिकसित देशको बीचको अबस्थालाई लिन सकिन्छ ।


    जसरी अल्पबिकसित देश र बिकासोन्मुख देशमा बिकासको अबधारणा फरक पाईन्छ त्यसरी नै बिकसित देशमा पनि बिकासको अबधारणा फरक भएको पाईन्छ । बिकसित देशमा बिकासका अबयबहरु उच्च तहमा पुगेका हुँदा जनताको जीवनस्तर पनि उच्च भएको हुन्छ । गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत मानबीय आबश्यकताको परिपूर्ति भई सकेका हुनाले त्यस भन्दा माथिल्लो लक्ष्य प्राप्तीको लागि प्रयत्नशील भएका देखिन्छन् ।

    त्यसकारण नेपाल जस्ता अल्पबिकसित देश र अमेरिका जस्ता बिकसित देशले बिकासलाई हेर्ने दृष्टिकोण एकदम पृथक भएको हुन्छ । हामीले भुई मान्छेको न्यूनतम आबश्यकता परिपूर्ति गर्न सकेका छैनौं भने उनीहरु अन्तरिक्षको यात्रालाई कसरी सहज किसिम बाट पहुँच पुर्याउने भन्ने बिषयमा लागि परेका पाईन्छन् । अर्कोतर्फ बिकसित मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारी आदि प्रचुर मात्रामा उपलब्ध गराईएको हुनाले अल्पबिकसित र बिकासोन्मुख मुलुकसंग तुलनानै हुन सक्दैन । त्यसकारण बिकसित देशहरुले बिकासलाई हेर्ने दृष्टिकोण र यसको परिभाषा फरक हुनु स्वभाबिकै हुन आउँछ ।

    बिकासलाई हेर्ने दृष्टिकोण फरक भएको कारणले गर्दा बिकासको परिभाषा पनि फरक हुन गएको छ । कसैले आर्थिक समृद्धिलाई बिकास भनेका छन् भने कसैले राजनीतिको समृद्धतालाई बिकास भन्ने गरेका छन् । त्यसैगरी कतिपय बिद्वानहरुले सामाजिक उन्नति तथा प्रगतिलाई बिकास भन्ने गरेका पनि छन् । यसरी बिकासलाई बिभिन्न किसिमबाट परिभाषित गरे पनि आर्थिक, राजनीतिक, सामाजिक , सांस्कृतिक क्षेत्र लगायत अन्य क्षेत्रहरुको बिकासको समष्टिगत रुपनै बिकास हो भन्नु अत्युक्ति नहोला ।

    सबैले बुझेको र भन्ने गरेको अर्थ भने बिकास एक निरन्तर चलि रहने प्रकृया हो । बिकासको गति तिब्र, सुस्त वा क्रमिक जे पनि हुन सक्दछ । तर, केही न केही मात्रामा बिकास भएकै हुन्छ । त्यसैले यसलाई निरन्तर चलिरहने प्रकृया भनिने गरिन्छ र यसको अन्तिम गन्तब्य पनि हुँदैन ।
    बिकास जहिले पनि सकारात्मक हुन्छ । नकारात्मक नतिजाले बिकासलाई संकेत गरेको हुंदैन । यसै कारणले गर्दा सबै बिकासबिदहरुले बिकासलाई सकारात्मक रुपले हेरेको पाईन्छ । यसले आर्थिक, वाताबरणीय, सामाजिक, राजनीतिक क्षेत्रलाई बढावा गरेको हुन्छ । अक्स्फोर्ड डिक्स्नरीले दिएको परिभाषा पनि करिब करीब यससंग मिल्दो जुल्दो देखिन्छ । जसमा भनिएको छ बिकास त्यसतो प्रकृया हो जहां केही बढ्छ वा परिवर्तन हुन्छ र परिणाम स्वरुप अधिक उन्नति वा बृद्धि भएको हुन्छ ।

    बिकास के हो भन्ने सम्बन्धमा संयुक्त राष्ट्रसंघले दिएको परिभाषा पनि माथि उल्लेख गरिएको बिचारसंग मेलखाने जस्तो देखिन्छ । जसमा बिकास संयुक्त राष्ट्र संघको प्राथमिकता हो । बिकास मानविय पक्षसंग सम्बन्धित भएको हुँदा यसले ब्यक्तिको लागि उच्च स्तरको जीवन बनाउने प्राथमिकताको लक्ष लिएको हुन्छ । आर्थिक, सामाजिक बिकास तथा वाताबरणीय संरक्षणमा जोड दिएको हुन्छ । यसरी बिकासलाई बहुमुखी चरित्रको रुपमा लिएको देखिन्छ ।

    बिकासको अर्थ, परिभाषा तथा यसलाई हेर्ने दृष्टिकोण सबै देशहरुमा एकै किसिमको नभएको पाईन्छ । तर, बिकासलाई सबैले समृद्धिको रुपमा लिएका भने देखिन्छन् । नेपालको बिकास कसरी गर्ने र यसको मोडेलको बिषयमा नेपालको संबिधानमा नै केही उल्लेख भएको छ । संबिधानको प्रस्ताबनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने भनि उल्लेख गरेबाट पनि बिकासलाई संबैधानिक मान्यता दिईएको देखिन्छ ।

    नेपालको संबिधानले बिकासमा जोड दिएको छ भन्नेबारे संबिधानको निर्देशक सिद्धान्त अन्तर्गत धारा ५० को उपधारा ३ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको माध्यमबाट तीब्र आर्थिक बृद्धि गर्ने सिद्धान्त अबलम्बन गरिएको छ । नेपाल जस्तो अल्पबिकसित देशमा मौजुदा साधन श्रोत न्यून हुने भएकोले उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा दिगो आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण तथा आर्थिक असमानताको अन्त्य गरी राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भनि उल्लेख गरीएको छ ।

    संबिधानमा नै नेपालको बिकासबारे स्पष्ट अबधारणा उल्लेख भएको हुँदा राज्यले यसैलाई मार्ग निर्देशन मानी बिकास गर्नु पर्ने  हुन आउँछ  । बिकासका मुख्य अभिकर्ताका रुपमा सार्बजनिक, निजी र सहकारी क्षेत्र नै हुन् । यिनीहरुको नै मुख्य भूमिका हुने हुदा यिनीहरु परिवर्तनका घटक देखिन गएका छन् । उपलब्ध साधन श्रोतको अधिकतम उपयोग गर्ने र त्यसबाट प्राप्त उपलब्धिलाई न्यायोचित किसिमले जनतासामु बितरण गर्नु पर्ने उल्लेख भएबाट नेपालको संबिधान बिकासप्रति कति संबेदनशील रहेछ भन्ने कुरा प्रष्ट हुन आउँछ । आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रलगायत अन्य क्षेत्रलाई समेत संगसंगै समेटी बिकासको फल तल्लो तहका जनतासम्म पुर्याई समृद्ध राष्ट्र बनाउनु नै बिकास प्रतिको प्रतिबद्धता भन्न सकिन्छ ।

    बिकासको मोडेलको सम्बन्धमा पनि अहिले हामी तलदेखि माथि बिकास गर्दै जाने मोडलमा लागेका छौं । अहिलेको शासकीय स्वरुपको संरचनामा माथिल्लो तहमा संघ, त्यसपछि प्रदेश र पुछारमा स्थानीय सरकारहरु रहेका छन् । केन्द्रमा एउटा मात्र सरकार, प्रदेशमा ७ ओटा र स्थानीय तहमा ७५३ ओटा सरकार छन् । यसबाट पनि यो बुझ्न सहज हुन्छ की तल्लो तहमा रहने जनताको संख्या ठूलो भएको हुनाले नै सरकारको आकार पनि ठूलै बनाईएको भन्न सकिन्छ । त्यसकारण हाम्रा बिकास एबं निर्माण कार्य र जनतालाई उपलब्ध गराईने सेवा पनि तलदेखि माथिसम्म उपलब्ध गराउनु पर्ने ब्यबस्था रहेको छ ।

     अन्त्यमा,
    नेपालको सम्बन्धमा बिकासलाई हेर्ने दृष्टिकोण संबिधानको निर्देशक सिद्धान्तले निर्देशित भएका देखिन्छन् । बिकासलाई अघि बढाउँदा सार्बजनिक, निजी र सहकारीको माध्यम अबलम्बन गर्नु पर्ने छ । साथै बिकास गर्दा कुनै एक क्षेत्रको मात्र बिकास नगरी सबै क्षेत्रलाई एकैसाथ अगाडि बढाउनु पर्नेछ । यस्तो गरीएको अबस्थामा सन्तुलित बिकास हुन गई बिकासको फल राज्यको कुना काप्चामा बस्नेहरुले समेत रसास्वादन गर्न सक्ने छन् र राज्यको दीर्घकालीन उद्धेश्य समेत प्राप्त हुनेछ ।

    अर्को कुरा बिकास भौतिक समृद्धि मात्र होईन । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्बाधार निर्माण आदि मात्रको बिकासले कुनैपनि देशको बिकास पूर्णत हुन सक्दैन । यी क्षेत्रको बिकास त केवल बाहिरी देखिने हुन् । अझ महत्वपूर्ण बिषय त भित्री बिकास हुन् । भन्नुको तात्पर्य आन्तरिक गुदी । 
    आजकाल यसलाई सफ्टवेर पनि भन्ने गरीन्छ । सफ्टवेर अन्तर्गत भाषा, संस्कृति, परंपरा, चालचलन, भेषभुषा आदि पर्दछन् । यिनीहरुको बिकास नगरीकन बिकासलाई हेर्ने दृष्टिकोण अपूरो नै हुनेछ । अतः बिकास भन्नाले हार्डवेर र सफ्टवेरको समग्रतालाई लिईनु पर्दछ ।

    कृष्णमणि पराजुली नेपालका पूर्व –उपसचिव हुन् । पराजुली अर्थ डबलीका लागि नियमति लेख लेख्छन् । उनको लेख प्रत्येक महिनाको ७ गते प्रकाशित हुनेछ ।- सम्पादक

    साताको लोकप्रीय