गाउँपालिकाले जोतिदिएको १२ बर्षदेखि बाझो खेतमा धान पहेँलै झुल्यो

गाउँपालिकाले जोतिदिएको १२ बर्षदेखि बाझो खेतमा धान पहेँलै झुल्यो

अर्थ डबली
आइतवार, मंसिर ७ २०७७
अर्थ डबली
आइतवार, मंसिर ७ २०७७ (अर्काइभ बाट)
  • गाउँपालिकाले जोतिदिएको १२ बर्षदेखि बाझो खेतमा धान पहेँलै झुल्यो

    गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । 

    images
    images

    गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।

    गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । 

    एकातर्फ काम गर्नेहरुको जग्गा नहुने र अर्कोतर्फ जग्गा भएकाहरुले काम नगर्ने वा बसाइँसराइ गरेर अन्यत्रै बस्ने गरेकाले गाउँपालिकाले भूमि बैंकको अवधारणा कार्यक्रम अगाडि सारेको हो । 

    उक्त कार्यक्रमअन्तर्गत काम गर्न चाहने किसान र बाँझो जग्गाको लगत सङ्कलन गरिन्छ । गाउँपालिकाले काम चाहनेलाई खेत उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गर्दछ ।

    गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले भूमि बैंकमार्फत झण्डै २०० रोपनी बाँझो जग्गा जोतिएको जानकारी दिए । गाउँपालिकाले बाँझो जग्गाको लगत सङ्कलन गरी काम गर्न इच्छुक किसानलाई खेत प्रदान गर्ने थापाले बताए ।

    यसका साथै खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि गाउँपालिकाले नै प्रदान गर्ने जानकारी दिए । गाउँपालिकाको यसै काममार्फत वडा नं ६ कुमालटारीमा १०० रोपनी बाँझो खेत जोती धानखेती गरिएको छ ।
     
    कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समूहका सदस्य बद्रीनाथ अर्यालले गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी निःशुल्क खेत जोतिदिएकाले आफूहरुमा काम गर्ने उत्साह पलाएको बताए ।

    स्थानीय किसान यमबहादुर शाहीले १२ वर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफूले नसोचेको बताए । “बसाइँसराइले गर्दा मानिसले गाउँ छाडेपछि खेत पनि बाँझो भए ।

    गाउँपालिकाले भूमि बैंकमार्फत बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामूहिक खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने ।

    उक्त कार्यक्रमअन्तर्गत अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर सामूहिक धानखेती गरेका छन् । यसमा रु ७५ हजार लागत परेको र १०० मुरी धान उत्पादन हुने लक्ष्य छ । समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ ।
     
    कुमालटारीमा मात्रै १०० रोपनी खेतमध्ये व्यक्तिगत र सामूहिकमा गरी कूल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए ।

    रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको बठुकारखोला भन्ने छ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको छ ।

    गाउँपालिकाको उक्त कार्यले किसानमा खुशी छाए पनि गाउँको बसाइँसराइ रोक्नका लागि कृषिमा थप योजना ल्याउनुपर्ने कृषकको भनाइ छ । कृषक कृष्णप्रसाद ज्ञवालीले थप कृषि औजार, आवश्यक मललगायतको व्यवस्था हुनुपर्ने धारणा राखे । 

    साताको लोकप्रीय