[ आलेख ] यी स्थानमा ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

[ आलेख ] यी स्थानमा ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • [ आलेख ] यी स्थानमा ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

    संस् कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका  ऐतिहासिक तथा कलात्मक ढुंगे धार हरु लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरु आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो । 

    images
    images

    यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा नगरका ढुंगेधाराहरु लोप हुने स्थितिमा पुगेका हुन् । 

    थाहा नगरमा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरु आफैँ तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको छैनन् । यसरी यहाँका ढुंगेधाराहरु अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि हुन्छ ।

    थाहा नगरमा प्राचीन नेवार बस्तीहरु रहेको ठाउँमा ढुंगेधाराहरु रहेको पाइएको छ । वडा नं १ को कुन्छाल, कुलगाउँ र ओखरबजारस्थित नेवार बस्तीमा ऐतिहासिक ढुंगेधाराहरु रहेका छन् । 
    त्यसैगरी वडा नं २ को पालुङ सहर, वडा नं ३ को गोपाली बस्ती, वडा नं ६ को पापुङ, कोट डाँडा, नारायण थान, ढल्ट, भूतडाँडामा परम्परागत ढुंगेधाराहरु रहेका छन् । वडा नं ९ चित्लाङको टुपीखेल, कुचुबु, माझगाउँ, गोल भाः, कुश्लेचौर, नयाँ पौवा र सिरान पौवामा ऐतिहासिक ढुंगेधाराहरु रहेको स्थानीय जानकार शान्तलाल नेवाःले बताए । 

    त्यसैगरी वडा नंं १० को विसिङ्खेल, न्हुल गाउँ, तल्लो बिसिङ्खेल, टौखेल, कलाँटो र सिसिण्डोलमा ढुंगेधाराहरु रहेका छन् । अस्तित्वको सङ्कटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दाबढी परम्परागत ढुंगेधारा रहेका छन् । 

    वडा नं १ कुन्छालस्थित ऐतिहासिक गोपालीबस्तीमा रहेको ढुंगेधारामा राखिएको शिलालेखअनुसार सो ढुंगेधारा नेपाल सम्वत् ८३३ मा निर्माण गरिएको थियो । फोसिँ मि परिवारले निर्माण गरेको हुँदा सो धारालाई स्थानीयहरुले फोसिँ हिटी भन्ने गर्दछन् । कुशे औँशीको अघिल्लो दिन जुवा चेँ अर्थात् नारायण देवता उत्पन्न भएको दिन मानेर स्थानीयहरुले हरेक वर्ष ढुंगेधारामा पूजा गर्ने गर्दछन् भने पूजापछि भोजसमेत गर्ने गरेको स्थानीय शिक्षक निराजन गोपालीले बताए । 

    सो दिन गाउँका सबैले त्यही धारामा नुहाउने गरेको प्रचलन समेत छ । विसं २०७२ को विनासकारी भूकम्पले मुहानमा पानी सुकेपछि ढुंगेधारामा पनि पानी बग्न छोड्यो । त्यस धारामा यस वर्षबाट पुनः तिरतिर पानी झर्न त थालेको छ तर पहिलेजस्तो भने आउँदैन  ।

    कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा अहिले अस्तित्वमै छैन । ग्रामीण सडक निर्माणको क्रममा गतवर्ष उक्त धारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ । गाउँमा भित्रिने प्रत्येक नवदुलहीले पहिलोपटक सो धारामा नुहाउनै पर्छ भन्ने मान्यता रही आएको छ । ढुंगेधारा मासिएपछि अहिले नवदुलही नुहाउने प्रचलन पनि हराएको निराजन गोपालीले बताए । 

    थाहा नगरिपालिका– १ को कुलगाउँमा ढुंगेधारा रहेकोले सो टोललाई अहिले पनि मानिसहरुले हि छेँ भन्दछन् । नेवारी भाषामा हि छेँ भन्नाले धाराटोल भन्ने बुझिन्छ । तर अहिले टोलमा ढुंगेधारा देख्न सकिँदैन । थाहा– १ का वडा अध्यक्ष हेरमान गोपालीका अनुसार पानी खस्ने कलात्मक ढुंगा निकालेर राखिएको छ ।

    वडा नं १ कै ओखरबजारमा पाँच ओटा ढुंगेधारा रहेकोमा तीन ओटामा पानी आउँदैन । ओखरबजारस्थित नारायणथानमा रहेको कलात्मक ढुंगेधारा सुकेको छ भने कलात्मक ढुंगाको छेउमा स्थानीयहरुले कहिलेकाहिँ हँसिया उध्याउने गरेका छन् । पहिले गाउँभरिका मानिसहरुलाई पानी पुर्याउने सो धारामा पानी सुकेको २५ वर्षभन्दा बढी भएको स्थानीय गणेशमान श्रेष्ठले बताए । 

    ओखरबजारकै अर्को टोलमा रहेको जोर ढुंगेधारामा खलल पानी आउने भए पनि स्थानीयहरुले सो पानी पिउन छोडेका छन् । विसं २०५० मा आएको बाढीले धारा नै बगाएपछि २०६२ सालमा अर्को धारो बनाएर पानी खसालिएको छ । ओखरबजारकै गणेश थाननमा रहेका दुई ओटा धारा पानीको अभावमा काकाकूल बनेका छन् ।

    थाहा नगरपालिका वडा नंं २ स्थित पालुङ सहरमा रहेका २ वटा ढुंगेधारा जीर्ण अवस्थामा पुगेका छन् । स्थानीय तोयापानी प्रधानले ४२ मौजाका जिम्मावाल रहेको बेला २००२ सालमा सो ढुंगेधारा निर्माण गरेको थियो । 

    दुबै धारा सुकेर जीर्ण भएपछि अहिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा संरक्षण योजना अघि सारिएको राजु नापितले बताए । 

    ऐतिहासिक गोपालीहरुको बस्ती शुरु भएकै बेलातिर निर्माण गरिएको मानिएको थाहा–३ को शेतीगणेश मन्दिरसँगै रहेको ऐतिहासिक ढुंगेधारालाई भने स्थानीयहरुले सदुपयोग गरिरहेका छन् । विसं १९९० मा गएको विनासकारी भूकम्पले मन्दिर भत्किएपछि १९९३ सालमा पुनर्निमाण गरिएको थियो ।

     स्थानीयहरुले धाराको संरक्षण गरिरहे पनि सोही ठाउँमा रहेको मन्दिर, भजन पाटी र बस्तीलाई समेत समेटेर सम्पदा संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सकुन्तला गोपालीको भनाइ रहेको छ ।

    थाहाको वडा नं ६ स्थित नारायण थानमा रहेको ढुंगेधाराको पानी अहिले पनि स्थानीय कुश्ले जातीका मानिसहरुले प्रयोग गर्ने गर्दछन् । ढल्ट र पापुङको माथिल्लो टोलमा रहेका धाराहरुमा पनि पानी छ तर उचित संरक्षणको अभाव छ  । कोटडाँडा र भूतडाँडामा धारा रहेपनि पानी आउँदैन । 

    जरुङखोलामा रहेको कलात्मक ढुंगेधारा माथिबाट लेदो माटो बगेर पुरिएको अवस्थामा छ भने पापुङमा रहेको पुरानो धारा जीर्ण बनेको छ । कलात्मक धारा निकालेर राखिएको छ भने धारा रहेको स्थान झारले पुरिएको अवस्थामा छ । त्यससँगै रहेको अर्को ढुंगेधारा लोप नै भइसकेको स्थानीय ७७ वर्षीय ओमकृष्ण महर्जनले जानकारी दिए । 

    महर्जनका अनुसार गाउँभरिका मानिसहरुले पानी पिउने ‘पुरानो धारा’ कहिले निर्माण भयो भन्ने कसैलाई थाहा नभए पनि उहाँको पूर्खाकै पालादेखि जनैपूर्णिमामा ढुंगेधाराको पुजा गर्ने गरिन्थ्यो ।

     धारामाथि दुईवटा मूर्तीसमेत रहेको सो ढुंगेधारामा माटोकै पाइपबाट पानी ल्याएर खसालिएको थियो । पापुङको माथिल्लो टोलमा रहेको च्वे हिटी अर्थात् माथिको धारा पञ्चायतकालमा प्रधानपञ्चको घरबाट ढुंगेधारा ल्याएर निर्माण गरिएको ७२ वर्षीय मंगलदास बलामीले बताए ।

    थाहा नगरपालिकाको वडा नं ९ चित्लाङ सात धारा, गुर्जुधारा र पाँच धारा आदिले प्रख्यात छ । स्थानीय खोजकर्ता एवं जानकार शान्तलाल नेवाका अनुसार टुपीखेलमा रहेको २ वटा ढुंगेधारा लिच्छवी राजा अंशुबर्माका छोरा उदयदेवले निर्माण गरेका थिए । नपाल सम्वत् ९१४ मा राजाराम भन्ने व्यक्तिले सो ढुंगेधाराको जीर्णोद्वार  गरेका थिए । 

    मूर्तिहरु र धर्मशालासमेत रहेको ढुंगेधारामा २०७२ सालको भूकम्पपछि पानी सुकेकामा अहिले फेरि पानी आउन थालेको छ । टुपीखेल नजिकै देउला टोलका मानिसहरुले प्रयोग गर्ने एउटै मुहान भएको पाँचधारा रहको छ । विसं २०७२ को भूकम्पका कारण पाँचओटा धाराको श्रोतको पानी जमिनमुनि दविएपछि स्थानीय पाँचधारा देउला समाज समितिले उत्खनन् गरी संरक्षण गरेको छ । अहिले पाँचवटै धारामा पानी आइरहेको छ ।

    थाहा– ९ को कुचुवुमा रहेको नारायण हिटी नेपाल सम्वत् ६०० तिरै निर्माण गरिएको मानिन्छ । पन्ध्रौँ शताब्दीमा पाटनका राजा विष्णुसिंह महापात्रले नारायण हिटी निर्माण गरेको शान्तलाल नेवाःले बताए । 

    स्थानीयहरुले सो धाराको सदुपयोग गरिरहेका छन् । धारानजिकै नारायणको मन्दिर पनि छ । थाहाको चित्लाङस्थित माझगाउँ ढुंगेधारा र गोल भाः को सात धारा निकै ऐतिहासिक मानिन्छ । राजा अंशुबर्माका छोरा उदयदेवको शिलालेख चित्लाङमा भेटिएकाले यी धाराहरु पनि त्यसैबेला बनेको स्थानीयहरुको अनुमान छ । 

    काठमाडौँको स्वशासित क्षेत्रको रुपमा रहेको चित्लाङ–टिस्टुङ–पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरवार बनाएको र सोही क्रममा सात धारा निर्माण गरेको शान्तलाल नेवाः ले बताए । 

    पौराणिक कथनअनुसार भने द्वापर युगमा शोणितपुर भनिने हालको थानकोट क्षेत्रलाई राजधानी बनाएर राजा वाणाशुरले शासन गर्दथे । वाणाशुर आफ्नो रानीसहित मेल चोँ अर्थात् मृगस्थली डाँडामा विहार गर्न आउने क्रममा उहाँकी पुत्री उषामायालाई स्नान गर्नका लागि सातधारा निर्माण गरिएको थियो ।

    चित्लाङको नयाँ पौवा र सिरान पौवामा पनि ढुंगेधाराहरु रहेका छन् । शिवरात्रीमा यात्रीहरुलाई सर्वत दान गर्ने भएकोले यसलाई सरावत पौवा भनिन्छ । सिरान पौवाको ढुंगेधारा राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्न्यातको निधनपछि उहाँकी श्रीमतीले निर्माण गरेको मानिन्छ । 

    सो ढुंगेधारा गुर्जुधाराको नामले प्रख्यात छ । परापूर्व कालदेखि ‘गुरुज्यू’हरुले स्नान गर्ने भएकोले यो धारालाई गुर्जुधारा भनिएको स्थानीय बुद्धिजीवी बुधरत्न मानन्धरले बताए । 

    महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनको चर्चित ‘यात्री’ कविता सोही ढुंगे धारामा बसेर लेखेको मानिन्छ । प्रदेश सरकारअन्तर्गत सिँचाइ डिभिजन कार्यालयले गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार शुरु गरेको छ ।
    थाहा– ९ को कुश्लेचौरमा पनि सरस्वती र गणेशको मूर्तिसहितको कलात्मक ढुंगेधारा रहेको छ ।

    थाहा– १० को प्रशिद्ध चम्पाकेश्वर मन्दिरसँगैको ढुंगेधारा अहिले लोप भइसकेको छ । कलाँटोमा पानी खस्ने ढुंगा निकालेर राखिएको छ भने टौखेल र सिसिण्डोलमा रहेको ढुंगेधाराबाट पानी झरिरहेको छ । तल्लो बिसिङ्खेलमा रहेको ढुंगेधारामा पाँच वर्षपछि पानी आएको छ । विसं २०७२ को विनासकारी भूकम्कसँगै विसिङ्खेलको ढुंगेधारामा पानी सुकेको थियो । रुपासेखोलास्थित मुहानमा पानी आएसँगै ढुंगेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । 

    ढुंगेधारा नजिकै नागको थान रहेको र नजिकै दुईवटा ढुंगेधारा रहनुले स्थानीयले यो धारालाई विशेष महत्वको रुपमा लिँदै आएका छन् । दुईमध्ये एउटा धारा बाढीले पुरेर लोप भइसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको ऐतिहासिकता बोकेका परम्परागत ढुंगेधाराहरुको उचित संरक्षण गरिने बताए ।

    साताको लोकप्रीय