लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

    काठमाडौँ / उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । 

    images
    images

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । 

    कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । 

    अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । 

     बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो ।

    व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । 

     ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि नआए पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर ठमेलमा पर्यटकीय गतिविधि शुरु गरेको बताए । 

    “यही हप्ताबाट रात्रिकालीन व्यवसाय शुरु गर्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको छ”, उनले भने, “आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र ठमेलका होटल, रेष्टुरेन्ट र डिस्को, क्लबहरु विस्तारै खोल्नुपर्छ ।”  

     यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घर धनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । 
      
     पर्यटन व्यवसायी सुदर्शन नेपालले ठमेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । 

    “विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्छ”, उनले भने । 

     ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । दशैँ र तिहारको समयमा भने ठमेलभित्र थोरैमात्रामा भए पनि पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । 

     काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने बताए । 

    “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उनले भने । यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । 

    साताको लोकप्रीय