गजेन्द्रमोक्ष धाम : यसरी जोड्दैछ धर्म र पर्यटन

 गजेन्द्रमोक्ष धाम : यसरी जोड्दैछ धर्म र पर्यटन

अर्थ डबली
सोमवार, मंसिर २९ २०७७
अर्थ डबली
सोमवार, मंसिर २९ २०७७ (अर्काइभ बाट)
  •  गजेन्द्रमोक्ष धाम : यसरी जोड्दैछ धर्म र पर्यटन

    श्रीगजेन्द्रमोक्ष दिव्य धामका रुपमा चासो र चर्चा कमाएको स्थल । 

    images
    images

    मानिसहरु दर्शन एवं अवलोकनका लागि पछिल्लो समयमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने आउँछन् ।

    विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको छ । 

    गण्डकी प्रदेशको नवलपुर जिल्ला अन्तर्गत विनयी त्रिवेणी नगरपालिका वडा नं ६ स्थित गजेन्द्रमोक्ष धाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
     
    स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थलमा रहेको यो धामको विशिष्ट धार्मिक महत्व रहेको स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।
     
    “गजेन्द्रमोक्ष धाम गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रकै महत्वपूर्ण सम्पदा हो”, उनले भने । “नवलपुरको गजेन्द्रमोक्ष धामसहित यस आसपासका धार्मिक एवं ऐतिहासिक सम्पदाका साथै मुक्तिनाथ, दामोदरकुण्ड जस्ता स्थलको प्रवद्र्धन र विकास गर्नसके समग्र गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।”

    अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सक्रियतामा गजेन्द्रमोक्ष धाम परिसरमा श्रीगजेन्द्र मोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशालालगायतका विभिन्न संरचना निर्माण गरिएको उहाँले जानकारी दिए । 

    गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, महर्षी वाल्मिकीले आदि काब्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयं प्रकट नागस्थान, बालपुरी, नागाबाबा कुटी, लक्ष्मीवेंकटेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, रामजानकी मन्दिर, कठवाँ गुफा, विष्णुधाम, गडीमाई आदि रहेका छन् ।

     प्राचीन धर्मग्रन्थ श्रीमद्भागवत, स्कन्दपुराण, पद्यपुराण, वामनपुराण, बराहपुराण आदिमा गजेन्द्रमोक्ष धामका सम्बन्धमा रोचक उक्ति पाइन्छ । 

    प्राचीनकालमा नारायणी नदीको किनारस्थित यस स्थलमा सुन्दर वन थियो । वनमा मृग, बँदेल, जरायो, गैँडा, वनगाई, दुम्सी, सिंह, बाघ, बाँदर आदि बस्दथे । आफ्ना परिवारका साथ बनको राजाका रुपमा गजेन्द्र (हात्ती) बस्दथ्यो । 

    गजेन्द्रसँग वनका साना ठूला सबै जनावर डराउँथे । मदमत्त गजेन्द्र कुनै दिन जलविहारका लागि आफ्नो झुण्डका साथ नारायणी किनारामा पुग्यो । नदीमा पुगी सुँडका माध्यमले पानीको फोहोरा फाल्दै खेल्ने क्रममा नदीमा रहेको ग्राह (गोही) ले गजेन्द्रको खुट्टा बेसरी समात्यो । गोहीले खुट्टा समातेपछि गजेन्द्र र गोहीका बीच तानातान भयो ।

    गजेन्द्रलाई गोहीदेखि छुटाउन अन्य हात्ती तथा छावाले धेरै प्रयास गर्दा पनि सम्भव भएन । अन्ततः गजेन्द्रको शक्ति कमजोर बन्दै गयो । केही सीप नलागेपछि अन्ततः पूर्वजन्ममा गरेको भगवद् भक्तिको स्मृतिद्वारा भगवान नारायणले नै आफ्नो रक्षा गर्ने कुरामा निश्चित बन्दै गजेन्द्रले नारायणको स्तुति गर्दछ । 

    गोहीले तान्दै गर्दा सुँड मात्रै बचेका अवस्थामा भगवान नारायण गरुढमा चढी आएको देखी सुँडले कमलको फूल टिपी चढाउँछ । गजेन्द्रको स्तुति एवम् भक्तिभावबाट प्रशन्न भएका नारायणले सुदर्शन चक्रद्वारा गोहीको शिर काटेर गजेन्द्रको उद्धार गरेको धर्मग्रन्थहरूमा उल्लेख छ । 

     धर्मग्रन्थकै अनुसार गजेन्द्र पूर्वजन्ममा पाण्ड्यवंशी ‘इन्द्रद्युम्न’ नामक राजा थिए । उनी अगस्त्य ऋषिको श्रापका कारण हात्ती बन्न पुगे । त्यस्तै ग्राह (गोही) हूहू नामक गन्धर्व थिए । उनी देवल ऋषिको श्रापका कारण गोही बनेका थिए । 

    दुवै ऋषिले हात्ती र गोही भए पनि भगवान् श्रीहरिबाट हात्ती र गोहीको शरीर त्यागी मोक्ष प्राप्त हुने आशिर्वाद दिएका थिए । त्यही आशिर्वादले ग्राह र गजेन्द्र दुवैले मोक्ष पाएको स्थल रहेका कारण यस धामलाई गजेन्द्रमोक्ष धामका रुपमा लिइएको किंवदन्ती छ ।
     
    गजेन्द्र मोक्षधाममा आएका पर्यटकलाई वैदिककालीन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । गजेन्द्रमोक्ष नारायण मन्दिरको बाहिरी दृश्य प्यागोडा शैलीको छ भने भित्री दृश्य दक्षिण भारतीय शैलीमा पाउन सकिन्छ । 

    धेरै सङ्ख्यामा रहेका देवी देवताका मूर्तिले यहाँ आउने जो कोही मोहित हुने गरेका छन् । धाम परिसरकै शीशमहल यहाँको अर्को आकर्षण हो । शीशमहलभित्र राधाकृष्ण भगवानको युगलस्वरुप हेर्न लायक छ । शीशमहलमा जाने दर्शनार्थी जता हेर्यो उतै देखिने आफ्ना प्रतिविम्बले मोहित बन्दै फर्कने गरेका छन् ।
     
    नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्डको सहकार्यमा नवलपुर क्षेत्रमा हालै गरिएको धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणका क्रममा गजेन्द्रमोक्ष धाम क्षेत्रको स्थलगत अवलोकन गरिएको छ । 

    अवलोकनका क्रममा गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले गजेन्द्रमोक्ष धामलाई प्रदेशको आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए । 

    गजेन्द्रमोक्ष धामदेखि मुक्तिनाथ, दामोदरकुण्डलगायतका स्थानलाई समेट्दै यिनीहरूको प्रवद्र्धन र विकास गर्नु अपरिहार्य भएको उनले बताए । 

    गजेन्द्रमोक्ष धामको विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकताका राख्दै पूर्वाधार विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको जानकारी दिँदै उनले धार्मिक पर्यटन पनि एउटा महत्वपूर्ण पक्ष भएको बताए । 

    नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले नवलपुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय गन्तव्यको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 


    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष डम्बरबहादुर केसी, सोम थापा र चिरञ्जीवी पोखरेलले नवलपुर क्षेत्रका पर्यटकीय गन्तव्य प्रवद्र्धनको पर्खाईमा रहेको बताउँदै गजेन्द्रमोक्ष धाम, वाल्मिकी आश्रम, त्रिवेणी धामलगायतका स्थलको गरिमा र महत्वलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । 

    पूर्वाधार विकासका क्रममा पनि ऐतिहासिकस्थलको प्राचीन मौलिकता कायम हुनेगरी गर्नुपर्ने उल्लेख गर्दै उनीहरूले नवलपुर क्षेत्रसँग पोखराको पर्यटकीय साझेदारीमा जोड दिए ।

    साताको लोकप्रीय