काठमाडौं / अहिले काभ्रेको तीनधारे झरना चर्चित छ । युवा युवती झरनामा छमछमी भइरहेको सामाजिक सञ्जालमा धेरै पोष्टहरु देख्न सकिन्छ । झरनाका तस्वीर र भिडियोहरु आएपछि झरनासम्म पुग्नेहरु बढ्न थालेका छन् ।
कहाँ छ तीनधारे झरना ?
यो काभ्रेको रोशी गाउँपालिका– ३ काफलडाँडामा पर्दछ । काठमाडौंबाट नजिकको दुरीमा रहेको सुन्दर रमणिय झरनाबारे स्थानीयलाई जानकार भए पनि बाहिरी मानिसहरुलाई कमै जानकारी थियो ।
तर, घुमफिर गर्न रुचाउने पारखीहरुका लागि अहिले भने यो झरना आकर्षणको केन्द्र बनेको छ ।
कोरोना भाइरसको ह्याङ हटाउन पनि काभ्रे आसपासका व्यक्तिहरु विशेषगरी त्यहाँ पुग्छन् । उनीहरुको मुडफ्रेस गर्ने लागि नयाँ गन्तव्यस्थल बनेको छ ।
चर्चासँगै कोरोना भाइरसलाई समेत बेवास्ता गर्दै हजारौं आन्तरिक पर्यटकहरु पुगेर आनन्द लिने क्रम जारी छ ।
तीनधारे झरना काभ्रेको सदरमुकाम धुलिखेलबाट करिब २५ किलोमिटर दुरीमा छ । विपी राजमार्गको काभ्रे भञ्ज्याङ सडकखण्डदेखि नै कच्चीबाटोमा यात्रा गर्नुपरेपनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरताले सबैलाई लोभ्याउँछ । सुन्दर नृत्य मानस्पटलमा नाच्छ । कठीन यात्राको कुनै पर्वाह देखिदैन ।
विशेष गरि काठमाडौं उपत्यका र बनेपा, पनौती, धुलिखेलका युवाहरु यस झरनामा गइरहेका छन् । यो झरनाको प्रचार भएपछि विभिन्न ग्रामिण भेकका मानिसहरु समेत यहाँ आउने क्रम जारी छ ।
प्राकृतिक सुन्दरतासँग लीन हुँन पाउँदा स्वर्गीय आनन्द नै भएको अनुभूति सुनाउँछन् आन्तरिक पर्यटकहरु ।
धेरै जसो पर्यटकहरु सुनेको भरमा बाटोभरि सोध्दै पुग्छन् । तीनधारे झरनाको फोटो र रमाइरहेको दृष्यले आफूलाई तानेको उनीहरु बताउँछन् ।
व्यापार बढ्यो, मोटरसाईकलको लर्को देखेर स्थानीय दंग
मोटरसाइकलमा तीनधारे झरनामा जानेहरुको लर्को लाग्छ । शुरुका दिनहरुमा केही वास्ता नभएपनि पछिल्लो दिनमा मोटरसाइकलमा त्यहाँ पुग्नेहरु बाक्लो हुन थालेको छ ।
नमोबुद्ध–९ गहतेका रत्न लामाले भन्छन्, ‘कोरोनाको कहरलाई समेत वेवास्ता गरेर प्राकृतिक सुन्दरताले कहाँ–कहाँको मान्छे तान्दो रहेछ ।’
कोरोना महामारीका कारण सबै पसलहरु बन्द भएर व्यापार शुन्य भइरहेको बेलो नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्र, गहते, रोशी गाउँपालिकाको फलामे साँघु, शिखर आम्बोटेमा व्यापार पनि बढेको छ ।
नमोबुद्धको दर्शन गर्दै यात्रा अघि बढ्दा हिमालको पनि राम्रोसँग अवलोकन गर्न सकिन्छ । अनि भकुण्डेबेसी बजार, तेमाल डाँडा हेर्दै अनि महाभारत पर्वतश्रृंखला समेत आँखाले हेर्न छुटाउँदैन । सुन्दर फाँट नागबेली खोल्चाहरु र ती बनफूलहरु हेर्न त्यहाँ पुग्ने सबै लालयित हुन्छन् । यी यस्ता कुराले यात्रालाई रमाइलो बनाउन सकिन्छ । झरना वरपर खेल्ने फुल पात सबै परि खेलिरहेको अनुभुति गर्न सकिन्छ । युवा युवतीको ढुकढुकी नबढाइरहन सक्दैन । लोभ्याउँछ मन सबैको
तीनधारे झरना किन भनियो ?
प्राचीन बजारको रुपमा रहेको दाप्चा बजार हुँदै शिखर आम्बोटेमा पुग्दा प्राकृतिक सुन्दरतासँग लीन भइसकेको हुन्छ ।
झरना भएको स्थानमा पुग्न १ किलोमिटर पैदल हिँड्नु पर्दछ । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको स्थानीयको भनाइ छ ।
दिनको कम्तीमा १ सय देखि ५ सय जना आन्तरिक पर्यटकहरु आउने गरेको २ हप्ता जति भएको छ । काठमाडौंबाट बिहानै यात्रा तय गर्ने हो भने झरनामा पुगेर साँझ फर्किन सकिने भएको ले यो काठमाडौंको उकुस मुकुस शान्त पार्न सकिन्छ ।
काठमाडौंदेखि ६० र धुलिखेलदेखि झरनासम्मको दुरी ३० किलोमिटर मात्र भएकोले छोटो बाइक ट्राभल गर्नेलाई मज्जा हुन्छ । अनि ग्रुपमा साथीहरुको ग्याङ उठाएर हिड्न अझै अर्को मज्जा ।
तर, झरनासम्मै पुग्ने मोटर बाटो भने छैन । केही दुरी पैदल हिँडेपछि मात्रै झरनासम्म पुग्न सकिन्छ । झरना हेर्ने बढेपछि गोरेटो बाटो केही सुधार गरिएको छ । त्यसबाहेक अरु कुनै संरचना बनाइएको छैन ।
तस्बिर सहयोग / रोशन सापकोटा-रासस