अभावले निर्माण गरेको सातु उद्योग : ‘मुनाफा छैन तर आफैँ श्रमिक आफैँ मालिक’ 

अभावले निर्माण गरेको सातु उद्योग : ‘मुनाफा छैन तर आफैँ श्रमिक आफैँ मालिक’ 

अर्थ डबली
सोमवार, बैशाख २० २०७८
अर्थ डबली
सोमवार, बैशाख २० २०७८ (अर्काइभ बाट)
  • अभावले निर्माण गरेको सातु उद्योग : ‘मुनाफा छैन तर आफैँ श्रमिक आफैँ मालिक’ 

    इलाम / माइजोगमाई गाउँपालिकाका जीतेन्द्र अधिकारीलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन । 

    images
    images

    कहिले कता, कहिले कता । न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि । शुरुमा ठेक्कापट्टाको काम गरे। कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च । एउटा सीमित घेरामा बसेर काम गर्न जीतेन्द्रको चित्त बुझेन । 

    केही समय युनिटी नामक संस्थामा काम गरे। कमाइ राम्रै थियो । कमाएको रकमले खान पुगेकै थियो । परिवार पालिएकै थिए । श्रीमती लक्ष्मी पनि युनिटी संस्थाकै क्यान्टिनमा काम गर्थिन्। 

    अकस्मात युनिटी संस्था बन्द भएपछि जीतेन्द्रको परिवारलाई हातमुख जोर्ने समस्या फेरि बल्झियो । जीवनमा अनेक समस्या आए पनि जीतेन्द्रले त्यही समस्याभित्रैबाट उपाय रचे । 

    बालबालिकाहरुले विद्यालयहरुमा खाजा लाने वस्तुका बारेमा हरेक परिवारमा चिन्ता हुने गर्दथ्यो । विद्यार्थीले खाजाका नाममा बाबुआमासँग दिनहुँ रकम मागेको देख्थे । 

    जति पैसा दिएपनि उनीहरुको चित्त बुझ्दैन थियो । उनलाई लाग्थ्यो, “एकातिर पैसाको नाश, अर्कातिर तयारी खाजाले गर्दा स्वास्थ्यमा खराब ।” बजारका तयारी खानपानमा बालबच्चा झुम्मिएका देख्दा उनी चिन्तित हुन्थे। यत्तिकैमा उनले सोचे, विद्यार्थीका लागि केही अर्गानिक खाजा बनाउने । के बनाउने ? कसरी बनाउने ? अनेक प्रश्न उठे । 

       यत्तिकैमा बाल्यकालमा औधी मन पर्ने सातुको सम्झना आयो । गाउँको सातु, त्यो पनि मकैको । उनले बालबच्चालाई खाजा पनि हुने, आफूलाई रोजगार पनि । अर्काको अफिसमा काम पनि गर्नु नपर्ने । एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खानाको मोह ।


     जीतेन्द्रले आफू मात्रैले यो कुरा गर्न चाहेनन् । माइजू नाता पर्ने सेवी राईलाई पनि यसबारे कुरा राखे । 

    राईले पनि जीतेन्द्रको कुरालाई स्वीकारिन्। जीतेन्द्र र सेवी मिलेर उद्योग खोल्ने निर्णयमा पुगे । 

    उद्योग खोल्ने कुरा सजिलो थिएन । न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा दुबै जना अनभिज्ञ थिए । तैपनि उनीहरु यसैमा डटेर लागे । 

    उनीहरुले सातु उद्योग खोले । उद्योगमा मकै मात्र होइन गहुँ, कोदो, चना, भटमास, बदाम, जौ मिश्रित बनाउन थालियो । शुरुमा पाँच लाख रुपैयाँको लगानीमा व्यवसाय शुरु भयो । शुरुआतमा सातुले खासै बजार लिन सकेन । तैपनि हिम्मत हारेनन्, गरिरहे । 

    तीन वर्षअघि उद्योग खोल्दा जीतेन्द्र र सेवीले अनेक भनाइ सुन्नुपर्यो । आधुनिकतामा रमाएको शहरी क्षेत्रमा सातु नौलो थियो । धेरैले प्रयोग गर्न चाहँदैन थिए । फाट्टफुट्ट इलाम बजारमा बिक्न थाल्यो । 

    अहिले सुमीले घरायसी कारण उद्योगको काम छाडेपछि जीतेन्द्र आफैँले सबै काम गरिराखेका छन् । 

    खाद्यवस्तु मात्र होइन, जडीबुटीजन्य वस्तु मिसेर सातु बनाइन्छ । जीतेन्द्रको उद्योगमा पाँचथरबाट मकै, तराईबाट गहुँ, इलामको चमैताबाट जौ ल्याएर त्यसलाई पिसी सातु बनाउने गरिन्छ । 

    उद्योगमा एकै किसिमको होइन, फरकफरक तबरको सातु बनाउने गरिन्छ । कुनै कोदोको पिठो मिश्रित, कुनै मधुमेहको बिरामीले खान मिल्ने ‘सुगर फ्री’ सातु ।

     जीतेन्द्र भन्छन्, ‘‘स्वास्थ्यवद्र्धक सामग्री मात्र बेच्छु । जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु ।’’ आडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै माग हुने गरेको उनको भनाइ छ ।

    अहिले उद्योगमा जीतेन्द्रले अर्का एक जनालाई पनि रोजगारी दिएको छ । शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि सहयोग गर्छन् । पारिवारिक सहकार्यमै उद्योग चलेको छ । 

    उद्योगको काम झन्झटिलो छ तर जीतेन्द्र झन्झटिलो मान्नु हुन्न । परिश्रमले काम गरेर खानुपर्छ भन्ने बुझेका जीतेन्द्र निरन्तर खटेर सातु बनाउछन् ।

    सबै खाद्यवस्तु मेसिनमा हाल्नु अघि भुट्नु पर्छ । भुट्नका लागि आधुनिक सामग्री छैनन् । पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेष किसिमको टिनबाट बनाइएको सामग्री) प्रयोग गर्नुपर्छ । 

    हुन त जीतेन्द्रले होल्र्याङ्गेको विकल्प नखोजेका होइनन् । आधुनिक होल्र्याङ्गे किन्न भारतसम्म पनि पुगे । 

    धेरै मूल्य पर्ने भएकाले अहिले पुरानै तरिकाबाट भुट्नु गरिएको छ । जीतेन्द्र बिहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुट्छन् । 

    दिउँसो सातु बनाउछन्। सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेर मात्र बजार पु¥याउन योग्य हुन्छ । 

    जीतेन्द्रको बसाइ इलाम नगरपालिका­ ७ धोवीधारामा छ भने उद्योग नगरपालिका­८ मा रहेको छ । उद्योगबाट मासिक रु २० हजार हाराहारीमा नाफा हुने गरेको उनी बताउछन् । 

    ‘‘मुनाफा धेरै नभएपनि आफैँ मालिक, आफैँ श्रमिक भएर काम गर्दाको आनन्द नै ठूलो छ’’, उनी भन्छन् । उद्योगका लागि मासिक रु दुई हजार घर भाडा बुझाउनुपर्छ ।

    उनको उद्योगबाट ७०० ग्राम र ५०० ग्रामका सातुका प्याकेट उत्पादन गरिएको छ । ७०० ग्रामलाई रु २५० र ५०० ग्रामलाई रु २०० पर्छ । चिनीरहित सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ । यसमा जीतेन्द्रले विभिन्न जडीबुटी मिसाइएको हुन्छ ।  

    आधुनिकतामा रमाइरहेको समाजसँग जुध्न त्यति सहज छैन । ग्रामीण भेगमा प्रयोग हुने सातुलाई शहरी क्षेत्रका वासिन्दाले त्यति रुचाउँदैनन्। 

    आधुनिकताका नाममा तयारी खानेकुरामा रमाउने नयाँ पुस्तालाई सातुको महत्व बुझाउन जीतेन्द्र विभिन्न ठाउँमा पुग्ने गर्छन् । 

    विस्तारै सदरमुकामलगायत फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ ।

    अहिले उद्योगको बजारसँगै लगानी पनि बढेको छ । झण्डै रु १० लाख लगानी पुगेको उनी बताउछन् ।

    भविष्यमा आफ्नो व्यवसायले विस्तारै बजार पाउनेमा उनी विश्वस्त छन् ।
    ­­­

    साताको लोकप्रीय