बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान 

बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान 

अर्थ डबली
सोमवार, आषाढ ७ २०७८
अर्थ डबली
सोमवार, आषाढ ७ २०७८ (अर्काइभ बाट)
  • बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान 

    गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    images
    images

    बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।

    अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ (इप्पान)का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् ।

    बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो।

    बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत् गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत् उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत् उत्पादन नै स्थगित गर्नुपरेको छ । 

    ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन् ।

    बाढीकै कारण प्राधिकरण मातहतका काली गण्डकी ए, मस्र्याङ्दी, मध्य मस्र्याङ्दीलगायतका आयोजना केही समय बन्द रहे पनि अहिले उत्पादन सुचारु भइसकेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । 

    “पानीको बहाव घटेपछि हाम्रा आयोजना पूर्ण क्षमतामै सञ्चालनमा फर्किएका छन् तर केही निजी प्रवद्र्धकका केही आयोजनाबाट विद्युत् आपूर्ति हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “कतिपय मर्मतसम्भारका लागि लामो समय लाग्छ भन्नुभएको छ । ”

    बाढीका कारण इन्द्रावती तेस्रो (७.५ मेगावाट), राधी (४ मेगावाट) मिदिम करापु (३ मेगावाट) ५ मेगावाटको घलेम्दी (५ मेगावाट), तल्लो मोदी (१० मेगावाट), १३ मेगावाटको मद्क्यु खोला (१३ मेगावाट)लगायतका साना आयोजना पनि बन्द हुन पुगेको जनाइएको छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

    साताको लोकप्रीय