जोन क्षेत्रकै आलुमा सङ्कटः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर फ्लप

जोन क्षेत्रकै आलुमा सङ्कटः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर फ्लप

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • जोन क्षेत्रकै आलुमा सङ्कटः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर फ्लप

    काठमाडौं/  सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि उपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । 

    images
    images
     

    यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा भारी ह्रास आए पछि स्थानीय कृषक चिन्तित छन् । अहिले आलुको जोनमै आलुको सङ्कट भएको स्थानीयले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यहाँ फ्लप देखियो ।

    बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । 

    बागलुङमा छवटा आलुका जोन क्षेत्र छन् । जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएपछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको सङ्कट भएको किसानले गुनासो गरेका छन् । 

    यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिए । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए”, बुढाले भने, “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।” 

    बुढाका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरुप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएका कारण आलुको बीउ मात्रै जोगाइएको बूढाको भनाइ छ । 

    बूढाले मात्रै झण्डै १०० रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आएको छ ।  बूढाजस्तै ताराखोलाका सयौँ किसानले बिक्री गर्नेभन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

    अहिले बागलुङमा आलु उत्पादनमा भारी गिरावट आएपछि प्रतिकिलो आलुको खुद्रा मूल्य रु १०० पर्न गएको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताए । 

    जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आएपछि अन्य जिल्लाबाट आलु मगाएर बिक्री गर्दा बढी मूल्य पर्न गएको जैशीको भनाइ छ । आलुको बीउसमेत बचाउन मुस्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले जानकारी दिए । 

    करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आएका उनले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन समस्या भएको बताए । धेरैले व्यावसायिक रुपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको र यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गरे ।  

    यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलु पाउनै मुस्किल रहेको स्थानीय रेशम रानाले जानकारी दिए । “पाउँनालाई खुवाउने आलुसमेत छैन बेच्नेको त कुरै छाडौँ”, रानाले भने, “आलुबेचेरै जीविका चलाउँदै आएका यहाँका कृषिक यस वर्ष आलु नफल्दा मारमा रहेका छन् ।” आलुको छवटा जोनबाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोकलाई आलुको पकेट क्षेत्रका रुपमा लिइएको छ । 

    कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा नसोचेको गिरावट आएको बताए । “यो वर्ष पूर्व अनुमान गरिए भन्दा अत्यधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो”, काफ्लेले भने, “जसका कारण बागलुङका आलु जोनमै ६० प्रतिशतभन्दा बढी आलु उत्पादन घटेको छ । 

    यसले गर्दा अहिले आलु खान मात्रै होइन, बीउसमेत कसरी बचाउने भन्ने पिरलो किसानमा देखिएको छ ।” अहिलेको समस्यामा किसानलाई कसरी राहत अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

    आलुको जोन हुनका लागि ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ आलुको पकेट क्षेत्र हुनका लागि १० हेक्टर जमिनमा आलुखेती गरेको हुनुपर्दछ ।  

    साताको लोकप्रीय