कवि महेशराज खरेलको ‘मनको किरण’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा 

कवि महेशराज खरेलको ‘मनको किरण’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा 

अर्थ डबली
आइतवार, आषाढ २७ २०७८
अर्थ डबली
आइतवार, आषाढ २७ २०७८ (अर्काइभ बाट)
  • कवि महेशराज खरेलको ‘मनको किरण’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा 

    काठमाडौँ / कवि महेशराज खरेलद्वारा रचित ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भएको छ । 

    images
    images

    साहित्य सुधा नेपालको आयोजनामा असार २५ गते शुक्रवार सम्पन्न भएको उक्त विशेष समारोहको अध्यक्षता साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले ले गरेकी थिइन् । 

    कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा. गोविन्दराज भट्टराई, प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ डा.गीता त्रिपाठी, वरिष्ठ साहित्यकार कलानिधि दाहाल, रमेश पोखरल, कौशल्या रिसाल, मनिषा प्रसाईँ, नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर तथा साहित्यकार चिन्तामणि सिवाकोटी, कमल खरेल, रामेश्वर अर्याललगायतको उपस्थिति रहेको थियो । 

    सो कार्यक्रममा कुलपति उप्रेतीले ‘मनको किरण’ कवितासङ्ग्रहको लोकार्पण गर्दै लामो समय पेसामा समर्पित गरेर अवकाशपछि चिरस्थायी रहने साहित्य सिर्जनामा फर्किएका कवि खरेलको कृतिले खारिएका अनुभवलाई समेटेको बताए । 

    प्रकाशकका तर्फबाट कौशल्या रिसालले अनुभवले खारिएका परिपक्व कवि महेशराज खरेलका कविताको पाण्डुलिपि हेर्दा यी कविताहरू प्रकाशनयोग्य भन्ने लागेरै सङ्ग्रह प्रकाशन गरिएको धारणा राखिन् । 

    लोकार्पित कृतिका बारेमा टिप्पणी गर्दै प्राज्ञ डा.गीता त्रिपाठीले मुक्त लयका ५२ ओटा कविता र एक सयओटा मुक्तक सङ्ग्रहित यस सङ्ग्रहलाई नियाल्दा कवि चेतननशील स्रष्टाका रूपमा चिनिएको बताइन् । उनका अनुसार सङ्ग्रहमा जीवनदर्शनका कविता बढी परेका छन् ।

    अन्तरमनका अनुभूतिलाई इमानदारीका साथ प्रस्तुत गरिएको छ । एउटै कवितामा विषयको विविधता रहेको पाइन्छ । संस्कृति, जीवनदर्शन अनि समसामयिक युगजीवन कवितामा एकैपटक आएको पाइन्छ र छरिएर पनि विषयलाई समेट्न सकेको पाइन्छ ।

    नयाँ नयाँ विम्बहरूको प्रयोग गरिएको छ । जीवनचेतना र युगचेतनाका कविका कविता केही निकै लामा छन् त्यसैले केही छोट्याउने र विषयको स्पष्टता आवश्यक रहेको छ । कविले तिमी पात्रको अधिक प्रयोग गरेका छन् । कविताहरू काव्यात्मक, व्यञ्जनात्मक र व्यङ्ग्यात्मकसमेत रहेका छन् । 

    पेसाबाट अवकाश प्राप्त गरेपछि साहित्यमा आएका कवि खरेललाई स्वागत गर्दै प्राज्ञ त्रिपाठीले भविष्यमा थप परिमार्जन हुँदै जाने अपेक्षा गर्न सकिने बताइन् । 

    त्यस्तै, साहित्य सुधाका सल्लाहकार कलानिधि दाहालले कविलाई सिर्जनामा निरन्तरता र गाढापन ओओस्, प्रकृति र जीवनलाई गहन अध्ययनका साथ तादात्म्य गर्दै अब्बल सिर्जना हुन सकुन् भन्ने शुभकामना दिए । 

    यसैगरी साहित्य सुधा नेपालका संरक्षक प्राज्ञ डा.देवी नेपालले लोकार्पित कवितासङ्ग्रहका कवि परिपक्वतापछिको जिम्मेवारीबोधका साथ आएको बताए । 

    उनले भने “हुन त स्रष्टा आफैँ पाठक तथा समालोचक हुन्छ । त्यति हुँदा हुँदै पनि सिर्जनामा परिष्कारको सम्भावना चाहिँ रहि नै रहन्छ । कला भनेको गहिरिँदै जाने कुरा हो र त्यसका लागि साधना अपरिहार्य हुन्छ ।”

    प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले ताप्लेजुङमा जन्मेर काठमाडौँ प्रवेश गरी राष्ट्रिय वाणिज्य बैङ्कमा लामो समय जागिरे जीवन बिताएर अवकाश प्राप्त गरेपछि कविको अन्तस्करणको चेतनाले साहित्यसिर्जनाका क्षेत्रमा फर्काइदिएको बताए । 

    उनले भने “उहाँको सिर्जनायात्रा ‘कला जीवनका लागि’ भन्ने उद्देश्यले प्रभावित रहेको छ । आज लोकार्पित कवितासङ्ग्रहमा बाउन्नओटा फुटकर कविता र एक सयओटा मुक्तक समेटिएका छन् । युगीन यथार्थबोधका कविता यसमा रहेका छन् । कवितामा समाजका यथार्थको प्रस्तुति अब्बल रहेको छ भने प्रेमप्रणयको पक्षलाई पनि निकै उच्चताका साथ अभिव्यक्त गरिएको छ ।

    देशभक्तिको, राष्ट्रप्रेमको भावना यत्रतत्र अभिव्यक्त भएको छ । हुन त कवि आफैँले समालोचक भएर सिर्जना गरेको हुन्छ । यस सङ्ग्रहमा पनि दृष्टिकोणका हिसाबले विचारको सम्यक सम्प्रेषण गर्न कविले कविता सिर्जना गरेका छन् । यी कविताहरूमा समाज रूपान्तरणको चेतना सम्प्रेषित भएको पाइन्छ । कवितामा प्रयुक्त भाषा खारिएको, माझिएको र प्राञ्जल छ; कविता बोधगम्य छन् ।

    कताकती दृष्टिकोणमा विपर्यास र अलमल पनि पाइन्छ तापनि २०७५ पछि कविको सिर्जनासक्रियता बढी भएको देखिन्छ । कवितामा रहेका विचार र कलाका कसरमसरहरू परिष्कारका माध्यमबाट हट्दै जान्छन् तर यो सङ्ग्रहमा रहेका मुक्तकको कलात्मक सामथ्र्य चाहिँ बढी सशक्त रहेको देखिन्छ ।”

    यसैगरी प्रा.डा.गोविन्दराज भट्टराईले भने “लेखन सवतन्त्र कुरा हो, लेखक बहुआयामिक हुन्छ त्यसैले लेखकीय स्वतन्त्रता कायम रखेर स्रष्टाले सिर्जना गर्नुपर्दछ । कवि महेश खरेल अध्ययनशील स्रष्टा हुन् र उनका यस सङ्ग्रहका कविता मध्यमस्तरका रहेका छन् ।”

    त्यस्तै, कवि खरेलले आफ्नो कविता सङ्ग्रह आफू छिप्पिएको मान्छे तर कलिलो प्रयत्न भउको बताउँदै प्रकाशन र कविताको कविताबारे टिप्पणी गर्ने तथा कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिए । उनले आमाको र दिवङ्गत बुबाको ‘निष्ठा र इमानमा अब्बल हुनू’ भन्ने आशीर्वादले अघि बढ्न प्रेरित गरेको बताए । 

    साताको लोकप्रीय