कोभिडका कारण बजेट अधिवेशन हुन सकेन

कोभिडका कारण बजेट अधिवेशन हुन सकेन

अर्थ डबली
बुधवार, आषाढ ३० २०७८
अर्थ डबली
बुधवार, आषाढ ३० २०७८ (अर्काइभ बाट)
  • कोभिडका कारण बजेट अधिवेशन हुन सकेन

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ । 

    images
    images

    कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए ।  

    एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताए । 

    मङ्गलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाउनुभएका पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना सङ्क्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन नसकेको पालिकाले जनाएको छ । अध्यक्ष कडरिया कोरोेना सङ्क्रमणमुक्त भएपछि उहाँले आजका लागि बजेट अधिवेशन बोलाएका छन् । 

    यद्यपि पालिकाका विभिन्न स्थानमा सङ्क्रमणको दर बढ्न थालेपछि आजका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगन गरिएको लिङ्देनले बताए ।  ताप्लेजुङका नौमध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आव २०७८÷७९ का लागि असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

    गाउँपालिकाको नाम सच्याउन कार्यदल गठन

    जिल्लाको सिरीजङ्घा गाउँपालिकाले गाउँपालिकाको नाम सच्याउन एक कार्यदल गठन गरेको छ । पालिकाको नाममा व्याकरणमा सुधार गर्नुपर्ने सारोकारवालाले आवाज उठाएपछि कार्यदल गठन गरिएको हो । यही असार ३ गते गाउँपालिकाको नियमित गाउँसभा (नवाँै)को पहिलो बैठकले पालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेसँगै गाउँपालिकाको नाम सच्याउन लागिएको हो ।

    लिम्बू भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरीजङ्घा सिं थेबेको सम्मान गर्दै गाउँपालिकाको नाम राख्ने क्रममा व्याकरणीय दृष्टिले शुद्ध नभएकाले सच्याउनुपर्ने सारोकारवालाहरुको माग भएकाले नाम परिवर्तन गर्नका लागि कार्यदल गठन गर्नुपरेको गाउँपालिकाले जनाएको छ । 

    तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कार्यदलले अध्ययन तथा अनुसन्धान गरेर उपयुक्त नाम पालिकालाई उपलब्ध गराउने जिम्मेवारी दिएको छ । सरोकारवालासँग गहन छलफल तथा परामर्शपश्चात तोकिएको समयावधिमा नै नाम उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

    गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । गाउँपालिका–५ का वडाध्यक्ष पूर्णसिंह माबो लिम्बूको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदल सदस्यमा कार्यपालिका सदस्य विमला साम्यू र तेल्लोक माध्यमिक विद्यालयका प्रअ रुकमान थेबे रहेको गाउँपालिका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

    कार्यदलको सल्लाहकारमा भाषा तथा संस्कृतविद् येहाङ (धनप्रसादं) लावती र अर्जुन मावोहाङ तथा सहप्रध्यापक अमर तुम्याङ छन् ।  लावती फिदिम नगरपालिका–९ पाँचथर निवासी छिन्  मावोहाङ लालीगँुरास नगरपालिका–३ तेह्रथुमका र तुम्याङ सिरीजङ्घा गाउँपालिका–७ खेवाङका छन् । 

    साताको लोकप्रीय