फुङ्लिङ नगरपालिका : ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै

फुङ्लिङ नगरपालिका : ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै

अर्थ डबली
शुक्रवार, फाल्गुण १४ २०७७
अर्थ डबली
शुक्रवार, फाल्गुण १४ २०७७ (अर्काइभ बाट)
  • फुङ्लिङ नगरपालिका : ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै
    ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक पालुङ्वा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 
     
    सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–३ पालुङ्वा चोकमा रहेको पालुङ्वा दरबारको संरक्षणमा तथा प्रवद्धर्नमा राज्यका निकाय तथा सम्बन्धित पक्षबाट पनि समेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।  
     
    संरक्षणकै अभावमा १५० वर्षअघि निर्माण भएको सो दरबारको संरचना दिन प्रतिदिन भत्किँदै गएको उनीहरुले बताएका छन् । 
     
    दरबारको संरक्षण साथै प्रवद्र्धन गरिएमा पर्यटकीय गन्तव्यसमेत बन्नसक्ने उनीहरुको बुझाइ रहेको छ । आजभन्दा १६१ वर्षअघि अर्थात् विसं १९१६ मा धर्मजीत पालुङ्वाले सो दरबार निर्माण गरेका हुन्। 
     
    हुकुमी शासन चल्ने त्यसबेलाको समयमा धर्मजीतले आफ्ना भाइभारदारमा शासन चलाउन उक्त दरबार बनाएको  बताइन्छ । हाल झिङ्गटी (घर छाउने इँटा) ले छाएको छाना भत्किँदै गएको छ । 
     
    छाना भत्किएका कारण वर्षात्मा पानी चुहिएर काठ मक्किन थालेको छ । अहिले सामान्य सरसफाइभन्दा अन्य संरक्षणसम्बन्धी कुनै काम नभएको स्थानीयवासी सूर्यबहादुर पालङ्वाले बताए। 
     
    सूर्यबहादुर सोही दरबार निर्माणकर्ता धर्मजीतका पाँचौँ पुस्ताका सन्तति हुन् । उनका  पिता–पुर्खाले नै दरबारको संरक्षणमा ध्यान नदिँदा संरचना थप जीर्ण बन्दै गएको हो । 
     
    एउटा जेलघर कोठा (हिरासत), छ ढोका, पाँच झ्याल र १४ वटाभन्दा बढी खोपी रहेको दुईतले दरबारको संरचना धराप बन्दै गएको उनको भनाइ छ । 
     
    संरचना धराप बन्दै गएपछि जस्तापाताको छाना र बारबेरासहित छाल्की बनाएर त्यहीँ बस्दै आएको पनि उनले बताए । उनले आफ्नो पुर्खाले बनाएको संरचनालाई पछिल्लो समयमा मात्र ‘पालुङ्वा दरबार’ का रुपमा चर्चा हुन थालेको पनि बताए । 
     
    उनका अनुसार पालुङ्वा दरबारको चर्चा हुन थालेपछि भने संरक्षण गर्नुपर्ने प्रसङ्ग उठ्न थालेको हो । पछाडि स्थापना भएको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानले दरबारको संरक्षणमा अहिले चासो दिँदै आएको बुझिएको छ । 
     
    दरबारको स्वामित्व प्रतिष्ठानलाई हुने गरी पहल भइरहेको पनि बताइएको छ ।
     
    प्राचीन इतिहास बोकेको पालुङ्वा दरबारको संरक्षणका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा भने रकम विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट दरबारको संरक्षण योजनामा रु २० लाख रकम विनियोजन भएको बताइएको छ । 
     
    विभागबाट विनियोजित सो रकमको कार्यान्वयन गर्न भने अझै कुनै काम शुरु भएको छैन । 
     
    दरबार संरचना भएको जमीन व्यक्तिका नाममा भएकाले बजेट कार्यान्वयनमा समस्या रहेको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानका सदस्य हर्कराज पालुङ्वाले बताए। 
     
    दरबार संरक्षणका लागि सरकारी निकायबाट प्राप्त भएको रकम कार्यान्वयन गर्नलाई प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन एक समिति नै निर्माण गरेर लागिपरेको पालुङ्वाले बताए । 
     
    पालुङ्वा समुदायको इतिहास बोकेको दरबारको संरक्षण भएमा आफ्नो समुदायको प्रतिष्ठासँगै ऐतिहासिक स्थलका रुपमा स्थापित हुने उनको बुझाइ छ ।       

     

    images
    images

    साताको लोकप्रीय