अग्लो ढुङ्गाले तान्यो  एकै दिनमा १० हजार भन्दा बढी पर्यटक 

अग्लो ढुङ्गाले तान्यो  एकै दिनमा १० हजार भन्दा बढी पर्यटक 

अर्थ डबली
सोमवार, श्रावण ११ २०७८
अर्थ डबली
सोमवार, श्रावण ११ २०७८ (अर्काइभ बाट)
  • अग्लो ढुङ्गाले तान्यो  एकै दिनमा १० हजार भन्दा बढी पर्यटक 

    दमौली/ सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचारको प्रभाव कति छ भन्ने तनहुँको मानुङकोटले प्रमाणित गरिसक्यो । केहीवर्ष अगाडिसम्म सुनसान रहने मानुङकोटमा गतवर्ष पर्यटकको चहलपहल ह्वात्तै बढ्यो । 

    images
    images

    एकैदिन १० हजार भन्दा बढी मानुङकोटको डाँडा उक्लिए । मानुङकोट पहिला पनि थियो, तर प्रचारको कमीले ओझेलमा परेको थियो । 

    पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण धेरै ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । त्यसैको पछिल्लो उदाहरण हो भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुङ्गा । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

    दमौलीबाट त्यस ठाउँसम्म घुम्न पुगेका रोहित श्रेष्ठले उद्यान निकै आकर्षक लागेको बताए । “सामाजिक सञ्जालमा तस्वीर आएपछि त्यस ठाउँसम्म पुग्ने इच्छा लागेको थियो, त्यहाँ पुग्दा निकै आकर्षक लाग्यो”, उनले भने 

    ‘घाङ्च ल्हुम’ भनेको मगर भाषामा अग्लोे ढुङ्गा हो । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्व कालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ । 

    जङ्गलमा बेवारिसे ढुङ्गा सिङ्गारिएका र चिटिक्कको पार्क बन्ला भन्ने कल्पनासमेत नभएको वडा सदस्यसमेत रहेका स्थानीयवासी बाबुराम रानाले बताए । 

    “जङ्गलको बीचमा थियो, पहिला पहिला जङ्गल फाँडेर देखिने बनायौ , अहिले उद्यान बनेको छ, यस्तो राम्रो उद्यान बन्ला भनेर कसैले चिताएका थिएनौँ”, उनले भने । 

    गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङको पहलमा यस ठाउँमा उद्यान बनेको हो । गुरुङकै वडामा पर्ने यस ठाउँमा बेवारिसे अवस्थामा रहेको ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो । कार्यक्रमका सिलसिलामा पटकपटक गाउँ आउँदा गुरुङले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने सोच बनाएका थिए । 

    प्रदेश सरकारको रु २० लाखको लगानीमा उद्यान निर्माण गरिएको छ । उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल शुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।  

    “सामाजिक सञ्जाल, सञ्चारमाध्यममा यस ठाउँको तस्वीर प्रकाशन भएपछि आन्तरिक पर्यटक तानिएका छन्”, उनले भने, “जिल्लाका विभिन्न ठाउँबाट आउने क्रम शुरु भएको छ ।”

    उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी र चराको चुच्चोबाट पानीको फोहरा झार्ने संरचना निर्माण गरिएको छ । 

    घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकरी दिए ।  यहाँ पैदल मार्ग बनाइएको छ भने चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ । 

    अग्ला चुच्चे ढुङ्गालाई सिङ्गारेर बनाइएको उद्यानले पर्यटकलाई लोभ्याएको उनले बताए । “प्राकृतिक हिसाबले ढुङ्गा आफैमा आर्कषक थियो, यसलाई व्यवस्थित गर्दै उद्यान बनाएका छौ”, उनले भने। 


    उद्यानलाई सही उपयोग गर्नेसके स्थानीयवासीको आयआर्जनको स्रोत बन्न सक्ने उनले सु्झाव दिए । “यहाँको बस्ती पिछडिएको छ, पहिले त स्थानीय उत्पादन बढाउन आवश्यक छ, उद्यानलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बनेमा रोजगारीसँगै आत्मानिर्भर बन्न सघाउछ”, काफ्लेले भने । 

    यही वडामा रहेको चमेरो गुफा संरक्षणका लागि कार्यालयले चमेरा अवलोकन विन्दु बनाएको छ । चमेरा हेर्नलाई गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । 

    चमेरा लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । सो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ ।

     गतवर्ष विनियोजित रु २० लाख बजेटले ४०० मिटर रेलिङसहितको सिँढी र चमेरा अवलोकन विन्दु निर्माण गरिएको हो । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष थापाले जानकारी दिए ।  

    निकट भविष्यमै सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको दृश्यावलोकन स्तम्भ, इलुङ झरना हुदै पाथर्दी सामुदायिक होम स्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको उनले बताए । 

    “एक दिने पदयात्राका लागि यी गन्तव्य उपयुक्त छन्”, उनले भने , “पूर्वाधार थप र प्रवद्र्धनमा अब हाम्रो ध्यान हुनेछ ।” पाथर्दी गाउँ बोयर बाख्राको पकेट क्षेत्र हो । वडावासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताए । कृष्ण पौडेल 

    साताको लोकप्रीय