जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

    रोल्पा/ जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् ।

    images
    images
    images

    “पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती शुरु गरेका हौँ, कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक औषधिले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको हुँदा जलवायुमैत्री खेतीको शुरुआत गरेका छौँ”, सुनिलस्मृति–६ गजुलका अगुवा कृषक इन्द्रबहादुर थापाले  भने । 

    उनका अनुसार जलवायु  परिवर्तनका  कारण खेतबारीमा देखिएको मिचाहा प्रजातिले कृषकलाई हैरान बनाएको थियो । त्यही  मिचाहा प्रजातिलाई मलमा उपयोग गर्न सकिने सीप  सिकेपछि अचेल उनीहरुलाई हैरानी सहनुपरेको छैन । 

    “मिचाहा प्रजातिलाई बायो चार्टका रूपमा मल बनाएर खेतबारीमा प्रयोग गर्छौं”, थापाले भने । मिचाहा प्रजातिलाई काटेर खाल्डोमा जम्मा गरी खरानी नपर्ने गरी जलाएपछि  आएको अँगार खेतबारीमा मलका रूपमा प्रयोग गर्ने थापाले बताए । 

    त्यसरी बनेको अँगारमा सूक्ष्म जीवाणुहरु बस्न सक्ने ठाउँ रहने भएकाले बोटबिरुवालाई फाइदा हुने गरेको कृषकको भनाइ छ । अँगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्र्रता पनि रहिरहन्छ । गाईको मलमूत्र, भेली र बेसनको पीठो मिसाएर झोल मलसमेत प्रयोग हँुदै आएको छ । त्यस्तो मल किसानहरुले सात दिनमा तयार गर्छन् । 

    त्यसरी बनेको मल हरेक बिरुवामा सिञ्चन गर्छन् । उनीहरुले कीटनाशक औषधिको सट्टा आफैँले तयार गरेको औषधि प्रयोग गर्छन् । तरकारी खेतीमा लाग्ने मित्र जीवलाई बचाएर शत्रु कीरो मार्न पानी पासो, बत्ती पासोलगायत विभिन्न पासो प्रयोग गर्ने गर्दछन् ।   

    यस्तो प्रविधि प्रयोग गरेर आफूले उत्पादन गरेको जैविक तरकारी अन्य तरकारीभन्दा महँगो हुने हँुदा बजारमा केही समस्या हुने गरेको थापाको भनाइ छ । जैविक तरकारीका रूपमा प्रमाणीकरणसहित स्टिकर टाँसेर काठमाडौँ आपूर्ति  गर्ने धोको रहेको तर यो काम एक्लो प्रयासले प्रयासले मात्रै सम्भव नभएको थापाले बताए ।  “स्थानीय सरकारले सहयोग गरे जैविक उत्पादनको प्रमाणीकरण गर्न सकिन्थ्यो”, उनले भने । 

    जलवायु परिवर्तनमैत्री खेतीमा लागेका किसानहरुलाई पहाडी साना किसानका लागि अनुकूलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईंले जानकारी दिए ।  

    मानव स्वास्थ्य र वातावरण नबिग्रने गरी किसानले गर्दै आएको खेती प्रणाली जलवायु अनुकूलनका लागि महत्वपूर्ण सिकाइ रहेको गुरागाईं बताउछन् । 

    सो गाउँले अभ्यास गर्दै गरेको जलवायुमैत्री खेती तथा अनुकूलनका उपायहरु वडाका अन्य बस्तीमा पनि विस्तार गर्न आवश्यक रहेको सुनिलस्मृति–६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाइ छ । गजुलका किसानहरू वडाका अन्य कृषकका पनि प्रेरणाका स्रोत बन्नुभएको सुवेदीले बताए ।  

    “उनीहरुको प्रविधि र सीप विस्तार गरेर वडालाई नै जलवायुमैत्री ग्राम बनाउने सोचमा छौँ”, वडाध्यक्ष सुवेदीले भने । 

    यस्तो प्रविधि अपनाएर खेती गर्ने कृषकहरुले समूह बनाएर अनुभव आदानप्रदान गर्दै आएका छन् । तीस जना  कृषक संलग्न रहेको सो समूहले हरेक १५ दिनमा बैठक बसेर अनुभव आदानप्रदान गर्नुका साथै आफूले जानेको प्रविधि  तथा सीप पनि हस्तान्तरण गर्ने गर्छन् ।  

    साताको लोकप्रीय