नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

अर्थ डबली
बुधवार, श्रावण २० २०७८
अर्थ डबली
बुधवार, श्रावण २० २०७८ (अर्काइभ बाट)
  • नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

    काठमाडौ/ कोरोना महामारीबीच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो । 

    images
    images

    आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा छ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो । 

    सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट  होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।


    पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौँमा १७५ गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ । 

    उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् । 

    अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउनुहुन्छ । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।  

    निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् । 

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

    साताको लोकप्रीय