ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८
अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८ (अर्काइभ बाट)
  • ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

    बाँके/  बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ । 

    images
    images

    कोठियाघाटस्थित कर्णाली गेरुवा नदी पार गरेर करिब एक किलोमिटर टाढा पर्ने रामजाने चोकदेखि उत्तर करिब २२ किलोमिटरको दूरीमा ओखरिया इन्टेक क्षेत्र पर्छ । 

    राजापुर बजार क्षेत्रबाट पनि यहाँ पुग्न सकिन्छ । बिदाको समय र चाडपर्वका बेला यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गर्छ । चाडबाडको बेला वनभोज खाने र रमाइलो गर्नेको भीड नै हुने गरेको स्थानीयवासी बताउँछन् । त्यहाँको हरियाली र सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्न पर्यटक तँछाडमछाड नै गर्छन् । 

    युवायुवती होस् वा जो कोही फोटो सेल्फी खिच्न व्यस्त हुन्छन् । इन्टेक क्षेत्रमा प्रायः चिसो हावा बहन्छ । हरियाली, शान्त वातावरणमा, चिसो हावा, खुला चौर यस क्षेत्रको मुख्य विशेषता हो । यहाँ राखिएको गैँडाको मूर्ति, रङ्गीन आराम बेञ्च, नहरको मुहान र कर्णाली नदीको दोभानले सबैको मन लोभ्याउने गर्छ । यहाँबाट कर्णाली चिसापानीको एक खम्बाको पुल पनि देखिन्छ ।

    यो क्षेत्र कर्णाली नदी र गेरुवा नदीको दोभानमा पर्छ । इन्टेकको दाहिने तर्फबाट गेरुवा नदी बगेको छ भने बाँयातर्फबाट कर्णाली नदी बगेको छ । इन्टेकको दाहिने क्षेत्र निकुञ्ज पर्छ । 

    दुवैतर्फ नदी र जङ्गल भएकाले यो क्षेत्र निकै शान्त र सुन्दर छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा यहाँ अलि बढी चिसो महसुस हुन्छ । नदी बगेको कलकल आवाज, निकुञ्जका वन्यजन्तु र चराको आवाजले यहाँ घुम्न आउने पर्यटक आकर्षित हुने गर्छन् । 

    ओखरिया इन्टेक बस्तीभन्दा केही टाढा रहेकाले यहाँको वातावरण निकै शान्त, सफा र सुन्दर रहेको छ ।

    विगतमा यो क्षेत्रलाई कसैले खासै चासो देखाएका थिएनन् । पछिल्लो समय स्थानीय युवाले यसमा चासो देखाएपछि अहिले ओखरिया इन्टेक क्षेत्र पर्यटकीयस्थलका रूपमा परिचित बन्दै गएको छ । 

    अहिले स्थानीय युवा गेरुवा पर्यापर्यटन विकास मञ्च गठन गरेर यसको प्रवद्र्धनमा जुटेका छन् । सुरुआतमा युवाले व्यक्तिगत लगानीमा पर्यटक बस्ने केही आराम बेञ्च राखेर यो क्षेत्रको प्रवद्र्धनको कामको गरेका थिए । गेरुवा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष तिलकराम थारु भन्छन्,“पहिले यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि खासै चासो दिइएको थिएन । 

    अहिले युवाले यसलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेपछि अहिले सबैको चासो बढेको छ ।” अहिले गेरुवा गाउँपालिकाले पनि यसको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा लगानी गरेको छ । गत आवमा गाउँपालिकाले यस क्षेत्रको प्रवद्र्धनका लागि रु चार लाख ५० हजार खर्च गरेको थियो ।

    यस क्षेत्रमा घुम्न आउने पर्यटक बस्नका लागि अहिले इन्टेकको डिल र चौरमा ३२ वटा वातावरणमैत्री आरम बेञ्च राखिएको छ । इन्टेकको मुहान नजिकै दुईवटा गोल टेबुलसहितको आराम बेञ्च र एउटा गैँडाको मूर्ति राखिएको छ । पर्यटक आराम बेञ्चमा बसेर यहाँको सुन्दरताको मजा लिने गर्छन् । 

    वनभोज खानका लागि छुट्टै स्थान बनाइएको छ । इन्टेकको नजिकै शहिद पार्क निर्माणाधीन अवस्थामा छ । पार्क नजिकै ‘ट्रि हाउस’ बनाइएको छ । ट्रि हाउसमा बसेर पर्यटकहरु वन तथा वन्यजन्तुको अवलोकन गर्ने गर्छन् । 

    इन्टेक क्षेत्रको मजा लिनका लागि हिउँदको समयमा आन्तरिक पर्यटक बढी आउने गरेको वडा नं १ का वडाध्यक्ष दयाराम वैद्यले बताए । 

    इन्टेक क्षेत्रभन्दा करिब दुई किलोमिटर नजिकै जनकनगर सामुदायिक होमस्टे (घरबास) छ । यहाँ १० वटा हामेस्टे छन् । इन्टेक क्षेत्र घुम्न आउनेमध्ये अधिकाशं एक रात सामुदायिक होमस्टेमा बास बस्ने गरेको होमस्टे सञ्चालक भोगु थारुले बताए ।  

    उत्तरतर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलभन्दा केही तल गएपछि दुई भागमा छुट्टिन्छ । 

    एकातिर कर्णाली गेरुवा भएर बग्छ । अर्कोतिर कर्णाली सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्दै गएको हो । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा सिँचाइका लागि लैजान बनाइएको नहरको मुहानअर्थात् इन्टेक यही क्षेत्रमा बनाइएको छ । 

    बर्दियाको पर्यटकीय क्षेत्र भनेर चिनिएपछि बर्खामा यहाँ पर्यटक डल्फिन हेर्नसमेत आउने गर्छन् ।  

    साताको लोकप्रीय