अर्थसचिव मरासिनीको टिप्पणी : विश्व व्यापार संगठनमा आवद्ध भए यता निर्यात घट्यो  

अर्थसचिव मरासिनीको टिप्पणी : विश्व व्यापार संगठनमा आवद्ध भए यता निर्यात घट्यो  

अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८
अर्थ डबली
बिहिवार, श्रावण २१ २०७८ (अर्काइभ बाट)
  • अर्थसचिव मरासिनीको टिप्पणी : विश्व व्यापार संगठनमा आवद्ध भए यता निर्यात घट्यो  

    काठमाडौँ / अर्थसचिव मधुकुमार मरासिनीले विश्व व्यापार संगठनमा आवद्ध भए यता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको टिप्पणी गरेका छन् । 

    images
    images

    विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा उनले नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको सम्बन्धमा यस्तो टिप्पणी गरेका हुन् ।

    त्यसयता हाम्रै खेतवारीमा फल्ने कृषिजन्य वस्तुहरुको समेत आयात हुने गरेको अवस्थाले व्यापार घाटा बढेको सचिव मरासिनीको भनाइ छ । 

    उनले व्यापार क्षेत्र देशको ‘लाईफ लाईन’ भएकोले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुलाई पनि आफ्नो हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले दुई पक्षीय वार्तामा आफ्नो कुरा जोडदार रुपमा उठाएर नेपाललाई फाईदा हुनेगरी सम्झौताहरुको समीक्षा गर्नुपर्ने बताए । 

    अहिलेको प्रविधियुक्त समयमा समेत विभिन्न भन्सार तथा राजश्व कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड हुने गरेको भन्दै सचिव मरासिनीले घर घरबाट भन्सार, राजश्व तथा कर तिर्ने व्यवस्था मिलाउन निर्देशन दिए । 

    कार्यक्रममा राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरी अधिकारीले जिडिपिमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजश्वको दायरामा आउन नसकेको, ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको, साढे चार लाखभन्दा बढी कम्पनीहरुले विना दर्ता कारोबार सञ्चालन गरिरहेको तथ्याङ्क प्रस्तुत गर्दै यी समस्याले गर्दा राजश्वको दायरा विस्तार हुन नसकेको तर्क गरे । 

    यस्तै ४८ अर्ब राजश्व बक्यौता रहेको, ५८ अर्ब अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको,  १२ अर्ब मुल्य अभिबृद्धि कर बक्यौता रहेको र ५५ अर्ब राजश्व बेरुजु रहेको जानकारी दिए । 
    भन्सार विभागका महानिर्देशक यामलाल भुषाल र उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्यालयहरु उत्तरी सीमा क्षेत्रमा रहेको भएपनि भन्सारको ९६ प्रतिशत हिस्सा आठ वटा भन्सार कार्यालयको मात्र रहेको जानकारी दिए । 

    सबैभन्दा बढी विरगञ्ज भन्सार कार्यालयबाट ३५ प्रतिशत, भैरहवाबाट २५ प्रतिशत, सुख्खा भन्सारबाट १० प्रतिशत, विराटनगर भन्सारबाट ९ प्रतिशत, कैलालीबाट २ प्रतिशत र कृष्णनगर भन्सार कार्यालयबाट १ प्रतिशत भन्सार संकलन गरेको छ । देशको कुल राजश्वको ४५ प्रतिशत हिस्सा भन्सारको रहेको छ ।  

     

    साताको लोकप्रीय