अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ – स्वास्थ्य राज्यमन्त्री

अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ – स्वास्थ्य राज्यमन्त्री

अर्थ डबली
बुधवार, साउन २७ २०७८
अर्थ डबली
बुधवार, साउन २७ २०७८ (अर्काइभ बाट)
  • अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ – स्वास्थ्य राज्यमन्त्री

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । 

    images
    images

    नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन् । 

    “आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौँ,” राज्यमन्त्री श्रेष्ठले भने, “सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको छ। हामी उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ।”

    राज्यमन्त्री श्रेष्ठले नेपाललाई आवश्यक पर्ने खोप खरिदको सम्पूर्ण प्रबन्ध पुरा भइसकेको बताए । 

    उनले अबको डेढ महिनामा १ करोड ३ लाख डोज खोप नेपाल आइपुग्ने भन्दै सबैलाई सजह रूपमा खोप उपलब्ध गराउने उल्लेख गरे । आगामी चैतसम्ममा ५ करोड ५० लाख डोज खोप नेपाल आउने उनको भनाइ छ । 

    खोप केन्द्रमा भिड नगर्न पनि उनले आग्रह गरेका छन् । “बढी घनत्व भएको ठाउँका खोप केन्द्रमा अलि भिडभाड देखिएको छ,” श्रेष्ठले भन्नुभयो, “अहिले खोप केन्द्र बढाएका छौँ, सबैलाई खोप दिन्छौँ।”

    कोभिड १९ को तेस्रो लहरको जोखिम बढेको भन्दै उनले त्यसविरुद्ध लड्न डेडिकेटेड अस्पताल र अक्सिजनको समेत व्यवस्थापन गर्न सरकार लागिरहेको बताए । 

    “हामीसँग भएको क्षमताको अधिकतम प्रयोग गर्ने र चुस्त व्यवस्थापनमा काम गर्ने गरी सरकार अघि बढिरहेको छ,” उनले भने । 

    भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीले फ्रन्टलाइनरको रूपमा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेको भन्दै देशभरका उद्यमीलाई खोप वितरणमा प्राथमिकता दिन आग्रह गरे । 

    राजस्वमा करिब ७० प्रतिशतभन्दा धेरै योगदान गर्ने निजी क्षेत्रलाई समयमै खोप उपलब्ध गराइ चलायमान बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने अग्रवालले उल्लेख गरे । 

    अध्यक्ष अग्रवालले कोभिडको तेस्रो लहरसँग जुध्न पर्याप्त स्वास्थ्य पूर्वाधारको तयारीमा जुट्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । 

    उनले सरकार र निजी क्षेत्र मिलेर स्वास्थ्य पूर्वाधार विकासमा काम गर्न सक्ने पनि बताए। 
    स्वास्थ्य मन्त्रालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे र हेमराज ढकाल तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो। 

    साताको लोकप्रीय