निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने, दशैँको अवसरमा यात्रुलाई राहत !

निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने, दशैँको अवसरमा यात्रुलाई राहत !

भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८
अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८ (अर्काइभ बाट)
  • निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने, दशैँको अवसरमा यात्रुलाई राहत !

    काठमाडौं / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । 

    images
    images
    images

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । 

    नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । 

    एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । 

    भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

    निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ ।

    हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।

     

    एयर अरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।

    नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ । 

    त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल सात उडानको अनुमति पाएको छ ।

    जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ । 

    मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ ।

    नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ । 

    उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मङ्गलबार उडान हुनेछ ।

    त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान गर्नेछ । 

    सिङ्गापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलङ्कन एयरलाइन्सले मङ्गलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । 

    अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

    – सिबी अधिकारी काठमाडौँ

    साताको लोकप्रीय