तनहुँको ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

तनहुँको ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

अर्थ डबली
बुधवार, माघ २१ २०७७
अर्थ डबली
बुधवार, माघ २१ २०७७ (अर्काइभ बाट)
  • तनहुँको ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

    तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो । 

    images
    images

    गत वर्षको मङ्सिर पहिलो सातादेखि काम शुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वैशाखसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए। 

    सडक कालोपत्र गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । ‘बेस हाल्न शुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन’, ढुङ्गानाले भने । 

    ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ । उक्त सडकको ट्रयाक विसं २०५२ मा खुलेको थियो । सडक कालोपत्रका लागि काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो । 

    छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ । सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ । उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । 

    ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम शुरु भएपछि स्थानीयवासी खुशी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए  । ‘सडक कालोपत्र सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ’, गुरुङले भने । 

    भूकम्पले भत्किएको गुम्बा पुनःनिर्माण शुरु

    विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनःनिर्माण शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनःनिर्माण शुरु गरिएको हो ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुईवटा गुम्बा पुनःनिर्माणका लागि सम्झौता भएकामा एउटाको काम शुरु भएको र अर्को गुम्बाको पनि काम शुरु गर्न ताकेता गरिएको जानकारी दिए  । उनका अनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

    प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६२० को लागतमा दुई गुम्बा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

    गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनःनिर्माण हुनेछ । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार ४७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार ५४५ बेहोर्नेछन् । बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६०० को लागतमा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६०० उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।

    साताको लोकप्रीय