चौतर्फी विरोधपछि पुलमा कर लिने निर्णयबाट पछि हट्यो बागलुङ नगरपालिका

चौतर्फी विरोधपछि पुलमा कर लिने निर्णयबाट पछि हट्यो बागलुङ नगरपालिका

अर्थ डबली
बिहिवार, बैशाख ९ २०७८
अर्थ डबली
बिहिवार, बैशाख ९ २०७८ (अर्काइभ बाट)
  • चौतर्फी विरोधपछि पुलमा कर लिने निर्णयबाट पछि हट्यो बागलुङ नगरपालिका

    बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो ।

    images
    images

    जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । 

    सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ ।

    यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो ।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो । यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो ।

    चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो । बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए । 

    जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध शुरु भएको थियो ।

    बागलुङ–१ बाङ्गेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ ।

    उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ । सङ्घ सरकारको लगानीमा पुल बनेको हो ।

    साताको लोकप्रीय