इन्टरनेट बिना नै मोबाइलबाट भुक्तानी गर्न सकिने, केके छन् नमस्ते पे मोबाइल सेवामा? 

इन्टरनेट बिना नै मोबाइलबाट भुक्तानी गर्न सकिने, केके छन् नमस्ते पे मोबाइल सेवामा? 

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • इन्टरनेट बिना नै मोबाइलबाट भुक्तानी गर्न सकिने, केके छन् नमस्ते पे मोबाइल सेवामा? 

    काठमाडौँ/  नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाईल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन शुरु भएको छ । 

    images
    images

    भदौ २९ गते एक कार्यक्रमकाबीच नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंक बीच भएको औपचारिक समझदारीअनुसार २०७७ श्रावण १३ मा विधिवत रूपमा स्थापित कम्पनीले प्रथम चरणको सेवा सुरु गरेको हो । 

    मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले वि. सं. २०७६ वैशाख १९ गते सो कम्पनीको स्थापना भएको हो । 


    नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्याल, राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष राम शरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका अध्यक्ष राजेन्द्र अर्याल लगायत सञ्चालकहरू, डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिनिधिहरू लगायतको उपस्थितिमा सञ्चालित सो कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्ट कोड  युएसएसडिबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको थियो । 

    कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई एवम् सिस्टमको विकास र परिक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न भने ढिलाई भएको थियो । 

    कम्पनीका सम्पूर्ण कर्मचारी एवम् अन्य संलग्न सरोकारवालाहरूको अथक मेहनतको फलस्वरुप प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको छ । 

    मोबाइल सेट बजारको ९५ प्रतिशत भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ ।

    आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशिघ्र सञ्चालनमा ल्याइनेछ ।

     स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ। 

    हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि ८छण्ण्३ डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ ।

    यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् ।

    यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । 

    बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ । 

    नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो र विभिन्न सञ्चार माध्यम र खासगरी अनलाईन मिडियामा पटक पटक प्रकाशित भए जस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । 

    नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ । 

    मोबाइल वित्तीय सेवाको लागि वैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाईन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तर आवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने हुन्छ । 

    साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा शुरुमा आउन सक्ने समस्याहरूको पहिचान र निराकरण गर्न समेत थप सहज हुने हुन्छ। यसर्थ पनि कम्पनीले चरणवद्ध रूपमा सेवाहरू थप्दै र विविधिकरण गर्दै जाने रणनीति अङ्गिकार गरेको छ ।

     सेवाको प्रारम्भिक सञ्चालन पश्चात् देखिने समस्याहरूको पहिचान र दीगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिवद्ध छ।

     बिगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड– १९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको छ । 

    दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्य सम्बन्धी खर्च, सरसामानको खरिदारी तथा सरकारी सेवाहरू र कर सम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजताका साथै कारोबारको हिसाबकिताबको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्न समेत सघाउ पुग्ने देखिन्छ । 

    यही वृहत्तर उद्देश्यका साथ यस कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ  र क्रमशः सेवा सुविधाहरू थप गरी सो यथाशिघ्र उद्देश्य प्राप्तिको लागि कम्पनी लागिपरेको छ । 
    यसरी वृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुर्‍याउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाको रूपमा लागिपरेर विविध सेवा सुविधाहरूको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्बपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालाहरूसंग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्न कम्पनी प्रतिवद्ध रहेको छ। 


    सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ । 

    शुद्ध वित्तीय मुनाफा कमाउने भन्दा बढी सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान गर्ने ध्येयले निर्देशित यस कम्पनीले सेवाको भौगोलक विस्तारको साथसाथै विविधिकरण र प्राविदिक सुदृढीकरणमा विशेष प्रयासलाई निरन्तरता दिईनेछ ।

    सोको लागि बढी भन्दा बढी सेवा प्रदायक, व्यवसाय तथा अन्य साझेदारहरूसंग सहकार्य गरी सम्पूर्ण विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने कम्पनीको प्रयासमा समस्त उपभोक्ता तथा शुभेक्षुकहरुबाट रचनात्मक सुझाव सल्लाहको अपेक्षा कम्पनीले गरेको छ । 

     

    थप समाचारः

    सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

    नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । 
    तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । 

    निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताईन् । 

    सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भन् ि। “हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ ।” मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिईन् । 

    गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख  गरिन् । 

    विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताईन् । 

    “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उनले भनिन्, “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”

    जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको  बताईन् । 

    सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी  दिए । 

    “कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ”, गुरुङले बताए । 
    “सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।”

    कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । 

    आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । रु ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ । 

    प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिनुभयो । सोलार परियोजना जलविद्युत्को तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताए ।

    डोल्मा इम्प्याक्ट फण्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिए । 

    उक्त फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माण सम्पन्न भएकामा धन्यवाद ज्ञापन गर्नुभयो । 

    आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ ।

     नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

    भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । 

    आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७।३० मा खरिद गर्नेछ ।

     ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । 

    साताको लोकप्रीय