म्युचुुअल फण्डमा किन लगानी गर्ने ? यसो भन्छन् विशेषज्ञ 

म्युचुुअल फण्डमा किन लगानी गर्ने ? यसो भन्छन् विशेषज्ञ 

अर्थ डबली
शनिवार, आश्विन २ २०७८
अर्थ डबली
शनिवार, आश्विन २ २०७८ (अर्काइभ बाट)
  • म्युचुुअल फण्डमा किन लगानी गर्ने ? यसो भन्छन् विशेषज्ञ 

    काठमाडौँ / कम पूँजी भएकाहरूका लागि सामूहिक लगानी कोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् । 

    images
    images

    शुक्रबार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डको वारेमा बुझौ र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका बक्ताहरूले सो कुरा बताएका हुन् । 

    कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरूका लागि म्यचुअल फण्डमा लगानी प्रभावकारी हुने बताएका हुन । कम पूँजी भएका , बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरूका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ । 

    धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सुचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रबृत्ति बढ्दै गएकाले सहि सूचना आजको आवश्यकता रहेको समेत ढकालको भनाई छ । दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाब दिएका छन् । 

    नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाईनै दोहो-याएका छन् । योजना व्यवस्थापकले नै लगानीकर्ताहरूको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ ।

    हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरूलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरूको रू. २९ अर्ब बराबरको पूँजी परिचालन रहेको जानकारी दिए । यी बाहेक चार ओटा खुलामुखी योजनाहरू सञ्चालनमा रहेको समेत उनले बताए ।

    म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ । म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आईरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे । म्युचुअल फण्डहरूले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भए पनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानी गर्नुपर्ने भनाई गिरीको छ । 

    सञ्चारकर्मीहरूको माध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सूचना सम्प्रेषण गर्ने उद्देश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथी प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय बजारमा खुलामुखी योजनाहरू नै म्युचुअल फण्डका रूपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।

    मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरूसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरूमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरू बढाएर लैजानुपर्ने आवश्यकता औल्याएका छन् । म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरूलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन् ।

    नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले पनि दिर्घकालिन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पु--याउन आवश्यक रहेको बताए । यसका लागि पत्रकारहरुको क्षमतालाईनै बढाउन आवश्यक रहेको उनको भनाई छ ।

    नाफिज र मर्चेण्ट बैंकर एशोसिएसनको सहकार्यलाई निरन्तरता दिदैं पत्रकारहरूको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा पनि म्युचुअल फण्ड लगायत धितोपत्र बजारका थप विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको क्षमता विकासका लागि नाफिजले विभिन्न निकायहरूसँगको सहकार्यमा क्षमता विकास सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ । 

    साताको लोकप्रीय