स्पेनिस ला लिगा : हारबाट जोगियो बार्सिलोना 

स्पेनिस ला लिगा : हारबाट जोगियो बार्सिलोना 

अर्थ डबली
मंगलवार, असोज ५ २०७८
अर्थ डबली
मंगलवार, असोज ५ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : हारबाट जोगियो बार्सिलोना 

    बार्सिलोना / खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । 

    images
    images

    घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवातमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो । 

    खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए । ग्रानाडाको अग्रतापछि आक्रामक बनेको बार्सिलोनाले पहिलो हाफमा गोल फर्काउने राम्रा अवसर खेर फालेको थियो ।

    १९औं मिनेटमा सर्जी रोवर्टोको प्रहार बाहिरियो । ३६औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिक प्रहारलाई ग्रानाडाका गोलरकिपरले सजिलै विफल पारे । ४५औं मिनेटमा रोनाल्ड एराउजोको पोस्ट छेउको हेड प्रहारमा ग्रानाडाका गोलकिपर लुईस म्याक्सीमिनो बाधक बनेका थिए । 

    ७७ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले दोस्रो हाफमा पनि लगातार गोलको अवसर गुमायो । खेलभर १७ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाले अन्तिममा बराबरी गोल फर्काउन सकेको थियो । 

    ९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । २२ बर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । बार्सिलोनाका स्ट्राईकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन् । 

    २३ प्रतिशत बल पोसेसनमा राखेको ग्रानाडाले खेलभर पाँचवटा पोस्ट प्रहार गरेको थियो । सुरुवाती अग्रतापछि डिफेन्स लाइन बलियो बनाएको ग्रानाडा अन्तिममा पुगेर अंक बाँड्न बाध्य भयो । बार्सिलोनाका रोनाल्ड एराउजो ‘म्यान अफ दी म्याच’ भए । 

    बराबरीसँगै बार्सिलोना सातौं स्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई बराबरी नतिजा निकालेको बार्सिलोनाको आठ अंक छ । पाँच खेलबाट तीन अंक बटुलेको ग्रानाडा १७औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ । 

    विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

    ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ । 

    साताको लोकप्रीय