अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

अर्थ डबली
बिहिवार, आश्विन ७ २०७८
अर्थ डबली
बिहिवार, आश्विन ७ २०७८ (अर्काइभ बाट)
  • अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

    लमजुङ / कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । 

    images
    images

    कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको  चहलपहल बढ्न थालेका हुन् । 

    बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । 

    यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । 

    कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस क्षेत्रका पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि हर्षित हुन थालेका छन् । 

    पर्यटन व्यवसाय विगतकै लयमा फर्किने आशामा उनीहरु उत्साहित बनेका छन् ।” 

    दुई वर्षदेखि कोरोनाका कारण राम्रोसँग नआएका पर्यटक अब भने विगतकै लयमा दैनिक एक सयदेखि २०० जनासम्म आउने आशामा आफूहरु रहेको पर्यटन व्यवसायीको भनाइ छ । 

    पर्यटक नआउँदा चिन्तित बन्न थालेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायीमा विस्तारै आशा पलाउन थालेको देखिन्छ ।

     मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्न समेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि धेरै खुसी भएको छु ।” 

    अझै राम्रोसँग कोरोनाको जोखिम हटिसकेको छैन, यस्तो अवस्थामा समेत आट गरेर पर्यटक आउन थाल्नु धेरै राम्रो कुरा भएको उनको भनाइ छ । 

    पदमार्ग आसपासका अधिकांश पर्यटक व्यवसायीको आम्दानीकै स्रोत पदमार्गमा आउने पर्यटक हो, तर पर्यटक नै नआएपछि व्यवसाय धान्ने त परकै कुरा, परिवारको जीवन धान्नलाई समेत समस्या पर्न थालेका बेला पर्यटक आगमनले पर्यटन व्यवसायमा ऊर्जा मिलेको उनको भनाइ छ।

      पर्यटन व्यवसायी गुरुङले भने, “पर्यटक आगमन हुन थालेपछि एक रुपैयाँ समेत आम्दानी गर्न समस्या भइरहेका बेला अहिले दैनिक १० देखि १५ हजारसम्म आम्दानी हुन थालेको छ, विगतमा पर्यटकीय मौसममा रु ५०÷६० हजार आम्दानी हुन्थ्यो । यति आम्दानी पनि अहिले धेरै राम्रो भएको हो ।” 

    पर्यटक नआउँदा होटल व्यवसायी मर्कामा पर्दै आए पनि विस्तारै पर्यटकको आगमन हुन थालेपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किनेमा आशावादी रहेको पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताए । 

    पर्यटकको आगमनले दुई चार पैसा आम्दानी हुन थालेपछि दशैंँखर्च पनि जुटाउन सहज हुने उनको भनाइ छ । 

    यस पदमार्गमा लामो समयदेखि पर्यटन व्यवसायमा आवद्धहुँदै आएका खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङङ गुरुङ, पूर्णबहादुर गुरुङ पर्यटक नआउँदा निराश बनेपनि यतिबेला विस्तारै पर्यटक आउँदा आम्दानी हुन थालेसँगै खुसी हुन थालेका छन् ।

    यस पदमार्गमा हजारौ पर्यटन व्यवसायी रहेका छन् । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् । 

    पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितीरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । 

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ । 

    यस पदमार्गमा सन् २०२१ को हालसम्म ६०० पर्यटक मात्र आएको बताइएको छ । गत वर्ष अर्थात् सन् २०२० मा १ हजार ९७६ जना पर्यटक आएको धारापानी एक्याप केन्द्रले जनाएको छ । 

    त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । कोरोना सङ्क्रमणको पहिलो लहरदेखि दोस्रो लहर आउनुभन्दा अघिका वर्षमा विगतका भन्दा पर्यटक आगमन वृद्धि हुन थालेको थियो ।

     अब कोरोना सङ्क्रमणको तेस्रो लहर नआएमा र पर्यटक विगतका जसरी पर्यटक आउन थालेमा पर्यटन व्यवसायी प्रभावित नहुने बताइएको छ। 

    पर्यटक आगमन हुन थालेपनि यहाँ गत असार १ गतयता अविरल वर्षासँगै आएको बाढीपहिराले विभिन्न स्थानमा पदमार्ग विगार्नुका साथै यात्रामा असहज बनाएको छ । 

    यस पदमार्गको मर्मत तत्काल गर्दै पर्यटक आकर्षित गर्नेतर्फ सरकारले पनि ध्यान दिनुपर्ने पर्यटन व्यवसायीको माग छ । यति बेला पर्यटकीय सिजनसमेत रहेको छ । 

    विगतमा दसैँ तिहारमा समेत पर्यटकको चाम ठूलो हुँदा दसैँ मनाउन छाडेर समेत पर्यटन व्यवसायी पर्यटकको सेवामा लाग्ने गरेका थिए । 

    साताको लोकप्रीय