मुलुकमा ३० हजार सहकारी, कुन प्रदेशमा कति ?  

मुलुकमा ३० हजार सहकारी, कुन प्रदेशमा कति ?  

सञ्चालित सहकारीमध्ये सङ्घीय सरकार अन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६ हजार दुई र स्थानीय सरकार अन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका छन् ।

अर्थ डबली
सोमवार, पुस २० २०७७
अर्थ डबली
सोमवार, पुस २० २०७७ (अर्काइभ बाट)
  • मुलुकमा ३० हजार सहकारी, कुन प्रदेशमा कति ?  

    देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययन अनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो । 
     
    विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्याङ्क सङ्कलन गरेको थियो । 

    images
    images

    हाल सञ्चालित सहकारीमध्ये सङ्घीय सरकार अन्तर्गत १२५,  प्रदेश सरकार अन्तर्गत ६ हजार दुई र स्थानीय सरकार अन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिए । 

    उनका अनुसार विभागले सङ्कलन गरेको तथ्याङ्कमध्ये हाल देशभर २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था, २० विषयगत केन्द्रीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासङ्घ, ७० जिल्ला सहकारी सङ्घ र २४१ विषयगत जिल्ला सहकारी सङ्घ क्रियाशील छन् । 

    उक्त सहकारी संस्थाले करीब ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, ७३ लाख सात हजार ४६२ जना आबद्ध भएको र रु ९४ अर्ब १० करोड ५० लाख शेयर पूँजी रहेको पाइएको छ । 

    सङ्घीयता कार्यान्वयनमा आएसँगै तीन तहमा अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ । 

    उनका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्याङ्क सङ्कलन गरिएको हो । 

    कुन प्रदेशमा कति 

    विभागले सङ्कलन गरेको तथ्याङ्क अनुसार प्रदेश नं १ मा चार हजार ७३७ वटा सहकारी संस्था रहेका छन् । उक्त सहकारीमा नौ लाख ३५ हजार ७०० सदस्य रहेको, रु आठ अर्ब २० करोड दुई लाख ८७ हजार ३७२ शेयर सदस्य रहेको र २० हजार ६८५ जनाले प्रत्यक्ष रोजगारीे पाइएको छ । 

    यसैगरी प्रदेश नं २ः 

     चार हजार १५३ सहकारी संस्था रहेको पाइएको छ । जसमा पाँच लाख ५५ हजार सदस्य, रु दुई अर्ब ३६ करोड शेयर पूँजी र १० हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएका छन् । 

    वाग्मती प्रदेशः 

    १० हजार ४१८ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । उक्त सहकारीमा २७ लाख १७ हजारभन्दा बढी सदस्य, रु ५१ अर्ब ४० करोड बराबरको शेयर पूँजी र ३३ हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    गण्डकी प्रदेशः 

    दुई हजार ६७१ सहकारी संस्था सञ्चालनमा रहेको छ भने ११ लाख १६ हजारभन्दा बढी सदस्य रहेको पाइएको छ । ती सहकारीमा रु ८६ अर्ब सात करोड शेयर लगानी र सात लाखभन्दा बढीले रोजगारी पाएको तथ्याँङ्क छ । 

    लुम्बिनी प्रदेशः 

    तीन हजार ७५५ सहकारी संस्था सञ्चालनमा छन् भने त्यसमा आठ लाख ९८ हजार सदस्य छन् । ती सहकारीमा रु पाँच अर्ब ८२ करोड शेयर लगानी र सात हजारभन्दा बढी रोजगारी पाएका छन् । 

    कर्णाली प्रदेशः 

    विभागको तथ्याङ्क अनुसार  कर्णालीमा एक हजार ९६७ सहकारी संस्था रहेका छन् । चार लाख चार हजार सदस्य रहेको ती सहकारीमा एक अर्ब ८० करोड शेयर पूँजी र चार हजार ५०० भन्दा बढी प्रत्यक्ष रोजगारीमा आबद्ध छन् । 

    सुदूरपश्चिम प्रदेशः 

    सूदुरपश्चिम प्रदेशमा रहेका दुई हजार ६० सहकारीमा पाँच लाख ४२ हजार सदस्य छन् । रु दुई अर्ब एक करोड शेयर पूँजी रहेको ती सहकारीमा दुई हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । 

    यसअघि देशभर ३४ हजार ८३७ सहकारी संस्था रहेकामा केही निष्क्रिय भएको र केही एकीकरण हुँदा तथ्याङ्कमा कमी आएको पाइएको छ । 

    विभागले शून्य लागतमा ७५३ स्थानीय तहले दिएको तथ्याङ्कका आधारमा विभागले सो विवरण तयार पारेको बताइएको छ । 

    विभागले तयार पारेको तथ्याङ्क अनुसार सहकारीमा सदस्य सङ्ख्या, शेयर पूँजी, बचत सङ्कलन, ऋण लगानी तथा रोजगारी सिर्जनालगायत सूचकमा वृद्धि भएको पाइएको विभागका रजिष्ट्रार डा पाण्डेले जानकारी दिए ।
    –समुन्द्रा घिमिरे

    साताको लोकप्रीय