बेमौसमी बर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

बेमौसमी बर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • बेमौसमी बर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

    चितवन / धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो ।

    images
    images

    जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।
     
    कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । 

    भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए । 
     
    पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । 

    उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए । 
     
    कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए । 

    निरन्तरको वर्षाको कारण धानमा ठूलो क्षति भएको उनले जानकारी दिए । 

    पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउछन्। विगतका वर्षहरुमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उनको भनाइ छ ।
     
    चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

    जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३।८ मेट्रिक टन उत्पादन हुने गरेको छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिनाजस्ता प्रजातिका धान लगाइने गरिन्छ ।

    साताको लोकप्रीय