स्पेनिस ला लिगा : रियल र सेभिया विजयी

स्पेनिस ला लिगा : रियल र सेभिया विजयी

अर्थ डबली
आइतवार, कार्तिक १४ २०७८
अर्थ डबली
आइतवार, कार्तिक १४ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : रियल र सेभिया विजयी

    म्याड्रिड / स्पेनिस ला लिगामा रियल म्याड्रिड र सेभिया विजयी भएका छन् । शनिबार राति भएको खेलमा उपाधि दौडमा रहेको रियलले १० खेलाडीमा समेटिएको इल्चेलाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा सेभियाले ओसासुनालाई २–० गोलले पराजित गर्यो ।

    images
    images

    जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलमा सात जित, तीन बराबरी र एक हार खेपेको रियलको २४ अंक छ ।

    दोस्रो स्थानमा उक्लिएको सेभिया र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान २४ अंक छ । रियलसँग पराजित इल्चे १० अंक सहित १५औं स्थानमा छ । सेभियासँग हारेको ओसासुना १९ अंक सहित सातौं स्थानमा छ ।

    रियलको जितमा दुवै गोल भिनिसियस जुनियरले गरे । इल्चेका पेरे मिल्लाले सान्त्वना गोल फर्काए । भिनिसियसले २२औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए । ७३औं मिनेटमा भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । 

    जारी लिगमा उच्च लयमा रहेका भिनिसियसको यो ब्यक्तिगत सातौं गोल हो । उनी लिगमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले नौ गोल गरेका छन् ।

    यसअघि ६३औं मिनेटमा राउल गुटी रातो कार्ड पाउँदै बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । तरपनि इल्चेले ८६औं मिनेटमा गोल फर्कायो । पेरे मिल्लाले डारियो बेनेडेट्टोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

    त्यसपछि थप गोल नहुँदा रियल विजयी भयो । ५७ प्रतिशत बल पोसेसन राखेपनि रियललाई इल्चेले दबाब दिएको थियो । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’ भए ।

    अर्को खेलमा सेभियालाई जिताउन डिएगो कार्लोस र लुकास ओकम्पोसले गोल गरे । कार्लोसले ४०औं मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । लुकासले ६०औं मिनेटमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । ६४ प्रतिशत बल पोसेसन राखेको सेभियाले खेलको अन्तिमसम्म गोल गर्ने अवसर बनाएको थियो । सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ भए ।

    घरेलु मैदानमा भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गरे । 

    अलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । डिपाएले ४९औं मिनेटमा जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

    तर बार्सिलोनाको अग्रता लामो समय टिकेन । ५२औं मिनेटमा लुइसले जोसेलुको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । अन्तरिम प्रशिक्षक सेर्जी बार्जुआनको पहिलो खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । अघिल्लो खेलमा रायो भालेकानोसँग १–० गोलले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।

    अलाभेसका लुइस रियोजा ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै ११ खेलबाट १६ अंक बनाएको बार्सिलोना नवौं स्थानमा छ । १० अंक बनाएको अलाभेस १६औं स्थानमा छ । अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–० गोलले पराजित गरेको छ ।

    विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

    ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय