स्पेनिस ला लिगा : रायो भालेकानोको सहज जित

स्पेनिस ला लिगा : रायो भालेकानोको सहज जित

अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८
अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : रायो भालेकानोको सहज जित

    म्याड्रिड / रायो भालेकानोले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा रायो भालेकानोले मालोर्कालाई ३–१ गोलले हरायो ।

    images
    images

    रायो भालेकानोको जितमा सर्जियो ग्वार्डिओला, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरेका थिए । मालोर्काका एब्डोन प्रार्टसले सान्त्वना गोल फर्काए । पहिलो हाफमा दुई गोल गरेको रायो भालेकानोले १६औं मिनेटमा खाता खोलेको थियो ।

    सर्जियोले शान्ति कोमेसानाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २०औं मिनेटमा अल्भारोले ओस्कार ट्रेजोको पासमा गोल गर्दै रायो भालेकानोको अग्रता दोब्बर बनाए । त्यसपछि ६३औं मिनेटमा ओस्कार ट्रेजोले पेनाल्टीमा गोल गर्दै रायो भालेकानोलाई फराकिलो जिततर्फ अगाडी बढाए ।

    डिबक्सभित्र मालोर्काका मार्टिन भल्जेन्टले फल खेलेपनि रायो भालेकानोले पेनाल्टीको अवसर पाएको थियो । मालोर्काले खेलको अन्तिममा गोल फर्काएको थियो । एब्डोन प्रार्टसले ८९औं मिनेटमा एन्जल रोड्रिग्वेजको पासमा गोल गरेपनि टोलीको हार जोगिएन ।

    बल पोसेसन औसत राखेको मालोर्काले पहिलो हाफमा राम्रा अवसर गुमाउँदा फराकिलो हार खेप्न बाध्य भयो । ४८ प्रतिशत बल पोसेसन राखेको मालोर्काले ११ वटा पोस्ट प्रहार गरेको थियो । ५२ प्रतिशत बल पोसेसन राखेको रायो भालेकानोले १५ वटा पोस्ट प्रहार गरेको थियो । रायो भालेकानोका ओस्कार ट्रेजो ‘म्यान अफ दी म्याच’ भए ।

    जितसँगै १४ खेलबाट २३ अंक बनाएको रायो भालेकानो छैटौं स्थानमा उक्लिएको छ । १५ अंक बनाएको मालोर्का १३औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्क्ष्य हेर्न पाइने ब्यवस्था छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय