बौदीकाली गाउँपालिका–३ र ४ मा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

बौदीकाली गाउँपालिका–३ र ४ मा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

अर्थ डबली
आइतवार, माघ ४ २०७७
अर्थ डबली
आइतवार, माघ ४ २०७७ (अर्काइभ बाट)
  • बौदीकाली गाउँपालिका–३ र ४ मा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।

    images
    images

    विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महिनादेखि यहाँ पोल गाड्ने काम शुरु भएको थियो । गत चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निरास भएका छन् ।

    गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि काम रोकिएको थियो । अन्य ठाउँका विकास निर्माणका काम  विगत चार÷पाँच  महिनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुङ्गानाले बताए । ‘हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो’, ढुङ्गानाले भने। 

    गाउँमा बत्ती आए धेरै सुविधा हुने, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने स्थानीयवासी कृष्णप्रसाद पराजुलीले बताए । उनका अनुसार विद्युत् नहुँदा  कतिपयले गाउँ छाडेर गएका छन् । ‘विद्युत् नहुँदा युवा  पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ’, पराजुलीले भने , ‘सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु सबै मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।’

    बौदिकाली गाउँपालिकाको  वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने स्थानीय तहका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिए । चालु आवको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले रोकिएको झाले बताए । त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उनको भनाइ छ । विद्युत् प्राधिकरण काठमाडौँले डिस इन्सुलेटरको व्यवस्थापन गरेपछि मात्र तनहुँबाट विद्युत् तार जडान गरी काम अगाडि बढाउन सकिने झाले बताए ।

    साताको लोकप्रीय