काठमाडौँ / साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १३.२२ अंकले बढेर एक हजार ५८३.६१ बिन्दुमा उक्लिएको छ ।
यस दिन १९३ ओटा कम्पनीको १८ हजार ४७० पटकको व्यापारमा ५० लाख २४ हजार ५० कित्ता शेयर खरिदबिक्री भएका छन् भने एक अर्ब २७ करोड १८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिजो सोमबारको कारोबार रकम ९७ करोडमै खुम्चिएको आज कारोबार रकममा सुधार आएको छ । केही समययता निरन्तर गिरावट आएको बजारमा पुनः उत्साह फर्किएको छ ।
मंगलबार कारोबारमा आएका सबै समूहको परिसूचकमा हरियाली छाएको छ भने हाइड्रो पावर समूहको परिसूचकमा सबैभन्दा बढी २.०२ प्रतिशतको उछाल आएको छ ।
त्यस्तै, अन्य समूह १.१२ प्रतिशत , होटल समूहको १.१० प्रतिशत, विकास बैंक समूहको १.०८ प्रतिशत, वित्त समूह र म्यचुअल फण्डको १.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशत, जीवन बीमा समूह ०.८२ प्रतिशत, निर्जीवन बीमा समूह ०.७१ प्रतिशत, लघुवित्त समूहको ०.६५ प्रतिशत, बैंकिङ समूह ०.६२ प्रतिशत र व्यापार समूहको परिसूचकमा ०.२८ प्रतिशत बृद्धि भएको छ ।
आजको कारोबारमा हाइड्रो पावर समूहले अग्रता लिएको देखिएको छ । जसमध्ये अरुण कावेली पावर कम्पनीको सबैभन्दा बढी ९ करोड एक लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अपि पावर कम्पनीको ७ करोड ७४ लाख ८४ हजार हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टभेन्ट एण्ड डेभलपमेन्टको ६ करोड २ लाख २ हजार रुपैयाँ, नागरिक लगानी कोषको ४ करोड एक लाख ७७ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रो पावरको ३ करोड ४३ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ ।
मंगलबारको कारोबारमा जनरल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
उक्त कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य ९.६६ प्रतिशत, हिमाल दोलखा हाइड्रो पावर कम्पनीको ९.६० प्रतिशत र जोशी हाइड्रो पावरको शेयरमूल्य ९.४० प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, वित्त समूहका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । जसमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले १.८६ प्रतिशत र रिलायन्स फाइनान्सका लगानीकर्ताहरुले १.६४ प्रतिशतले गुमाए ।