गाउँमा पाउन छाड्यो खेताला

गाउँमा पाउन छाड्यो खेताला

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • गाउँमा पाउन छाड्यो खेताला

    लमजुङ / गाउँमा खेताला पाउन छाडेपछि यहाँका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले  धान भित्र्याउँन सो मेसिन उपयोगमा ल्याएका हुन् । 

    images
    images
    images

     पछिल्लो समय गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल हुँदै गएको छ ।  पाए पनि महँगो हुने जनाइएको छ ।  कम समय र कम लागतमै धान झाट्ने भएकाले मेसिनको उपयोग वढेको हो ।

     ठूला सहरका ठूला फाँटमा मात्र नभई थ्रेसर मेसिन यतिबेला जिल्लाका गाउँका खेतहरुमा समेत पुग्न थालेको छ ।  यो सँगै परम्परागत रुपमा धान थन्काउने चलन हराउन थालेको छ । 

     जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान व्यस्त भएका छन् । अधिकांश किसानहरु धान काट्ने काम सकेर दाइँ हाल्दैछन् त कति हाल्ने तरखरमा छन् । 

     केही केही ठाउँमा किसानहरुले परम्परागत रुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् । तर अधिकांश किसान आधुनिक थ्रेसर मेसिन प्रयोग गरिरहेका छन् । 

     बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा परम्परागत रुपमा गोरु र खेताला पाउन मुस्किल हुँदै जाँदा यतिबेला थ्रेसर मेसिनको बढ्यो प्रयोग भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईंले बताए । यहाँका ८० प्रतिशत किसानले थ्रेसर मेसिन प्रयोग गर्न थालेको उनको भनाइ छ । 

     त्यस्तै, यहाँका किसान कमलराज सेढाइँले भने, “मेरो २० मुरी धान थ्रेसर मेसिनले एक घण्टा १० मिनेटमै धान र पराल छुटाएर सकायो ।” यतिका धानका लागि खेताला लगाएको भए, १०÷१२ जना आवश्यक पर्ने र उनीहरुलाई दिनभरिमा पनि सकाउन गाह्रो पर्ने उहाँको भनाइ छ ।

      थ्रेसर मेसिनले प्रतिघण्टा रु दुई हजार ५०० लिने गरेको र खेतालाले प्रतिव्यक्ति रु ८०० रुपैयाँ लिने गरेको छ । खेताला लगाउँदा रु नौ/दस हजारभन्दा बढी लाग्ने भए पनि मेसिनको प्रयोगले समयदेखि लागतसमेत धेरै कम गराएको उहाँले जानकारी दिए । 

     उनले भने, “यहाँ खेताला खोज्दा पनि भेटिन मुस्किल हुन्छ, यस्ता बेलामा यहाँ थ्रेसर मेसिनले किसानलाई ठूलो राहत पुगेको छ ।” काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल छ ।

      पाइएका खेतालाको खर्च पनि महँगो छ । “मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले केही वर्षअघि बाट खेती भित्र्याउन थ्रेसर मेसिनकै प्रयोग गर्दै आएको राइनास नगरपालिका–६ स्थित चक्रतीर्थ तीनपिप्लेका किसान कृष्णबहादुर भट्टले बताए । 

     उनले भने, “यहाँका किसानहरुलाई पहिला पहिला आधुनिक थ्रेसर मेसिनका बारेमा थाहा नहुँदा गोरु र खेताला खोज्दैमा हैरानी हुन्थ्यो, बल्लबल्ल गोरु खेताला पाए पनि महँगो भएर खेताला लगाउन पनि किसानलाई आर्थिक समस्या हुने गरे पनि यहीले यी सबै समस्या थ्रेसर मेसिनले हटाउँदै गएको उनको भनाइ छ ।

      प्रतिघण्टा थ्रेसर मेसिनले धान पराल छुट्याएको करिब रु तीन हजारसम्म लिँदै आएका छन् । जिल्लाका बेँसीसहर, भोटेओडार,  राइनास, सुन्दरबजार, फेदीकुना, पाउँदी लगायतका फाँटमा थ्रेसर मेसिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् । 

    साताको लोकप्रीय