अन्नपूर्ण आधार शिविरः ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण

अन्नपूर्ण आधार शिविरः ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण

अर्थ डबली
आइतवार, मंसिर १२ २०७८
अर्थ डबली
आइतवार, मंसिर १२ २०७८ (अर्काइभ बाट)
  • अन्नपूर्ण आधार शिविरः ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण

    बेनी / म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मरिस हर्जोग ट्रेल’ सञ्चालनको तयारी भएको छ। ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मरिस हर्जोगको नाममा स्थापना भएको पदमार्ग सञ्चालनको तयारी भएको हो।

    images
    images

    हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए ।

    गाउँपालिकाले नारच्याङबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मरिस हर्जोग ट्रेल’ नामकरण गरेको छ । 

    यसका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन्। 

    मंसिर १४ गते आधार शिविरतर्फ गएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, टानका गण्डकी प्रदेश अध्यक्ष सुशील पौडेललगायतको टोली शनिबार फर्किएको छ। गाउँपालिकाका अध्यक्ष पुनका अनुसार हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेको हो।

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पदमार्ग सञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोनाले प्रभावित बनाएको अध्यक्ष पुनले जानकारी दिए।  उनले अब आउने पर्यटकलाई अन्नपूर्ण आधार शिविर भित्र्याउन पर्यटन व्यवसायीसँग सहकार्य गरेको बताए।

    नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ।

    अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । 

    कठिन र ‘वाइल्ड’ रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ‘ब्राण्ड’ हुने टान गण्डकी प्रदेशका अध्यक्ष पौडेलको भनाइ छ। ‘पुराना पदमार्ग सडकले विस्थापित भएका छन्’, उनले भने, ‘थप पूर्वाधार निर्माणसँगै प्रचार–प्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिन्छ।’ गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । 

    गत माघ महिनामा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचार–प्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो । पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । 

    पदयात्रामा आउने पर्यटकका लागि ‘सेल्टर’ निर्माण भएको छ । होटल तथा लज नभएकाले ‘क्याम्पिङ’ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । 

    हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग नौ वर्षअघि पहिचान भएको थियो ।

    यसअघि मुस्ताङको कुञ्जो हुँदै भीर र जङ्गलमा एक साता हिँडेर, हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । कतिपयले कास्कीको एबीसी क्याम्पलाई नै आधार शिविर बुझ्ने गरेका थिए । 

    नारच्याङका अगुवाहरूले वि.स.२०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । नारच्याङको बेँसीगाउँदेखि छोटेपासम्म नीलगिरि जलविद्युत् आयोजनाले लगेको सडक नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलासम्म पुर्याउँदैछ । हुमखोलाबाट एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ । 

    समुद्री सतहदेखि चार हजार ५ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । 

    अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा नीलो रङ र गोलो आकारको तलाउ छ। सुक्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । यो ताल करिब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । 

    –कमल खत्री

    साताको लोकप्रीय