अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण

अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण

    भरतपुर / भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भए पनि काम भने सुरुआत हुनसकेको छैन । पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ । बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप बनेको छ ।

    images
    images

     नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड बनाउन भरतपुर महानगरसँग पटक–पटक माग पनि गर्दै आइरहेका छन् ।

     अटोल्याण्ड निर्माण भए बजारमा अव्यवस्थितरूपमा छरिएर रहेका वर्कशप र ग्यारेज एकत्रित हुनुका साथै बजारको सौन्दर्यकरण पनि बढ्ने व्यवसायीको भनाइ छ ।

    भरतपुर महानगरले वडा नं ३ को नारायणी नदी किनार (नगरवन क्षेत्र)मा अटोल्याण्ड बनाउने योजना अघि सारेको छ ।

     महानगरपालिकाका प्रवक्ता एवं अटोल्याण्ड व्यवस्थापन समितिका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिए । आठ महिनाअघि डिपिआर बनेको बताउँदै प्रवक्ता भण्डारीले अब छिट्टै काम सुरु गरिने जानकारी दिए ।

    अटोल्याण्ड व्यवस्थापन समितिमा अटोमेकानिक व्यवसायी सङ्घ चितवन र चितवन अटो मोबाइल्सल एशोसिएशनका तर्फबाट प्रतिनिधित्व गर्दै संयोजन गरिरहनुभएका बलराम भण्डारीले अटोल्याण्ड बनाउन इआइएको प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले करिब दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको र यसभित्र नारायणी तटबन्धनसमेत रहेको बताए । 

    “अटोल्याण्ड बनेपछि अटोमोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ । यातायातका सम्पूर्ण सवारीसाधन मर्मत गर्ने वर्कशप एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछ”, उनले भने ।

     सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजलाई एकत्रित गर्न अटोल्याण्डले सहज हुने उनले बताए ।

    नेपाल अटो मेकानिकल्स व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महसुस गरेर आफूहरुले विसं २०६४ देखि नै यसको माग गर्दै आएको जानकारी दिए ।

      उनले भरतपुर महानगर बनेपछि बल्ल यसको आवश्यकता महसुस गरेको भए पनि काम अघि बढ्न नसकेको बताए । बुटवल, दाङको तुलसीपुर र घोराहीमा अटोभिलेज बनिसकेको उनले जानकारी दिए। अटोभिलेज भएपछि त्यहाँका व्यवसायी र ग्राहकले सुविधा पाएका छन् ।

     “अटोल्याण्ड बनेपछि यातायात व्यावसायीलाई हुने फाइदामा सर्वप्रथम व्यावसायीको स्थायित्व हो । व्यवसाय कहिले कता कहिले कता सार्न परेन”, उनले भने।

    अव्यवस्थितरूपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहर र ध्वनि प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ ।

     यदि कसैले आफ्नो जग्गामा व्यवस्थित तवरले वर्कशप चलाउँछ भने उसले जहाँ पनि वर्कशप सञ्चालन गर्न पाउने भट्टराईको भनाइ छ ।

     अरुलाई अप्ठ्यारो हुने गरी सञ्चालनमा रहेका वर्कशपलाई मात्र अटोल्याण्डमा ल्याइने भएकाले सबै नगरवासी र व्यवसायीलाई यस कार्यमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

    “नारायणीमा ठूलो तटबन्धन नभई काम छैन । अहिले जहाँ जग्गा दिने भनेको छ । त्यहाँ यस वर्ष बाढी पसेको थियो”, उनले भने, “तटबन्धनसहित बाटोघाटो र पानी पुर्याएर महानगरले जग्गा हस्तान्तरण गर्नुपर्छ । त्यसपछि व्यवसायी आफैँले भवन बनाउँछन् ।”

     अटोल्याण्ड बनेपछि महानगरलाई पनि फाइदैफाइदा हुने उनको भनाइ छ । “हामीले जग्गाको भाडा महानगरलाई तिर्छौँ । महानगरलाई फाइदैफाइदा छ । सहर पनि सुन्दर हुन्छ”, उनले भने ।

    एशोसिएशनका पूर्वअध्यक्ष शिवराज गिरीले भरतपुरमा अटोल्याण्डका आवश्यकता रहेको बताए । उनले बजार पृथकीकरण सिद्धान्तअनुसार अटोल्याण्डको अवधारणा ल्याइएको बताए ।

     उनले मर्मत गर्न लामो समय लाग्ने सवारी तथा वर्कशपलाई ल्याण्डमा ल्याउन आवश्यक रहेको बताउनुभयो । सामान्य मर्मत तथा एकै दिनमा सम्पन्न हुने काम भने ठाउँठाउँमा राख्न सकिने उनको भनाइ छ ।

    “दुई प्राङ्ग्रेबाहेकका सवारी जसको मर्मत गर्न समय पनि लाग्छ र स्थान पनि धेरै चाहिन्छ । उनीहरु ल्याण्डमा आउन आवश्यक छ । 

     यस्तै पेन्टिङका काम गर्ने सवारी पनि ल्याण्डमा आउँछन्”, उनले भने, “तत्काल सामान्य मर्मत गर्ने वर्कशप व्यवस्थित तवरले जहाँ पनि हुन्छन् ।

     किनकि उपभोक्ताको दृष्टिकोणबाट पनि ठाउँठाउँमा वर्कशप हुनु राम्रो हो ।” अटोल्याण्डमा स्वस्थ प्रतिस्पर्धा हुने हुँदा उपभोक्ता ठगिनबाट पनि बच्ने उनको भनाइ छ ।

    –कृष्ण आचार्य

    साताको लोकप्रीय