चर्चित समाचार
  • बिषालु च्याउ कसरी चिन्ने ? 

    बिषालु च्याउ कसरी चिन्ने ? 

    अर्थ डबली
    शुक्रवार, असार २२ २०८०
    अर्थ डबली
    शुक्रवार, असार २२ २०८० (अर्काइभ बाट)
  • बिषालु च्याउ कसरी चिन्ने ? 

    च्याउ फूल नफल्ने वनस्पतिअन्तर्गत पर्दछ । च्याउजातिका बिरुवाहरू फन्जाई वर्गमा पर्दछन् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यी बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनिहरूले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यी बिरुवाहरू मृतोपजीवी हुन् । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् ।

    images

    च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोफ्लेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्त्वहरू पाइन्छ । नेपालमा च्याउका १४७ प्रजाति उत्कृष्ट खाना (delicious food) को रूपमा खानयोग्य भएको पाइएको छ । तथापि केही च्याउका प्रजातिहरू विषाक्त हुन्छन् (जस्तैः Amanita silvicola, A. xanthodermis, A. verna, A. phalloides, A. virosa, Rusula, Boletus, आदि) ।

    च्याउहरू प्रोटिनको राम्रो स्रोत (२०-३५ प्रतिशत) मानिन्छन् जुन तरकारी तथा फलफूलबाट पाइने प्रोटिनभन्दा बढी मानिन्छ । च्याउहरू खनिज (P, K, Fe, Cu & Na)का राम्रो स्रोत मानिन्छन् । विशेष गरेर अन्य फलफूल तथा तरकारीबाट पाइने क्याल्सियम र फसफोरस जस्ता खनिज च्याउमा बढी पाइन्छ । शाकाहारी भोजन गर्ने व्यक्तिहरूले समेत माछामासुमा पाइने प्रोटिन, भिटामिन, खनिज तथा मिनेरल्स, च्याउ उपभोग गर्नाले पनि प्राप्त गर्न सक्दछन् ।

    च्याउहरूलाई औषधीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । जस्तै : च्याउमा पोटासियम/सोडियमको अनुपात धेरै हुने साथै कोलेस्ट्रोलरहित हुने भएकाले उच्च रक्तचाप भएका विरामीले तरकारीका रूपमा नियमित सेवन गरेमा फाइदा पुग्छ । त्यस्तै, च्याउमा स्टार्च कम पाइने हुनाले मधुमेहका साथै क्यान्सरका रोगीहरूले पनि नियमित सेवन गरेमा फाइदा गर्छ । Ganoderma lucidum प्रजातिको च्याउ पिल्स (महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन) बनाउन प्रयोग गरिन्छ । Grifolia frondosa क्यान्सर र ट्युमरविरूद्ध उपयोगी मानिन्छ ।

    यस्तै प्रकारले यस वाहेक अन्य प्रजातिका च्याउहरू औषधी जन्य प्रयोजनका लागि उपयोग गर्न सकिन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो । च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । 

    वर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिक तत्त्व पाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रङ्ग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउन गाह्रो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवस्थामा यो क्रम भङ्ग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । 

    विषाक्त च्याउका प्रमुख समूह

    विभिन्न जातका च्याउहरूमा विभिन्न किसिमका रासायनिक तत्त्वहरू (alkaloids & acids) भएको पाइएका छन् । नेपालमा करिब १ सय विषालु प्रकृतिका च्याउहरू पहिचान भएको पाइएता पनि यी विषालु च्याउहरूमा पाइने रासायनिक तत्त्वको परिमाण विश्लेषण गरेको भने देखिदैन । विभिन्न किसिमका रासायनिक तत्त्वहरूको उपस्थितिले च्याउमा पाइने toxic substance हरू अर्थात च्याउ विषाक्तताका केही मुख्य समूहहरू निम्न लिखित देखिन्छन् : 

    – अमानिटा टाइप विषाक्तता : यो समूहमा पर्ने प्रमुख विष एमाटक्सिन र फालोटक्सिन हुन् । यस समूहका विष अमानिटा (जस्तै : Amanita verna, A. virosa, A. phalloides), ग्यालेरिना (जस्तै : Galerina marginata, G. autumnalis, G. venenata), लेपिओटा, कोनोसाइवे, ग्यालेरिना, आदिका प्रजातीहरूमा पाइन्छन् ।

    Bishalu chyau.JPG

    – मस्कारिन टाइप विषाक्तता : यस समूहका प्रमुख विषहरू मस्कारिन र इवोटेनिक एसिड हुन् जुन Amanita pantherina, A. muscaria, Inocybe / Clitocybeका केही प्रजातीहरूमा पाइन्छ ।

    – ओरेलैनिन टाइप विषाक्तता : यसको प्रमुख कारण ओरेलैनिन भन्ने विष हो, जुन Cortenerious orelainus भन्ने च्याउमा पाइन्छ ।

     – गाइरोमित्रिन टाइप विषाक्तता : यसको प्रमुख कारण गाइरोमित्रिन भन्ने विष हो, जुन गाइरोमित्रा (जस्तै : Gyromitra esculenta, G. fastiginata, G. brunnea) र हेलवेला प्रजातीका च्याउहरूमा पाइन्छ ।

     – साइकोट्रपिक/हलुसिनोजेनिक (भ्रान्तिजनक) विषाक्तता : यस समूहका प्रमुख विषहरू सिलोसिन् र सिलोसाइविन हुन्, जुन Psilocybe, Conocybe / Strafaria च्याउका प्रजातीहरूमा पाइन्छ । 

     – कपरिन टाइप विषाक्तता : यसको प्रमुख कारण कोप्रिन भन्ने विष हो जुन कपरिनस च्याउका केहि प्रजाती (जस्तै :  Coprinus micaciyas, C. atramentreya) हरूमा पाइन्छ ।

     – एर्गोटक्सिन विषाक्तता : यसको प्रमुख कारण एर्गोटक्सिन (ergotoxin) विष हो ।

     – बाह्य स्रोतबाट हुने विषाक्तता : यस प्रकारको विषात्तताको स्रोत च्याउ आफैँ नभइकन च्याउमा जम्मा भएको बााह्य विषालु पदार्थ हो । यसको प्रमुख कारण अत्याधिक वातावरणीय प्रदूषणको कारण च्याउमा रेडियोधर्मी पदार्थ र गह्रौँ धातुको सञ्चय हो । 

    विषालु च्याउको सेवनबाट विश्वभरि नै मानिसको मृत्यु हुने गर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । 

    च्याउका पारखी–आदिवासी तथा रैथाने समुदाय पुर्खौदेखि नै जङ्गली च्याउ सङ्कलन गरी उपभोग गर्दै आएका छन् । खान हुने च्याउ र विषालु च्याउ छुट्याउन सक्ने दक्षता आफूमा भएको ठान्दा कतिपयले अकालमा ज्यान गुमाउदै आएका छन् । खाने हुने च्याउ पहिचान गर्ने दक्षताको कमि, खानयोग्य च्याउ र विषालु च्याउ छुट्टयाउन जटिल हुनु, जनमानसमा भएका विषालु च्याउ छुट्टयाउन सकिने केही परम्परागत विधि र मान्यता प्रमाणित र वैज्ञानिक नभएको कारणले बर्सेनि यस्तो घटनाहरू घट्दै आएको छ । ए

    एक छाक तरकारी कै लागि भनेर प्रलोभनमा परी वा कहिलेकाहीँ च्याउको स्वाद मेटाउन सेवन गरे पनि के नै होला र ? भन्ने सोच्दा साधारणतयाः जङ्गली च्याउ खाएर मृत्यु वा बिरामी पर्नेहरूमा प्रायः दुर्गम तथा पहाडी क्षेत्रका आर्थिक रूपले कमजोर अशिक्षित वर्गहरू नै यस किसिमको दुर्घटनाको सिकार बन्न पुगेका छन् ।

    नेपालमा वार्षिक ३० देखि ५० जना व्यक्तिको मृत्यु विषालु च्याउ खाएर हुने गरेको छ । विज्ञहरूले नेपालमा पहिचान भएका करिव १ सय परिवार अन्तर्गत पर्ने १ हजार २ सय ७१ प्रजातीका च्याउ रहेको  बताएका छन् । जसमध्ये करिव १ सय ४७ खानयोग्य, ७३ औषधिय गुण भएका र करिव १ सय विषालु प्रकृतिका छन् । कतिपय च्याउहरू न त खानयोग्य न त औषधिय गुण भएका कुनै प्रयोजनमा प्रयोगमा नआउने काम नलाग्ने प्रकृतिका पनि रहेको पाइन्छ । 

    कुनै पनि विषाक्त च्याउहरूको असर खाइ सकेपछि मात्र देखा पर्दछ । विषालु च्याउमध्ये कसैले मृत्यु नै गराउन सक्छन् (deadly poisonous जस्तै : : Aminita phalloides, A. pantherina, A. muscaria, Inocybe patlouillardii, Cortinarious speciosissimus, C. orellanus, Entoloma sinuatum, Lepiota morgana, Agaricus xanthodermis आदि) भने कुनैले हल्का नशा मात्र लगाउने हुन्छ, कुनैले वान्ता गराउने, पेट दुखाउने, टाउको दुखाउने, जिभ्रो सुन्निएर आउने, आदि गराउदछ ।

    च्याउको विषालुपना नभएर प्रजाती विशेष (species specific) हुन्छ, अर्थात मृत्यु नै गराउन सक्ने च्याउले जहिले पनि मृत्यु नै गराउन सक्ने सामथ्र्य राख्छ, यसले कसैलाई हल्का नशा मात्र लगाउने र कसैको मृत्यु गराउने भन्ने हुँदैन । यसबाहेक, उपभोग गर्ने व्यक्तिको स्वास्थ्य अवस्था, च्याउ सँगसँगै अन्य के खानेकुरा खाएको, च्याउ ताजा वा बासी सड्न लागेको कस्तो अवस्थामा रहेको बखत पकाएको, च्याउ पकाउदा अवलम्बन गरेको विधिले पनि प्रभाव पार्छ । 

    बेसार, टिमुर जस्ता मसला च्याउ पकाउँदा राखेमा, चुक राखी पकाएमा विष काट्छ अर्थात एन्टिडोटको काम गर्छ भन्ने विश्वास गरिन्छ तर सङ्कलित च्याउ विषालु रहेछ भने थोरै मात्रामा खाएमा पनि त्यसले ज्यानै लिन पनि सक्छ ।

    उसले उपभोग गरेको मात्रा/परिमाण, च्याउ काँचै वा पकाएर खाएको, आदिको आधारमा समेत विषालु च्याउको असर निर्भर रहन्छ । साधारणतया तीन समूहका विषालु च्याउहरूसँग जहिले पनि सचेत रहनु पर्दछ । जसअन्तर्गत अमानिटा Amanita sp) जात अन्तर्गतका विभिन्न प्रजातीहरू (साधारणतयाः अमानिटा जातमा पर्ने धेरै प्रजातीहरू) अत्यन्त विषालु हुन्छन् ।

    यिनीहरू हुर्कने क्रममा अण्डाकारको डल्ले च्याउ जस्तो देखिन्छन् र परिपक्क भएपछि प्यारासुट जस्तो छातामा विकसित हुन्छन्, जुन प्रजाती अनुसार विभिन्न रङ्गको हुन सक्छ । यिनीहरूमा सेतो गिल्स हुन्छ, डाँठ कचौरामा उम्रिएको हुन्छ र डाँठको बिचतिर औँठी हुन्छ । छातालाई काटेर कालो रङ्गको कागजमा केही घण्टासम्म थिचेर राख्दा जिवाणुको सेतो छाप देखा पर्दछ । बर्षाको पानीले औँठी तथा कचौरा बिगार्न सक्ने भएकोले कत्ले च्याउ छुट्याउन गिल्स र छाताको आकारलाई मुख्य आधार बनाइनु पर्दछ । 

    नक्कली गुच्छी च्याउ यिनीहरू चाउरी परेका हुन्छन् र छाता दिमाग जस्तो गुडुल्किएको हुन्छ । यिनीहरू कालो, सेतो र खैरो, रातो, आदि रङ्गमा पाइन्छन् । झट्ट हेर्दा गुच्छी च्याउ जस्तो देखिएता पनि दुईवटा आधार मा यिनीहरू गुच्छी च्याउ भन्दा फरक हुन्छन् ।

    यिनीहरूको छाता ठाउँ ठाउँमा बाहिरतिर केही फुकेको जस्तो देखिन्छ, तर गुच्छी च्याउमा भने खाल्डा खुल्डी परेको हुन्छ । छाताको तल्लो किनारा डाँठको वरीपरी स्वतन्त्र रूपमा झुण्डिएका देखिन्छन् भने गुच्छी च्याउमा छाताको तल्लो किनारा डाँठमा जोडिएको हुन्छ र साना खैरा च्याउहरू (यस समूह अन्तर्गत पर्ने धेरै प्रजातीहरू हानिकारक हुदैनन्, कुनै कम विषालु, जसले हल्का नशासम्म लगाउने हुन्छन् भने कुनै चाँही अत्यन्त खतरनाक हुन्छन्, जसले ज्यानै समेत लिने गर्दछ ।

    यिनीहरूको प्रजाती पहिचान गर्न सरल तरिका नभएकोले सवै साना खैरा च्याउहरू उपभोग नगर्नु नै सुरक्षित हुने उपाय मान्न सकिन्छ । साधारणतयाः यी तीन समूहका च्याउहरू नै लगभग सबैजसो च्याउ उपभोगबाट हुन सक्ने मृत्युको कारक हुने गर्दछ, अझ त्यसमा पनि ‘अमानिटा’ जात अन्तर्गतका प्रजातीहरूको समूहले लगभग ९० प्रतिशत हिस्सा ओगट्छ ।

    यी तीन समूह बाहेक अरू पनि विषालु च्याउहरू पाइन्छन् जसले नशा लगाउने, पखाला लगाउने, टाउको दुखाउने, वान्ता गराउने, मांशपेशी दुखाउने, पेट दुखाउने, आदि गराउन सक्छ र यिनीहरूले ज्यानै भने लिदैनन् वरू च्याउ सेवन गरेको २४ घण्टापछि आफैँ असर कम भएर जान्छ ।

    च्याउ उपभोग गर्नुभन्दा अगाडि च्याउ सम्बन्धि विस्तृत ज्ञान राख्नु नै च्याउ उपभोगबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्ने उपाय हो । सकेसम्म च्याउका प्रजाती नै पहिचान गरी उक्त प्रजातीको गुण/अवगुणहरूको ज्ञान राख्नु नै सबैभन्दा उत्तम विकल्प मान्न सकिन्छ तर यो विधि त्यति व्यवहारिक भने छैन् ।

    तसर्थ च्याउको बढी भन्दा बढी उपभोग गर्न, जङ्गली च्याउको सङ्कलन गरी व्यापार गर्न तथा विषालु च्याउ उपभोग हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्न थोरै भए पनि केही सरल सहयोगी उपायहरू प्रस्तुत गर्ने जमर्को गरिएको छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पु¥याउनुपर्छ । तितो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ्ग भएका च्याउ विषालु हुन सक्छन् ।

    छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । विषालु च्याउ धेरै समयसम्म रहन्छ । जबकि, खानयोग्य च्याउ केही दिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ । कहिलेकाहीँ खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुन सक्छ ।

    बिषालु च्याउ कसरी चिन्ने

    १. वनपाखा, कान्ला, खोल्साखोल्सी, पाखोवारी, वन छेउछाउ लगायत वनजङ्गल क्षेत्रमा यत्रतत्र उम्रने च्याउहरू कस्तो प्रकृतिको हो, सहि पहिचान गर्न गाह्रो हुने भएकोले सवै च्याउहरू एउटै टोकरी अर्थात भाँडोमा सङ्कलन नगरी विभिन्न प्रजातीका च्याउहरू छुट्टाछुट्टै अलग–अलग भाँडोमा सङ्कलन गर्ने गर्नु पर्दछ (किनभने कहिलेकाहीँ खानयोग्य च्याउहरू उम्रिएको ठाउँमा विषालु च्याउहरूको स्पोर खसेर खान योग्य च्याउसँगै उम्रिएका पनि हुन सक्छन्) ।

    Bishali chyau1.JPG

    यसरी सङ्कलन गरी ल्याइएता पनि सङ्कलनकर्ता आफैँलाई सङ्कलित च्याउ खानयोग्य हो होइन् भन्ने सम्बन्धमा एकिन गर्न सक्ने खुवी भएता पनि थप ढुक्क हुनको लागि विषाक्त च्याउ छुट्याउन च्याउ खाने पारखीहरू, च्याउ विज्ञहरू अथवा वन जङ्गलका छेउछाउमा वसेका वंशानुगत अनुभव भएका अनुभवी सङ्कलनकर्तासँग सहकार्य गर्ने, उनीहरूसँग परामर्श लिने, आफुलाई थाहा भएको कुरा शेयर गर्ने जस्ता बानीको विकास गर्नु पर्दछ । कहिलेकाहीँ च्याउ सङ्कलन गर्ने बेलामा अन्य प्रजातीहरूको स्पोर बनिसकेर परिपक्क भएको रहेछ भने हावामार्फत स्पोर आँखामा पर्नसक्छ । नचिनेर विषालु च्याउलाई हातले छोइएको शङ्का लागेमा सावुन पानीले हात सफा गरिहाल्नुपर्छ । 

    २. वनजङ्गलबाट सङ्कलन गरी ल्याइएका च्याउहरूको हकमा खानयोग्य च्याउ नै हो भन्ने पूर्ण रूपमा एकिन भएमा सफा गरी पखालेर राम्ररी पकाएर मात्र उपभोग गर्नु पर्दछ । काँचै खादा विभिन्न नकरात्मक असर देखाउन सक्छ । उपभोग गर्नको लागि आफूलाई ढुक्क नलागी कहीँकतै अलिकता पनि शङ्का रहन्छ ।

    सकेसम्म त त्यस्ता च्याउहरू सेवन नगर्नु नै उचित मानिन्छ । खानै परे पनि सङ्कलित च्याउमा विष भएको वा नभएको छुट्याउन नसकिने भएकोले खानयोग्य छ भनेर चिनिएको च्याउ आफूले पहिलो पटक खाँइदैछ भने विचार गर्नको लागि पहिले थोरै मात्रामा खाएर विचार गर्ने । २४ घण्टासम्म कुनै नकारात्मक असर नदेखिएमा भने अलिकता बढी खान सकिन्छ । यद्यपि जङ्गली च्याउ एकै व्यक्तिले कहिले पनि पाइयो भनेर धेरै खानु हुँदैन । कम्तिमा २००–३०० ग्रामसम्म खाए शरीरलाई चाहिने प्रतिदिनको क्यालोरी पर्याप्त हुन्छ अर्थात पुग्दछ ।

    ३. पहिचान भएका बजारमा बेच्न राखिएका जङ्गली च्याउहरू (वर्षायामसँगै काठमाडौँ उपत्यकामा ३० भन्दा बढी प्रजातीका जङ्गली च्याउहरू बेच्न राखिएको पाइएको विज्ञहरू बताउँछन्), खान हुने भनि पहिचान भई प्रमाणित भएका जङ्गली च्याउहरू, कृत्रिम तरिकाले व्यवसायिक वा आफ्नो लागि खानको लागि खेती गरिएका च्याउ जस्तो कन्ये, गोब्रे, पराले, सिताके, रातो च्याउ आदि भने निर्धक्कसँग खाए हुन्छ । यी च्याउमा प्रशस्त मात्रामा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्त्व पाइन्छ । तर खानयोग्य भएता पनि जङ्गली च्याउको हकमा कहिल्यै पनि एकै व्यक्तिले धेरै मात्रामा खाने गर्नु हुँदैन ।

    ४. जङ्गलमा पाइने खान हुने, खान नहुने र विषालु च्याउ छुट्याउन असाक्षर ÷अनभिज्ञ सर्वसाधारण मानिसले नसक्ने भएकाले जङ्गली नचिनेको, थाहा नभएको  च्याउ खानाको रूपमा कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । नचिनेको च्याउ विषालु पनि पर्न सक्छ र पकाएर, पोलेर खाएमा ज्यान जान पनि सक्छ । विषालु हो होइन भनी छुट्याउन च्याउ विशेषज्ञ, वंशाणुगत सङ्कलनकर्ताबाट मात्र सम्भव हुन सक्छ । च्याउ उपभोगको लागि सुरक्षित छ छैन भन्ने कुरा च्याउ खाने पारखीबाट पनि थाहा हुन सक्छ ।

    ५. साधारणतया कुनै प्रजातीको च्याउमा औँठी (annulus) र कचौरा (vulva) दुबै भएको (औँठी वा कचौरामध्ये कुनै एउटा भएको च्याउ भने खानयोग्य पनि हुन सक्छ जस्तै : Amanita chepangiana, A. caesarea, Volvariella volvacea मा कचौरा भएको हुन्छ, जुन खान योग्य छ), छाता तथा डाँठमा आउटग्रोथ जस्तो देखिने वार्टहरू भएका, छाता तथा डाँठमा धेरै वुट्टाहरू/कत्लाहरू भएका, सुगन्धित, रङ्गीविरङ्गी देखिने, अकस्मात रङ्ग परिवर्तन हुने, छिप्पिदै जादा रङ्ग बद्लिदै जाने, हल्का चोट लाग्दा समेत रङ्ग बद्लिने, देख्दा धेरै चम्किला (सेतो, रातो, पहेलो, निलो, आदि) आकर्षक देखिने (साधारणतया चम्किलो नभइकन फुस्रो रङ्गका देखिने च्याउहरू कम विषालु हुनसक्ने), काला रङ्गका च्याउहरू, रुख/गोबरमा, बासमा उम्रने च्याउहरू प्रायः विषालु हुन सक्छन् ।

    ६. अमानिटा जातका (प्यारासुट जस्तो छाता र सेतो गिल्स भएको, औँठी र कचौरा दुवै भएको) जस्ता देखिने च्याउहरू (तर अमानिटाका ३ प्रजातीका च्याउहरू जस्तैः Amanita caesaria, A. chepangiana भने खानयोग्य पाइएको छ किनभने एकदमै निकटमा पर्ने एउटै जाती (genus)का सबै प्रजाती (species)हरू खानयोग्य वा विषालु हुन्छन् भन्ने हुँदैन) ।

    साना खैरा च्याउहरू, तथा नक्कली गुच्छी च्याउ जस्ता च्याउहरू कहिल्यै पनि उपभोग गर्नुहुँदैन (यस किसिमका च्याउहरूबारे पहिचान गर्न सकिने सरल तरिका माथि उल्लेख गरिसकिएको छ) । स्वादिष्ट मानिने साथै व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने जङ्गलमा पाइने च्याउका केहि प्रजातीहरू जस्तै : Hericium (३ प्रजाती), Laetiporus sulphureus, Pleurotus (४ प्रजाती), Cantharellus (४ प्रजाती), गुच्छी च्याउ, Morchella (६ प्रजाती), Scleroderma texens, Termitomyces (७ प्रजाती), Boletus edulis, Craterellus connucopioides, Tricholoma matsutake, यार्सागुम्बा (Ophiocordyceps sinensis), आदि मानिन्छन् ।

    ७. जङ्गली विषालु च्याउलाई किरा, कमिला, खरायो, लोखर्के आदिले पनि साधारणतया नखाने हुँदा त्यस्ता चोखा (केहिले पनि नखाएका) च्याउलाई मानिसले पनि खानु हुँदैन । यद्यपि, कुनै कुनै जनावर वा किरा (जस्तै : चिप्ले किरा, खरायो आदि)ले अत्यन्त विषालु मानिने च्याउ समेत खाने भेटिएकोले त्यस्ता जनावर वा किराले खाएर छोडेको च्याउ मानिसले पनि खानु हँुदैन ।

    किराले समेत खाएको छ भनेर सोही प्रजातीको किराले नखाएको अन्य च्याउ वा चाँदीको वस्तुमा कुनै असर गरेन भन्दैमा (च्याउ पकाएको भाँडोमा चाँदीको सिक्का वा चाँदीबाट बनेको कुनै वस्तुसँगै राखेर पकाएमा चाँदीको रङ्गमा परिवर्तन आयो भने विषालु च्याउ हुन सक्छ भन्ने परम्परागत धारणा रहि आएकोले), पकाएको जङ्गली च्याउ खादा धेरै स्वादिष्ट भयो भन्दैमा (किनकी कुनै विषालु च्याउहरू अत्यन्त स्वादिष्ट पनि हुने बताइएको छ । धेरैजसो जङ्गली च्याउहरू पकाएर खादा स्वादिष्ट नै हुन्छन्), च्याउ खान हुने खालको नै हुन सक्छ भनेर किटान गर्न मिल्दैन् ।

    ८. धेरै छिप्पिएका, सड्न सुरु भई किरा लागेका र ओइलाएका जङ्गली च्याउ खान हुँदैन । सङ्कलन गरी ल्याइएका ताजा च्याउ मात्र खाने बानी वसाल्नु पर्दछ । त्यसैले सङ्कलन गर्दा किटान भएका खानयोग्य च्याउ धेरै मात्रामा पाइएता पनि ठिक्क मात्रामा सङ्कलन गर्नु पर्दछ ।

    सङ्कलन गरी ल्याइएको च्याउ बासी भएमा त्यसको रूपरङ्ग नै बिग्रिएर बनावट नै भिन्न किसिमको देखिने भएकोले त्यसमा अन्य बाह्य सुक्ष्म जिवहरूलगायत अन्य ढुसीको सङ्क्रमण हुनसक्ने भएकोले कहिल्यै पनि बिग्रन सुरु गरेका बासी च्याउ सकभर सेवन नगर्नु नै बेस हुन्छ । च्याउहरू छिटो विग्रने र कुहिएर जाने (perishable) प्रकृतिको हुने भएकोले सकभर च्याउहरू ताजा नै खानु राम्रो मानिन्छ ।

    ९. च्याउलाई काट्दा कुनैमा दुध जस्तो सेतो रस आउने, छातामा मसी जस्तो थोपा देखिने च्याउ खानु हुँदैन । यस्तो च्याउ विषालु मानिन्छ यद्यपि स्थानीयहरूका अनुसार छाताको टुप्पोको भाग कालो देखिने कुनै कुनै च्याउ खान हुने हुन सक्छन् । मिठो बास्ना आउने (च्याउहरूमा फलपूmल, मूला, माछाको गन्ध जस्ता गन्धहरू अनुभव गर्न सकिने भएकोले) अधिकांश च्याउहरू प्रायः खानयोग्य हुन्छन् । चिल्लो छाता भएका र छाता चुच्चो परेका केही जातीका च्याउहरू जस्तै : Amanita, Hygrophorus, Suillus, Psilocybe, Paneolus, आदि विषालु हुन्छन्, यस्ता च्याउहरू सकेसम्म खान हुँदैन ।

    १०. आफ्नो घर नजिक बनाइएको परालको टौवामा पराल सडेर स्वतः आफैँ उम्रने पराले च्याउ (Volvariella volvacea), (च्याउ खाँदै आएका स्थानीय समुदायका अनुसार मसुरे कटुसमा उम्रने कटुसे च्याउ, भुड्की च्याउ, गुच्छि च्याउ (Morchella sp), सल्ले च्याउ (Amanita hemibapha), गोब्रे/डल्ले च्याउ (Agaricus bisporus), धमिरोले बनाएको माटोको ढिस्कोमा उम्रिएको च्याउ, आदि) निर्धक्कसँग खान सकिन्छ ।

    कहिलेकाहीँ अन्य छिमेकीको बारी पाखामा उम्रिएको च्याउ उनीहरूले सङ्कलन गरी खाने गरेको देख्दादेख्दै पनि लुकीछिपी अन्य व्यक्तिले चोरेर सङ्कलन गर्ने गरेकोदेखि अब त्यस्तो काम नगर्ने भन्ने चेतावनी पाउँदा पाउँदै पनि अटेर गरी सङ्कलन गर्न नछोडेमा रिसइवीले गर्दा जग्गा स्वामित्वमा रहेको सम्वन्धित छिमेकीले संकलनकर्ताको वदला लिने हेतुले अन्य किटनाशक विषादी जथाभावी अन्धाधुन्ध छर्केर खानयोग्य च्याउ नै अयोग्य बनाइदिन सक्छन् । त्यसैले नसोधिकन अरुको बारीपाखामा उम्रिएको च्याउ सङ्कलन गर्नु हुँदैन ।

    ११. वनजङ्गलको छेउछाउमा वस्ने परम्परादेखि नै वनपाखाबाट सङ्कलन गरी च्याउ खादै आएका स्थानिय जेष्ठ नागरिकहरूका अनुसार साधारणतया रुखमा उम्रेको भन्दा माटोमा उम्रने च्याउहरू विषालु भएको भेटिएको छ । उनीहरूका अनुसार च्याउ उम्रने सिजन भनेको वर्षातको समय हो त्यसैले वेमौसममा देखा पर्नै च्याउहरू विषालु हुने भएकोले यी च्याउहरू खानको लागि सङ्कलन गर्नु हुँदैन ।

    १२. कलिला वालवालिका, वृद्धवृद्धा तथा विरामीलाई जङ्गली च्याउ नख्वाउँदा नै वेस हुन्छ किनकी उनीहरूमा प्रतिरोधात्मक शक्ति (immunity power) कम हुने गर्दछ । कहिलेकाहि स्वादिष्ट मानिने खानयोग्य च्याउ (जस्तैः Chlorophyllum molybdites)ले समेत कुनै कुनै व्यक्तिमा नकरात्मक प्रतिक्रिया देखाउँछ । व्यक्ति विशेष अनुसार कहिलेकाहि रक्सि पिएपछि खानयोग्य च्याउ खाएमा कुनै कुनै व्यक्तिलाई नकरात्मक असर देखा पर्न सक्छ ।

    १३. वन जङ्गल छेउछाउ वस्ने स्थानिय व्यक्तिहरूसँग गरिएको अन्तक्र्रिया अनुसार फिल्डवाट सङ्कलन गर्नासाथ उक्त च्याउलाई हातको नाडीको भागमा रगेड्दा पर्पराएको आभास भयो भने उक्त च्याउ साधारणतः विषालु हुने पाइएको अन्यथा नपर्पराएको खण्डमा खान हुने गरेको अनुभव गरेको जानकारी उनीहरूवाट पाइएको थियो ।

    १४. जङ्गली च्याउ, च्याउ विशेषज्ञहरूसँग नसोधिकन वा गल्तिले वा नचिनिकन विषालु च्याउ खाइएको रहेछ भने जिब्रो सुन्निने, पेट दुख्ने, वान्ता आउँला जस्तो हुने, शरीरको तापक्रम घट्ने, श्वासप्रश्वासमा अवरोध आउने, मुटुको धड्कन गड्वडी हुने, रिंगटा लाग्ने, झम्म पार्ने, -याल चुहिने, नाकवाट सिँगान वग्ने, आदिजस्ता लक्षणहरू देखिएमा घरमा गर्न सकिने प्राथमिक उपचार जस्तो कि विरामीलाई ५/६ गिलास मनतातो पानी ख्वाई, दुईवटा औँला मुख भित्र हाली खाएको सबै विषालु च्याउ निस्कने गरी अधिकतम् वान्ता गराउने वा दिशा लाग्ने औषधि (वा अण्डिको तेल) ख्वाउने गर्नु पर्दछ, त्यस्तै अङ्गारको मसिनो धुलो पानीसँग मिसाई ख्वाई वान्ता गराउँने यसले शरीरमा फिँजिएको विषलाई सोसेर असर कम गर्ने वताईन्छ (Okuzawa, 2007), यति गर्दा पनि भएन भने विरामीलाई छिटो भन्दा छिटो स्वास्थ्य केन्द्रमा उपचार गराई हाल्नु पर्दछ साथै खाएको विषालु च्याउको केहि अंश लगेर जाँच गराउँनु पर्दछ ।

    Bisalu chyau.JPG

    विषालु च्याउ खाँदा देखिने लक्षण

    च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । यसले शारीरिक क्रिया तथा प्रक्रिया र स्नायु प्रणालीमा विभिन्न किसिमका असरहरू गर्न थाल्दछन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरून्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ ।

    विषालु च्याउ खाँदा सुरुमा बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ । यसपछि बिरामीलाई केही सन्चो नभएको जस्तो महसुस हुन्छ । विषालु च्याउ खाइसकेपछि यसको विष शरीरको कलेजोसम्म पुग्छ । पित्तसँग मिलेर नयाँ तत्वको निर्माण गर्छ, जसले बिस्तारै मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । अन्त्यमा कलेजो र मिर्गौला फेल भइ मृत्यु हुने सम्भावना अधिक रहन्छ । यसको असर हरेक उमेर समूहमा फरक हुन सक्छ । जस्तै, बालक तथा वृद्धवृद्धा छिटो प्रभावित हुने गर्छन् ।

    साताको लोकप्रीय