काठमाडौं / नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य हुने भएको छ । एक सहमतिपत्रमा हस्ताक्षर सम्पन्न गर्दै यस्तो जनाएको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।
सहमतिपत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,००० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउने बिज्ञप्तिमा उल्लेख छ ।
यस्तै, गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबाट सहजरुपमा ट्राभल बिमा प्राप्त गर्ने भनिएको छ । अन्य बिमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्नेछन् ।
गुरु ट्राभल्सका ग्राहकहरुले एकै स्थानबाट ट्राभल बिमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति दिएको छ ।
सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।
गुरु ट्राभल्स लिमिटेड २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हो ।
यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ। आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२ हजार बढी आदरणीय ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ। यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ।
कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।