काठमाडौँ / यशोदा फुड्ससहित ४ उद्योगले बक्यौता बुझाएका छन् । डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महसुलको विषयमा विवाद चलिरहेको समयमा सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स र जय दुर्गा प्लास्टिक उद्योगलेले बक्यौता तिरेका हुन् ।
भैरहवा क्षेत्रका यी उद्योगहरूले २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता क्लियर गरेको प्राधिकरणले जनाएको छ ।
बुधबारसम्म सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदाले प्रिमियम बक्यौता तिरेको थियो भने जय दुर्गाले बिहीबार तिरेको हो ।
प्राधिकरणका अनुसार २५ प्रतिशत जरिवासहित यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रुपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका छन्।
त्यस्तै, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएका हुन्। डेडिकेटेड र ट्रंकलाइन महसुलको विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबिच विवाद जारी नै छ ।
प्राधिकरणले ६१ कम्पनीको गरी कुल ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको जनाउँदै छ ।
लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको र त्यस्ता ६१ उद्योगले प्रिमियम शुल्क उपलब्ध नगराएको नेपाल विद्युत प्राधिकरणले बताउँदै आएको छ। अहिले यो विवाद प्रतिनिधी सभा अन्तर्गतको लेखा समितिमा छ ।
नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा उद्योगहरूले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग टिओडी मिटरको डेटा समेटिएको ५० हजारभन्दा धेरै पेजको विवरण बुझाएको छ।
समितिले शुक्रबार उद्योगी, प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोगलगायतका निकायसँग छलफल गरेको छ । शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो।
त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो।