काठमाडौँ / कलिङको दोस्रो दिन। ‘रंगमञ्चमा पुस्तान्तरण’ शीर्षकमा नयाँ पुस्ताका तीन रंगकर्मीबीच अन्तर्क्रिया भएको छ। वक्ताहरु आकांक्षा कार्की, अनिल सुब्बा र सरस्वती चौधरीले रंगमञ्चका नयाँ पुराना समयका सकारात्मक र नकारात्मक पक्षहरूबारे चर्चा गरे।
आकांक्षाले रंगमञ्चमा आफूलाई पदसोपान मन नपर्ने बताइन्। ‘रंगमञ्चमा मलाई हाइरार्की पटक्कै मन पर्दैन, नमस्ते गर्ने निम्तो दिने परम्परा ठिक होइन जस्तो लाग्छ, अहिलेको पुस्ताले यो तोड्दै जानुपर्दछ,’ उनले भनिन्।
रंगमञ्चमा पुस्तान्तरणको विषयमा बोल्दै उनले अबको नयाँ पुस्ता नराम्रो र राम्रो दुवै पक्षलाई प्रश्न गर्ने आवश्यकता रहेको सुनाइन्। पछिल्लो समय अनुशासन र प्यासन एकदमै कम रहेको उनको भनाइ छ। ‘पहिलाको समयमा थिएटरको राम्रो प्रभाव थियो। युवापुस्ता विदेश पलायन हुने भएकाले नाटक कलामा यसको प्रत्यक्ष असर परेको हो,’ उनले भनिन्।
अनिल सुब्बाले आफू रंगमञ्चमा पैसा होइन्, दु:ख गर्नुपर्छ भन्ने स्कुलिङबाट आएको बताउँदै भने, ‘पछिल्लो समय रंगमञ्च क्षेत्रमा व्यवसायिक बन्ने कोशिस भइरहेको छ।’
रंगकर्मी चौधरीले रंगमञ्चमामात्र नभई हरेक क्षेत्रमा एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने तर्क राखिन्। तर, कतिपय अवस्थामा गुरुले चेलाहरुले गरेको कामलाई कदर नगरेको उनीसँग तितो अनुभव छ।
उनले भनिन्, ‘हामी गुरुलाई एकदमै इज्जत गर्छौ उहाँहरुको कारण नै हामी यहाँसम्म आइपुगेका हौं। तर पनि हाम्रो कामलाई कदर गरिदैन्। पछिल्लो समय यो कुरालाई चिर्दै पनि आएको छ। नयाँ पुस्ताले नयाँ अभ्यास गरिहेका छन्। त्यसमा स्टेज नाटकमात्र छैन। अन्य फर्ममा अभ्यास भइरहेको छ। अहिले नाटक राम्रो राम्रो छ।’
पहिलेभन्दा अहिले थिएटरको संख्या बढेकाले नाटक हेर्ने विकल्प रहेको सुनाइन्। ‘पहिले नाटक हेर्नको लागि गुरुकुलमात्रै थियो। दिनमै ३ वटा शोसम्म हुन्थे। दर्शकको फ्लो एकदमै बढी थियो। एकदमै रमाइलो लाग्थ्यो। अहिले थिएटर नै ५/६ वटा छन्। दर्शकको च्वाइस बढ्न थाल्यो। त्यसैले दर्शक घटेको होइन बढिएको हो।’
आकांक्षाले नेपाली थिएटरमा नाटक एक डेढ महिनासम्म एउटै नाटक चल्नु सकारात्मक पाटो रहेको बताइन्। तर, अन्य देशका साथीहरुले यत्रो लामो समय नाटक कसरी चल्दछ भनेर प्रश्न गर्ने बताइन्।
‘पहिलेभन्दा काम गर्नेमा शैली के फरक छ ?’ सहजकर्ता रीना मोक्तानले अनिलतर्फ प्रश्न तेर्साइन्।
जसमा रंगकर्मी सुब्बाले भने, ‘म आदिवासी कथाको पछि लागिरहेको छु। मलाई बालकृष्ण सम र विजय मल्लको कथा मेरो जस्तो कहिल्यै लागेन। त्यो हिसाबले मैले मेरो बेलामा कथा खोज्नुपर्छ जस्तो लाग्छ। ७२ सालबाट म आदिवासी कथाको रिसर्चमा छु।’
तर, आदिवासी कथामा नाटक बनाइराख्दा मूलधारमा स्वीकार्यता नभएको उनको गुनासो छ। ‘अलि अगाडि दया दाईले राईहरुको नाटक बनाउने कोशिस गर्नुभएको थियो। चिनेको दया र किरण दाइ हुनुहुन्थ्यो। दाइले १५ दिन गरेर रोक्नुभएको रहेछ। फिल्मको कुरा गर्दा निर्देशक नवीन सुब्बालाई खेदे,’ उनले भने, ‘हाम्रो कथा चाँहि किन नाटक किन परेन त? बल्ल अनुभव हुँदैन। आर्ट मात्र रहनेछ। मलाई चाँहि ह्यामलेट बनाउँदा पनि लिम्बुनै बनाउन्छु लागिरहेको छ। यो रिसले नै होला।’