सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन् । ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ।
उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ।
उनले भने, “ ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा रु ५० हजार आम्दानी हुन्छ । ”
गर्मीयामका बेलामा रु एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ छ ।
चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए ।
उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए ।
दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको रु ४० लिने गरेको उहाँको भनाइ छ ।
दैनिक रुपमा रु चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए ।
सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले भने ।
आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए ।
रु एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर रु ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए ।
उनले भने, “स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन।”