ट्राफिक प्रहरीले आइतबार काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ घर भइ हाल काठमाडौँको मनमैजु बस्ने ४८ वर्षीय रामशरण अधिकारी, पञ्चकन्या गाउँपालिका ३ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका ५२ वर्षीय उत्तम पण्डित, नुवाकोटकै शिवपुरी गाउँपालिका ३ घर भइ काठमाडौँको गंगबु बस्दै आएका ३६ वर्षीय पल छिरिङ शेर्पा रहेका छन् ।
त्यस्तै, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ घर भइ काठमाडौँको मुलपानी बस्दै आएका २१ वर्षीय संजय मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरी जनाएको छ । बागमती प्रदेश ०२(०४७ प ४६ ६० नम्बर रहेको उक्त मोटरसाइकल काठमाडौँको बानियाटारबाट हराएको भनि सुमन खड्काले निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०४६ प ३३ ७१ नम्बरको मोटरसाइकल काठमाडौंको टोखामा रामशरणले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो ।
रामशरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उत्तमबाट लिएको र उत्तमले पनि सोही मोटरसाइकल पल छिरिङसँग लिएको खुल्न आए पश्चात् दुवैजनालाई काठमाडौँको ठमेलबाट हिजैट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानकै क्रममा पल छिरिङलेसमेत उक्त मोटरसाइकल रमेशबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौँको पानीपोखरीमा बागमती प्रदेश ०२-०४८ प ०९ ३३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा रमेश र संजयलाई हिजो नै ट्राफिक प्रहरीले फेला पारेको थियो ।
नियन्त्रणमा आएका उनिहरुका साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ । रमेश र संजय सवार उक्त मोटरसाइकलको वास्तविक नम्बर लुम्बिनी प्रदेश ०१-००२ प ७० ५४ रहेको खुल्न आएको थियो ।
सोही मोटरसाइकल काठमाडौँको बुढानिलकण्ठबाट हराएको भनि नवराज बरालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूकोआवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीले आग्रह गरे ।