काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.६० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ५.३८ प्रतिशत थियो भने यस बर्ष भने सामान्य घटेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशत थियो ।
कार्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क
३३.९९ प्रतिशतले बढेको छ । यस अवधिमा मरमसला, माछामासुको भाउ सामान्य घट्दा दाल तथा गेडागुडीको १०.७८ प्रतिशतले महँगिएको छ ।
यसैगरी, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १०.१५ प्रतिशत र घ्यू तथा तेलको मूल्य ९.२९ प्रतिशतले बढेको ।
मरमसला उप-समूहको मूल्य १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१
प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशतले र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ ।
कोशीमा मूल्यवृद्धि सबैभन्दा बढी
प्रदेशगत रूपमा कार्तिक महिनामा कोशी प्रदेशमा मूल्यवृद्धि सबैभन्दा बढी रहेको छ । सो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत छ । त्यस्तै, मधेश प्रदेशको मूल्यवृद्धि ५.७२ प्रतिशत र बागमती प्रदेशको ५.३५ प्रतिशत छ ।
यसैगरी, गण्डकी प्रदेशको ४.६९ प्रतिशत, लुम्बिनी प्रदेशको ५.१० प्रतिशत, कर्णाली प्रदेशको ३.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत कायम छ ।
समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ५.७२ प्रतिशत,
पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको छ ।
कार्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा
यस्तो मुद्रास्फीति २.०९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.०२ प्रतिशत, ३.३९ प्रतिशत र २.८६ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.६२ प्रतिशतले घटेको छ ।