काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चार महिना (साउन–कार्तिक)को आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार कार्तिक मसान्तसम्ममा चालु खाता १४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड थियो ।
यसैगरी, कार्तिक मसान्तसम्म ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ थियो ।
यसैगरी चार महिनामा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा १५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा छ ।