काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको चार महिनाको तथ्याङ्क अनुसार विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म २०४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल कार्तिकसम्म बढेर २२५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कार्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा कार्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २००८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा कार्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड रुपैयाँ कायम भएको छ ।
कार्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कार्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन् । असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।