काठमाडौँ / नयाँ बर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारमा आकर्षण बढेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अङ्कले बढेर २६८९.२२ बिन्दुमा पुगेको हो ।
नयाँ बर्ष बिदापछि आज मङ्गलबार खुलेको बजारमा २१२ कम्पनीको मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ ।
कारोबार अवधिभर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा बढी हो ।
बर्ष २०८१ को अन्तिम कारोबार दिन भने सेयर बजार ८.६२ अङ्कले घटेर २६६२.०८ बिन्दुमा झरेको थियो। यता, सेन्सेटिभ इण्डेक्स ४.०७ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्कले बढेको छ।
मङ्गलबार ३२० स्टकको २ करोड १८ लाख ४१ हहजार ४७ कित्ता सेयर ६९ हजार ३६४ पटकमा खरिद बिक्री भएको छ ।
यस दिन म्युचुअल फण्ड र व्यापार समूहबाहेक सबै सेक्टरको परिसूचक बढेको छ । जसमा लगानी र विकास बैंकमा सबैभन्दा बढी आकर्षण रह्यो ।
मङ्गलबार लगानी समूह २.७१ प्रतिशत र विकास बैंक २.४६ अङ्कले बढेको हो । त्यस्तै, बैंकिँ ०.४८ प्रतिशत, वित्त १.५९ प्रतिशत, होटल तथा पर्यटन १.९९ प्रतिशत, हाइड्रोपावर १.४७ प्रतिशत, जीवन बिमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२२ प्रतिशत, लघुवित्त ०.६० प्रतिशत, निर्जीबन बिमा १.०७ प्रतिशत र अन्य समूह ०.६१ प्रतिशतले बढेको छ । यता, व्यापार समूह ०.६४ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले घटेको हो ।
आज पाँच स्टकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य ९.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ ।
यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ ।
यता, बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.६९ प्रतिशतले घटेको छ । यसैगरी, वीन नेपाल लघुवित्तको सेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ ।
मङ्गलबारको कारोबार रकममा बलेफी हाइड्रोपावरको हिस्सा बढी रह्यो । यस दिन यो कम्पनीको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४२ करोड २२ लाख ३९ हजार बराबरको सेयर कारोबार भएको छ ।