रौतहट / रौतहटको छुट्टाछुटै स्थानमा गएराति भएको आगोलागीमा करीब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विद्युतको तार सर्ट भई आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पललगायत गरी एक करोडको क्षति पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानीयबासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।
यसैगरी गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावा भर्ने टंकलगायत गरि १४ लाख बराबरको क्षति पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगोलागीबाट क्षती पुगेको छ ।
घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । दुबै आगलागीका घटनामा मानवीय र पशु चौपयमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।