काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता अझै प्रारम्भ हुन सकेको छैन। शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले वार्ता प्रक्रिया ढिलो भएको हो।
मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षक प्रतिनिधिमण्डलको प्रतीक्षामा छन्।
नेपाल शिक्षक महासंघले वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्ने र हालसम्मको आन्दोलनको समीक्षा गर्ने क्रममा शिक्षकहरू छलफलमा व्यस्त रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।
यसअघि सोमबार राति अबेरसम्म पनि दुवै पक्षबीच वार्ता भएको थियो, तर सहमति जुट्न नसकेको बताइएको छ।
आजको वार्ता निर्णायक बन्न सक्ने अपेक्षा गरिए पनि आन्तरिक समन्वयमा समय लाग्दा प्रक्रिया लम्बिएको हो।
शिक्षकहरू हाल सरकारको नीति तथा कार्यक्रम र कर्मचारी समायोजनसम्बन्धी प्रावधानविरुद्ध आन्दोलनरत छन्।
उनीहरूले शिक्षकको पेशागत सुरक्षाका साथै सरुवा, बढुवा र तलब–भत्ताजस्ता विषयमा स्पष्ट नीति माग गरेका छन्।