काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.१४ अङ्कले घटेको छ । मङ्गलबार नेप्से परिसूचक १५.०८ अङ्कले घटेर २६३१.९८ को विन्दुमा थामिएको नेप्से आज २६२३.८३ बिन्दुमा झरेको छ । यो ०.३० प्रतिशतको गिरावट हो ।
आज सेन्सेटिभ इन्डेक्स १.५३ अङ्क, फ्लोट इण्डेक्स ०.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अङ्कले घटेको छ।
मङ्गलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको सेयर बजारमा बुधबार भने सो रकम बढेको छ । आज कारोबार अवधिभर ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार अवधिभर ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार २७७ पटक खरिदबिक्री भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी हाइड्रोपावरको परिसूचक ०.६१ प्रतिशतले बढेको छ । यसैगरी, व्यापार समूह ०.४० प्रतिशत, म्युचुअल फण्ड ०.२३ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०४ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज वित्त समूहको परिसूचक सर्वाधिक बढी १.२४ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूह १.१६ प्रतिशत र विकास बैंक १.०६ प्रतिशतले घटेको छ । यसैगरी बुधबार बैंकिङ समूह ०.७० प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, लगानी समूह ०.११ प्रतिशत, जीवन बिमा ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७२ प्रतिशत र निर्जीबन बिमा समूह ०.१८ प्रशितले घटेको छ ।
बुधबार समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्ट ८.३७ प्रतिशत र रिडी पावर कम्पनीको सेयर मूल्य ७.३६ प्रतिशतले परिसूचक बढेको छ ।
आज सर्वाधिक बढी भूगोल इनर्जी डेभलपमेण्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.७६ प्रतिशतले घटेको छ ।
बुधबारको कारोबार रकममा राधी विद्युत कम्पनीको हिस्सा सबैभन्दा बढी रहेको छ । यो कम्पनीको ५८ करोड ४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।